समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)

  • ७ चैत्र २०७७, शनिबार
  • 1525 पटक पढिएको

कमल खत्री
बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ । केहि दशक अघिसम्म गोठ बस्ने पाखा र डाँडामा यतिबेला पर्यटक बस्न थालेका छन् । चौफेरै हिमाल देख्न सकिने खोपारा पछिल्लो समय उत्कृष्ट र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास भैसकेको छ ।


पउद्धारदेखि खोपारा हुँदै साउथ अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर भारानी ताल सम्मको क्षेत्रलाई समेटेर समुदायकै अगुवाईमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको हो । अन्नपूर्ण र धौलागिरि रेञ्जका हिमालहरु, गुराँसे जंगल, हिमालको काखमा रहेको खयर तालको अवलोकनका लागि पाउद्धार–खोपारा– खयर भारानी रुट तयार गरिएको हो । बेलायती सेनाका रिटायर्ड लेफ्टिनेन्ट राजु पुनको अगुवाईमा देश विदेशमा रहेका स्थानीयबासी र सहयोगदाता मार्फत रु १ करोड ६० लाख रकम संकलन गरि यो क्षेत्रमा भारानी थान, पदमार्ग, चौतारा, आवास, शौचालय लगायतका पर्यटन पूर्वाधार निर्माण गरिएको हो ।

 

‘‘यो सबै हाम्रा बाजे, पुर्खाहरुको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाई, भैँसी र भेडा लिएर यहाँ आउँथ्यौं’ अहिले माथिल्लो भेगमा भेडा र चौरीगोठ छन्, ति पनि अब पर्यटकका आकर्षण भएका छन’’–यस क्षेत्रको पर्यटन अभियान्ता पुनले खोपारा डाँडाबाट वर्णन गर्दै भन्नुभयो । अहिले खोपारा र खयर क्षेत्र किसान गोठालो जाने लेकमा सीमित छैन । यहाँको परिचय नै फेरिएको छ, अग्लो डाँडाबाट आँखै अगाडी हिमाल देख्न सकिने जैविक विविधतायुक्त यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिणत भएको छ ।


‘‘२०२१ सालमा म पनि भैसीगोठमा बसेको हुँ, त्यतिबेला ८०–९० वटा गोठहरु हुन्थे, अग्लो डाँडामा गोठमा बस्दा निकै रमाईलो हुन्थ्यो, दःुख पनि हुन्थ्यो, पछि लामो समय प्रवासमा बसेँ, यहाँको हरेक डाँडाकाँडामा गोठाला मात्रै होइन, पर्यटक पनि उकाल्न सकिन्छ भन्ने लाग्यो र पर्यटन पूर्वाधार बनाउन कस्सिएका हौँ’’– पुनले भन्नुभयो । ‘पहाडकी रानी’ जस्तै सुन्दर ठाउँ खोपारा–खयरभारानी क्षेत्रको पर्यटन विकासको लक्ष्य लिएर २०६९ देखि पुनले पूर्वाधार निर्माणको अगुवाई गर्नुभएको थियो । यो एक दशकमा समुदायकै सक्रियतामा नमुना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने गरि पूर्वाधार निर्माणले सार्थकता पाएको छ ।


पहिलो बर्षको असार सम्ममा रु ३२ लाख सहयोग जुटेपछि खयरभारानी थान तथा क्षेत्र संरक्षण कोष स्थापना गरि सहयोग संकलन र पूर्वाधार निर्माण कार्य संगसंगै अघि बढेको कोषका संयोजक समेत रहनुभएका अभियान्ता पुनले बताउनुभयो । कोषमा स्वदेश तथा विदेशमा रहेका पाउद्धारबासी, छिमेकी गाउँका प्रवासीले उल्लेख्य रुपमा सहयोग गरेका छन् । दश बर्षको अवधिमा पाउद्धारादेखि खोपारा हुँदै खयर पुग्ने जंगल, भिर र अप्ठ्यारो ठाउँमा ढुंगाको सिँढी बनाएर पदमार्ग बनाईएको कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताउनुभयो । ‘‘ पहिले सामान्य ओहोर दोहोर गर्ने डोरो थियो, पानी पर्दा चिप्लिएर लड्ने समस्या थियो, अहिले हिँड्नको लागि कुनै अप्ठ्यारो ठाउँ छैन, पदमार्गको ठाउँ ठाउँमा विश्राम लिने चौतारा बनाएका छौँ’’– उहाँले भन्नुभयो ।

