बेनी नगरपालिकालाई समृद्ध बनाउन आम्दानीका स्रोतहरुको खोजी गरिने

  • २२ जेष्ठ २०७४, सोमबार
  • कमल खत्री
  • 3740 पटक पढिएको

म्याग्दी, २२ जेठ । बेनी नगरपालिकालाई समृद्ध बनाउन आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान गरि उपयोगमा ल्याउन पहल गरिने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघले वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा बिजयी बेनी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानको लागि सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।

      संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नवनिर्वाचित मेयर हरिकुमार श्रेष्ठले नगरक्षेत्रभित्र रहेका आम्दानीका स्रोतहरुको पहिचान गरि उपयोगमा ल्याउने बताउनुभयो ।

उहाँले नगरपालिका क्षेत्रको समृद्धिको लागि केन्द्रिय तहबाट आउने बजेट अपुग हुने भएकाले स्थानीय स्रोत र साधनहरुको समेत भरपुर उपयोगमा ल्याउनुपर्ने भएकाले आफुले त्यसतर्फ बिषेश ध्यान दिएको बताउनुभयो । ‘‘ समृद्ध नगरपालिकाको योजना सफल बनाउन बार्षिक र पञ्चबर्षिय योजना निर्माण गर्ने योजना छ, आम्दानी नबढाएसम्म विकास सम्भव छैन, त्यसको लागि करको दायरा फराकिलो बनाउँदै चरणबद्ध विकासलाई अगाडी बढाउने योजना बनाएको छु,’’–मेयर श्रेष्ठले भन्नुभयो ।

उहाँले नगरपालिकाको पहिलो बैठक लगत्तै सर्वपक्षिय छलफल गरि नगरपालिकाको विकास र समृद्धिबारे सल्लाह, सुझाब संकलन गर्ने तयारी भईरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा उपमेयर सञ्जु बरुवालले बेनी नगरपालिकामा कृषि, पर्यटन, धार्मिक पर्यटन, उद्योग व्यवसाय लगायतका सम्भावनायुक्त क्षेत्रहरुको पहिचान गरि प्रवद्र्धन गर्ने योजनाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वामित्र कुँइकेल, बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, बेनी नगरपालिका कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुबिर कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बेनी नगरक्षेत्रको फोहोर व्यवस्थापनको लागि डम्पिङ साईटको टुंगो लगाउन नवनिर्वाचित जनप्रतिनिधिको ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले उद्योगी व्यवसायिका समस्या तथा बेनी नगरक्षेत्रको सम्भावनाको बारेमा ध्यानकर्षण गराउनुभएको थियो भने महासचिब राजेश शाक्यले सञ्चालन र बरिष्ट उपाध्यक्ष उत्तम कर्माचार्यले कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l