अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीको किर्तिमान, एकैदिन ६७ जनाको आरोहण (भिडियाे)

  • ७ बैशाख २०७८, मंगलवार
  • 2048 पटक पढिएको

कमल खत्री
म्याग्दी, ७ वैशाख । पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० बर्षिय पूर्णिमा श्रेष्ठको दुई बर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पुरा भएको छ । संसारको दशौं अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएकि श्रेष्ठले आफ्नो सपना मात्रै पुरा गर्नुभएको छैन, किर्तिमान बनाउन समेत सफल भइन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण (प्रथम) हिमालमा वैशाख ३ गते श्रेष्ठ सहित ६ जना नेपाली महिलाहरुले पहिलो पटक अन्नपूर्णको चुचुरोमा पाइला टेकेर किर्तिमान बनाएका हुन् । उक्त दिन दिउँसो सबा एक बजेदेखि साढे १ बजेसम्मको अवधिमा आरोहण भएको थियो । यस अघि नेपाली महिलाहरु कसैले पनि अन्नपूर्णको सफल आरोहण गर्न सकेका थिएनन् ।


आरोहणका लागि जोखिमयुक्त हिमालको रुपमा चिनिएको अन्नपूर्ण प्रथमको चुचुरोमा वैशाख ३ गते पत्रकार समेत रहनुभएकी हिमाल आरोही पूर्णिमा श्रेष्ठ सहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, मायाँ शेर्पा, शर्मिला शेङताङ र डावुटी शेर्पा गरि ६ जना नेपाली महिलाहरुले सफल आरोहण गर्न सफल भएका हुन् । ‘‘ दुई बर्षदेखिको दृढ इच्छाशक्तिले अन्नपूर्ण हिमाल आरोहण सफल भएको छ, नेपालमा आठ हजार भन्दा अग्ला दुई हिमाल अन्नपूर्ण र धौलागिरिमा नेपाली महिलाहरुको आरोहण सफल भएको थिएन, यस पटक हामी ६ जना महिलाले एकैसाथ अन्नपूर्णको चुचुरोमा पाइला राख्न सफल भयौँ’’–आरोही श्रेष्ठले भनिन् ।

काठमाण्डौबाट यात्रा सुरु गरेको एक महिनामा टोलीले आरोहण सकेर बेनी फर्किएको उनको भनाई छ । हिमाल आरोहण महिला र पुरुष दुबैका लागि उत्तिकै अप्ठ्यारो, जोखिम र चुनौतिपूर्ण हुने बताउँदै हिमाल आरोहण गर्नु आर्थिक व्यवस्थापनको रुपमा दुई वटा हिमाल चढ्नु जत्तिकै हुने श्रेष्ठले बताइन् । ‘‘ अन्नपूर्ण प्रथमको आरोहणलाई डेन्जर मात्रै होइन डेथ जोनको रुपमा लिने गरिन्छ, अधिकाँश आरोहीहरुले अन्य सबै हिमालको आरोहण गरिसकेपछि मात्रै अन्नपूर्णमा जाने गर्छन, आधार शिविर पुगेपछि मलाई पनि कतै आफ्नो प्राण आफै किनेर धरापमा राखेको त छैन ? भन्न लाग्थ्यो, तर हिम्मत, साहस र संकल्प संगै टिमवर्कका कारण सकुसल रुपमा आरोहण सफल भयो’’–श्रेष्ठले आफ्नो अनुभुति सुनाइन ।


एभरेष्ट म्याराथनको तस्बिर खिच्ने क्रममा पहिलो पटक सगरमाथाको आधारशिविरमा पुग्नुभएकी श्रेष्ठले हिमाली क्षेत्रको महत्वलाई प्रचार प्रसार गर्न हिमाल आरोहण गर्ने अठोट लिएकि थिइन् । श्रेष्ठले २०१७ मा मनास्लु, २०१८ मा सगरमाथा र २०१९ मा अमादब्लम हिमालको आरोहण गरिसकेकी छन् । हिमाल आरोहणका क्रममा आफुले लिएका तस्बिर र भिडियोहरु मार्फत यस क्षेत्रको पर्यटन विकासमा सघाउने नै आफ्नो आरोहणको पहिलो उदेश्य रहेको आरोही श्रेष्ठको भनाई छ ।