पाउद्धारका स्थानीयबासीले दिवंगत आफन्तको स्मृति र परिवारको हर्षबढाई र सफल कार्यको उपलक्ष्यमा ‘सम्झना र कामना’को धार्मिक भावले पदमार्ग बनाउने अभियानमा सहकार्य गरेका छन् । पदमार्ग अन्तर्गत पर्यटकलाई खान र बस्नका लागि खोपारामा लज र होटल सञ्चालनमा छन् । खोपारा बाट अर्को दिनको बास बस्न खयरखोलामा होटल सुविधा नभएकाले कोष मार्फत नै पाहुना बस्ने अस्थायी प्लास्टिक घर, शौचालय, आश्रयस्थल र खयर ताल परिसरमा आश्रयस्थल बनाएको पुनले बताउनुभयो । खयर तालमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासले जनैपूर्णिमाको अवसरमा बिशेष पुजा हुँदै आएको छ ।

अन्य समयमा समेत यहाँ आन्तरिक पर्यटकहरु भ्रमणको लागि जान थालेका छन् । ‘‘ आश्रयस्थल नहुँदा भेडीगोठमा बास बस्नुपथ्र्यो, ठुलो संख्यामा मानिस आउँदा त गोठको क्षमताले नभ्याउने भएकाले बाहिर नै उभिएर बस्नुपथ्र्यो, अहिले त्यो समस्या हटेको छ’’– कोषका अध्यक्ष पुनले भन्नुभयो । पदमार्ग अन्तर्गत खोपारा र खयरखोलामा खानेपानीको समेत बन्दोबस्त मिलाईएको छ । स्थानीयले थालेको पर्यटन पूर्वाधार निर्माण अभियान अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गाउँपालिकाले समेत सघाएका छन् । गाउँपालिकाले दुई चरणमा गरि विनियोजन गरेको रु १३ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको कोषका अध्यक्ष पुनले बताउनुभयो । यस बर्ष पर्यटन बोर्डबाट रु २० लाख बजेट विनियोजन भएकाले उक्त बजेटलाई खोपारामा पर्यटक आवासगृह बनाउने कार्यमा परिचालन गरिने तयारी गरिएको कोषले जनाएको छ ।
                                    खयरथानको ऐतिहाँसिक पुननिर्माण


साउथ अन्नपूर्ण हिमालको फेदीमा अवस्थित खयर भारानी तालमा स्थानीयबासीले पहिलेदेखि नै पुजाआजा गर्दै आएका थिए । समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा वरिपरी हिम पहाडले घेरिएको खयर भारानी ताल परिसरमा २०४८ साथमा भेडीगोठालाहरुले ढुंगाको एकढोका भएको थान निर्माण गरेका थिए । भेडागोठालाहरुले नै पुजारी भएर जनैपूर्णिमामा तिर्थयात्रीको भाकल पुजा समेत गराउँदै आईएको थियो । २०६९ साल असार ७ गते जग राखेको थान निर्माण कार्य सकेर सोही बर्षको जनैपूर्णिमादेख िनै थानमा पुजा गर्न सुरु गरिएको थियो । ताल परिसरको यस थानमा हरेक बर्षको जनैपूर्णिमा पर्वको अवसरमा आफ्नो मनोकांक्षा पुरा गराउनको लागि भाकल गर्नेहरुको भिड नै लाग्ने गर्छ ।
                                      पहाडकी रानी : खोपारा–खयरभारानी
‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका सामाजिक अभियान्ता महाविर पुनको परिकल्पना अनुसार संचालन भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको खोपारा–खयरभारानी क्षेत्र प्राकृतिक सौन्दर्यता र धार्मिक महत्वका हिसाबले सम्भावनायुक्त क्षेत्र हो । म्याग्दी सदरमुकाम बेनीदेखि छोटो दुरीमा पर्ने , जैविक विविधतायुक्त र वरिपरीका हिमालको फन्को एकै ठाउँबाट मार्न सकिने भएपछि पछिल्लो समय खोपारामा आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ ।

