हारेको खेलमा जितको अभिनय गर्दै कमरेड ओली !

  • ४ चैत्र २०७७, बुधबार
  • 2108 पटक पढिएको

कृष्णकुमार विश्वकर्मा

म्याग्दी ४ चैत ।  पार्टी महाधिवेशन जितेपछी कमरेड केपी शर्मा ओलीले जुन ताण्डप नाच्नु भो,यो कम्युनिष्ट आन्दोलनको अधोगतिको सुरुवात थियो । हाराहारीको मतलाई नजरअन्दाज गरी विविध निकायमा एकलौटी मनोनित, बरिष्ठ नेताहरुलाई अपमान, टिकट वितरणमा स्वच्छाचारिता, मन्त्री र मुख्यमन्त्रीमा घोर अन्याय, स्थानीय तहको निर्वाचनमा गुटको DNA परिक्षण गरी टिकट वितरण, महाधिवेशन वाट फरक समूहको राजनैतिक दस्तावेज पास भएको कारण कहिल्यै वैचारिक वहस नहुनु, यी प्रतिनिधी मुलक घटनाले ओली वाहिर जती प्रभावशाली देखिए पनी पार्टीको आन्तरिक साँगठनिक जिवनमा कमजोर वन्दै गैरहेका थियो ।

त्यो ४ वर्ष सम्म प्यानलका आधारमा जिल्ला अधिवेशनहरु हुदा माधव नेपालको समूहले ४१ जिल्ला र असाध्यै कमजोर जनसंगठनहरुमा समेत मजवुत आधार वन्दै जानुले देख्न सकिन्थ्यो, जम्मा ३६ भोटले कमरेड ओलीले ९ औँ महाधिवेशन जितेका थिय भने केन्द्रीय कमिटीमा (वामदेव को टिम समेत गरी) नगन्य वहुमत आएको थियो । हो जिवन्त पार्टी भित्र सधै वैचारिक–राजनैतिक संघर्ष रहिरहन्छ । तर स्वयम संस्थापन पक्षले चर्को गुटवन्दी गर्दा रहेछन भन्ने पनी ओलीकै पालामा पहिलो नजिर वन्यो । जति निषेध गरिदै थियो त्यतिनै तल भुगोल र संगठनमा मजवुतिको आकार ग्रहण गर्दै थियो । विधानतः ५ वर्षमा एमालेको महाधिवेशन गर्नैपर्दथ्यो ।

स्थानीय निर्वाचनमा सहकार्य गरेका काँग्रेस र माओवादीले संघ र प्रदेशमा पनी गठवन्धन गर्ने संभावना जिवितै थियो । संघ र स्थानीय चुनाव अलि भिन्न प्रकृतिको निर्वाचन पनी भएकोले, यदि परिणाम अपेक्षित नआउदा कमरेड ओली फेरी अर्को चुनाव जितेर प्रधानमन्त्री वन्न विधानमा ७० वर्षको उमेर हद व्यवस्थाले रोक्थ्यो । अव ओली लाई एकल सरकारको प्रधानमन्त्री वन्न एउटा शक्तिसंग सहकार्य र एकता अपरिहार्य वनेको थियो । यसभित्र एमालेको संगठन र कार्यकर्ता वाट सधै मोहित कमरेड प्रचण्ड र उनको माओवादी केन्द्र मात्रै ओली स्वार्थको एक संजिवनी अस्त्र वन्न सक्ने उनले आकलन गरे । जस्ले एकै पटक ओलीको २ वटा संकटको निराकरण गर्दथ्यो । चुनाव मा एमाले बाहेकको मोर्चाबन्दीको संभावना धेरै थियो त्यस्मा प्रचण्ड संग सहकार्य र चुनावपछी पार्टी एकता ।

साहसिक र ऐतिहासिक मोर्चाबन्दी संगै एकता भनेर डंका पिटियो । विचार, शिद्वान्त, दृष्टिकोण, गन्तव्य देखिने दस्तावेज, साँगठनिक संरचनापछि बल्ल नेतृत्वको वहस हुनुपर्ने कम्युनिष्ट पार्टीलाई ठिक उल्टो गरी पहिले नेताको जिम्मेवारी हिसाव किताव गर्दै विचार भनेको अमुर्त जनताको जनवाद भनियो, तर कुनै व्याख्या, विष्लेशण छैन । सधै झै–झगडा गरिरहने सामान्य टोलका क्लवहरु लाई मिलाए जसरी यत्रो ठुलो जनमत सहितको फरक स्कुल र दृष्टिकोण वोकेका पार्टीलाई एक्लैले फगत १ पान्ने कपाली तमसुकको फड्के किनारामा ८ लाख पार्टी सदस्य हरुलाई साक्षी राख्ने जुन अध्यारो कोठामा तानावाना वुनियो, यसआधारमा यो एकता ऐतिहासिक आवश्यकता मान्न त सकिन्छ तर प्रक्रियागत हिसावले प्राकृतिक, राजनैतिक, वैचारिक र स्वस्थकर भावनावाट प्रेरित थिएन, तर कस्ले वोल्ने? यस्तो माहोल वनाईएको थियो, विधी र विचारको कुरा उठाउनेहरु स्वतः एकता विरोधी भईन्थ्यो र त्यो पंति ऐठन महसूस गराउने अवस्था थियो ।

