विषाक्त खानाको कारण ज्यान गुमाएका गुरुङ परिवारलाई सहयोग जुट्न थाल्यो

  • २२ जेष्ठ २०७४, सोमबार
  • 3137 पटक पढिएको

म्याग्दी, २२ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च जुट्न थालेको छ । बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प्रेमको उपचारको लागि अहिलेसम्म ६५ हजार रुपैयाँ सहयोग घोषणा भएको छ ।

तस्बिरः बुहारी र नाती गुमाएकी देवीकला

गुरुङको छोरा प्रेम अहिले पोखरास्थित कास्की सेवा अस्पतालमा उपचाररत हुनुहुन्छ । मृत्युवरण गरेकी बुहारी चिना र १४ महिने नाति दिपीनको काजक्रिया र छोराको उपचार खर्च अभाव भएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितरप्रशारण भएपछि सहयोग जुट्न थालेको हो ।

विषक्त खानको कारण विचल्लीमा परेको गुरुङ परिवारलाई म्याग्दीका सांसद् रेशम बानियाँले रु २५ हजार, रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले रु २० हजार, म्याग्दी घर भई हाल काठमाडौँ बस्ने सामाजिक अभियन्ता जितबहादुर घर्ती मगरले रु १० हजार सहयोग गर्नुभएको छ ।

त्यसैगरि बेनीस्थित केबी अटोपार्टसका सञ्चालक खेम केसीले रु ५ हजार र बेनीस्थित न्यूरोडमा रहेको कमल सुनचाँदी दुकानका प्रोपाइटर कमल विश्वकर्माले रु ५ हजारसहयोग घोषणा गर्नुभएको छ ।

गत शुक्रबार मँगला –५ छिस्वाङमा ससुराली आएका गुरुङ परिवारले ढिडोसँगै आलु र भेन्टा खाए लगत्तै बेहोस भएका थिए । स्थानीयको सहयोगमा उनीहरुलाई बेनी अस्पताल ल्याईएको थियो । चिनाको बेनी अस्पताल र उनको १४ महिने छोराको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

देवीकलाकी श्रीमान सार्के गुरुङ १७ बर्षदेखि भारतमा बेपत्ता छन् । दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएका देवीकलासँग बुहारी र नातिको दाहसंस्कार गर्ने रकम समेत अभाव भएपछि बेनीस्थित नेपाल छन्त्याल संघले १० हजार रुपैयाँ र पाखापानी निवासी पदम शेरपुञ्जाले ५ हजार बराबरको दाउरा सहयोग गरि दाहसंस्कार गरिएको थियो ।

पात्लेखर्कस्थित रिखार युवा क्लबको अगुवाईमा विभिन्न व्यक्तिलाई व्यक्तिगत सहयोग उठाएर दाहसंस्कार गरिएको क्लबका सचिक अंकित पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङ परिवारको आर्थिक अबस्था एकदमै न्युन रहेकाले उनीहरुको राहतको लागि स्वदेश तथा विदेशमा रहेका सहयोगदाताहरुलाई सहयोगको लागि आह्वान गरिएको छ ।