तीन हजार ६६० मिटरको उचाइमा रहेको खोपारा लेकबाट अन्नपूर्ण, धौलागीरी, माछापुच्छ्रे, मनास्लु रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । खोपारादेखि खयर सम्मको हरियाली पाखा, रंगीविरंगी फुल, चरन क्षेत्रमा रहेका भेडा र चौरीले पर्यटकहरुलार्य लोभ्याउने गरेको छ । अझ छिन–छिनमा बादलको घुम्टोबाट खुल्दै गरेका हिमालको मनमोहक दृष्य र एकान्त ठाउँमा चराचुरुङ्गी, जंगली जनावर लगायतको रमणीय दृष्यको अवलोकन गर्दा पर्यटकहरु दिन गएको पत्तो नै पाउँदैनन् । पाउद्धारबाट पदयात्रा गर्ने पर्यटकहरुले खोपारामा बास बस्ने गर्छन् । त्यहाँबाट खयरखोलामा अर्को दिनको बास बस्न सकिन्छ । त्यहाँबाट खयर भारानी हुँदै दुधकुण्ड सम्म पुगेर पुन ः सोही ठाउँमा आएर बास बस्न सकिन्छ । अर्को दिन काली भारानी र गोर्से भारानी ताल पुगेर फर्कने गरि पाउद्धार देखि खयर क्षेत्रसम्मलाई समेटेर ५ दिनको पदयात्रा गर्न सकिने गरि यस पदमार्गको नक्सांकनको तयारी गरिएको अभियन्ता पुनले जानकारी दिनुभयो ।

                                  गर्नैपर्ने थाँती रहेका योजना
समुदायको अग्रसरतामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उदेश्यले पर्यटन पूर्वाधार निर्माण गरिएको खोपारा खयर भारानी क्षेत्रको प्राकृतिक र धार्मिक महत्व र महिमालाई प्रचार प्रसारमा जोड दिईएको छ । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकको आपतकालिन उद्धारको लागि खयरखोला र खोपारामा हेलिप्याड बनाउने योजना बनाईएको छ ।

खयरखोलामा आवासको लागि बनाईएको अस्थायी टहरालाई जस्तापाताले छाउन सकेमा पर्यटकहरुलाई बढी लाभदायी हुने देखिन्छ । पदमार्ग निर्माण कार्य जारी नै रहेकाले विभिन्न निकाय मार्फत व्यवस्थित पदमार्ग बनाउने योजनालाई थप निरन्तरता दिनुपर्ने आबश्यकता रहेको छ । अहिले खोपारा सम्म जुनसुकै समयमा पनि पर्यटकहरु पुग्ने गरेपनि त्यहाँदेखि खयरसम्मको यात्रा साहसिक मानिने भएकाले यस क्षेत्रमा समेत पर्यटकहरुलाई उकाल्नका लागि प्रचार प्रसार, भरपर्दो आवासको पूर्वाधार सहित योजनाबद्ध तवरले अघि बढ्न जरुरी छ ।
                                      पर्यटन सहकारी मार्फत होटल
पाउद्धार–खयर भारानी क्षेत्रमा भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरि खोपारा डाँडामा पर्यटन सहकारी मार्फत होटल सञ्चालन गरिएको छ । ‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो पटक पाउद्धारा पर्यटन सहकारी संस्था मार्फत खोपारामा सहकारीबाट होटल सञ्चालनमा ल्याईएको हो । यसअघि खोपारामा पाउद्वार मावि र हिमाञ्चल माविले निजी स्रोतका शिक्षकको तलब खर्च जुटाउन सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो ।

अहिलेसम्म होटलमा बनेका संरचनाको मूल्यांकन गरेर सहकारीले रकम पाउद्वार माविको कोषमा जम्मा गरिदिने र होटललाई सहकारी मातहत सञ्चालन गर्न थालिएको सहकारीका सल्लाहकार भीम बहादुर तिलिजा पुनले बताउनुभयो । खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालनमा छ । क्याम्पीङ सहित दैनिक ५० देखि ६० जनासम्मलाई राख्न सक्ने क्षमतामा सहकारीले होटल सञ्चालन गरेको छ । गाउँका सबै स्थानीयलाई समान रुपमा पर्यटनको लाभ पु¥याउने उदेश्यले सहकारी मार्फत होटल चलाईएको सहकारीका अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो । सहकारीमा हाल पाउद्वारका १ सय २६ जनाले ८६ लाख २५ हजार रुपैयाँ सेयर लगानी गरेका छन् । स्थानीयबासीले रु २५ हजारदेखि २ लाख सम्म सहकारीमा शेयर लगानी गरेका छन् । गाउँका सबै घरधुरीलाई सहकारीमा समेट्न र लगानीको अवसर दिन गरि छुटेका स्थानीयलाई समेत लगानी गर्न आह्वान गरिएको सहकारीले जनाएको छ ।