                                           एकैदिन ६७ जनाको आरोहण
हिमाल आरोहणको हिसाबले जेठो हिमालको रुपमा परिचित अन्नपूर्ण हिमालमा वैशाख ३ गते दुई किर्तिमान कायम भएको छ । पहिलो पटक एकैदिन ६ नेपाली महिलाहरुले आरोहण गरेकै दिन अहिलेसम्मकै धेरै जनाले अन्नपूर्ण आरोहण गरेका छन् । सो दिन ६ नेपाली महिला सहित ६७ जनाले अन्नपूर्णको आरोहण गरेको सेभेन समिट ट्रेकका पथप्रदर्शक पेम्बा शेर्पाले जानकारी दिए । उक्त ट्रेकबाट गएका १७ जनामध्ये १५ जनाले आरोहण गर्न सफल भएको उहाँको भनाई छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङदेखि पदयात्रा गरि आधार शिविर पुगेका आरोहीहरुले शिविरबाट आरोहणका बन्दोबस्तका सामान जुटाएर हिमाल उक्लिएका हुन् ।

आरोही श्रेष्ठले नारच्याङ हुँदै आधार शिविर पुगने पदमार्ग छोटो दुरीको रहेको र आधार शिविर तुलनात्मक रुपमा सुरक्षित समेत रहेकाले यस क्षेत्रको प्रचार प्रसार गर्न सकेमा अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकहरुलाई भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको बताइन् । ‘‘ अन्नपूर्ण आधार शिविर पुग्न कत्तिपनि कठिन छैन, त्यहाँदेखि आरोहणको लागि स्वभाविक रुपमा कठिन छ, तर बाहिर प्रचारमा जस्तो अति जोखिमपूर्ण होइन, टिमवर्क र आवश्यक सामाग्रीको बन्दोबस्त मिलाउन सक्यो भने आरोहण पनि सहज रुपमा गर्न सकिन्छ ’’–उनले भने । अन्नपूर्ण हिमालमा दुई वटा किर्तिमानले संसार भर नै यहाँको बारेमा सकरात्मक सन्देश प्रवाह गराएकाले आगामी दिनमा आरोही र पर्यटकहरुको संख्या बढ्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।
                                           अन्नपूर्ण पदमार्गले चर्चा बटुल्दै
फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लचेनले ७० वर्ष पहिले अन्नपूर्ण प्रथमको चुचुरोमा पहिलो मानव पाइला टेक्नुभएको थियो । उहाँहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । हर्जोगको नेतृत्वमा पहिलो पटक अन्नपूर्णको आरोहण भएको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामाकरण गरेको छ । गाउँपालिकाले यस पदमार्गको विकास र प्रवद्र्धनका लागि पूर्वाधार निर्माणका कार्यमा संघ र प्रदेश सरकारसंग आबश्यक पहल र साझेदारी गरिरहेको गाउँपालिका अध्यक्ष पुनले बताए ।

उनले अन्नपूर्ण प्रथममा एकै दिन पहिलो पटक नेपाली महिलाहरुको पाईला पुग्नु र एकैदिन अहिलेसम्कै धेरे आरोहिले सफल आरोहण गर्नुले यस क्षेत्रको देश विदेशमा समेत चर्चा थपिएको बताउनुभयो । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले अन्नपूर्णलाई जेठो हिमाल पनि भनिन्छ । अन्नपूर्ण पदयात्रामा हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षणको रुपमा रहेका छन् । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग आठ वर्षअघि पहिचान गरिएको थियो । यसअघि मुस्ताङको कुञ्जो हँुदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । अहिले यस पदमार्गमा पूर्वाधार थप्ने कामले गति लिएको छ ।