तमाम असहमतिका वावजुद,फेरी पनी हतारमा गर्नुपरेको एकता भित्र विस्तारै वैचारिक–साँगठनिक वहस हुदैजाला भनेर मडारिएको कालो वादलमा थोरै आशाको मधुरो चाँदीको घेरा हेरेर चुपचाप एकतामा आफुलाई समर्पित गरेका थिए आम कार्यकर्ताले र अर्को विकल्प पनि थिएन । जुन ठुला आन्दोलनको एकता भनियो र एउटा विचार नामक दुई शव्द छनोट गरियो, त्यो ‘जनताको जनवाद’ के रहेछ कार्यकर्ता र स्वयम लेख्नेले अत्तोपत्तो पाउन सकिरहेका छैनन, थिएनन् । दुई शव्दले सारा मानविय जिवन वोल्ने यस्तो अलौकिक विचार पढेको भए जिवित थिय भनेपनी माक्स वौलाउने अनुमान लगाउन सकिन्छ । संगठन, विचार, आन्दोलन र लोकतन्त्रले क्रमश हार्दै थियो तर कमरेड ओलीले एकै पटक २ वटा बाजि मारे । जुन नियोजित रहेछ । त्यो थियोः
१) कमरेड केपी ओलि शक्तिशाली प्रधानमन्त्री हुने, कुनै पनी मानेमा !
२) आसन्न महाधिवेशन टार्न कुनै राष्ट्रिय पार्टी संग नक्कली नै सहि, एकता गरेर आफै थप ५ वर्ष पार्टी शक्तिमा रहिरहने ।
वाहिर सवैले एकताको महिमागान गाउन लगाईएको थियो भने ओली सवैलाई सर्कसको जादुगरले ‘रुमाल लाई फुल वनाएर’ झुक्काए जसरी आफुलाई चतुर हस्ति मान्दै आत्मरतिमा रमाईरहेका थिए । एक पछी अर्को गर्दै सवै छलछाम, तिकडम र किर्ते कर्तुतहरु खुल्दै गए । त्यतिवेला सम्म कमरेड ओलीले पार्टी जनवादको अभ्यास गर्ने पार्टी संगठन ध्वस्त गराउदै आफैलाई सर्वेसर्वा वनाईसकेका थिए । आधरभुत तहको जनतामा जवाफदेही हुनुपर्ने सरकार केहि मुठ्ठिभरका दलाल पँुजिपति हरुको सरल पँहुच र हितमा काम गर्ने भैसकेको थियो । जव पार्टी र व्यवस्था माथि क्रमश बलमिच्याई गर्दै गए त्यसवेला सम्ममा संवैधानिक आयोगहरु सवै गुटको पैरवी गर्ने विवेक र पद्वति विहिन वनाईसकिएको थियो ।

जहाँ वाट न्याय र सत्य देख्ने÷वोल्ने काम संभव थिएन । यसरी क्रमश पार्टी विधान, पद्वति हुदै सार्वभौम संसद र ७० वर्ष लामो संघर्षवाट प्राप्त जनताले आफै छानेका प्रतिनिधिले लेखेको संविधान ध्वस्त पार्न खोजियो÷खोजिदै छ, यो विचमा कुन–कुन संवैधानिक निकाएहरुले आफ्नो रंग लाज नछोपी देखाए, त्यो पनी कतै लुके छिपेको छैन । अव सबै शक्ति एकैजना (ओली)मा केन्द्रीत भैसकेपछी विचार, संगठन ,जनमत र व्यवस्था मा विस्तारै खिया लाग्दै थियो । सवै भन्दा माथी आफुलाई देख्न थाले पछी ओली लाई पार्टी, संगठन र व्यबस्था प्रती कुनै भरोषा, विश्वास र आवाश्यकता नै थिएन भन्ने उनका कदमहरुवाट सवैले अनुभुति गरेका छन ।

अव आफ्नो कुरा र मत राख्न लाई चाकडी गर्नै पर्ने भो । यो विचमा सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, विष्णु रिमाल, वालुवाटार, ओम्नि, यती, कोरोना औषधी प्रकरण, गोकुल टेप, महेशको सांसद अपहरण, सुर्यहरुको निर्लज्जता, हुदैगर्दा अहिलेका वन, शिक्षा, खानेपानी मन्त्रीहरु यस्का गतिलो ईमान्दार प्रवृती मान्न सकिन्छ भने जस्ले विचार, दृष्टिकोण, शैली र व्यवहारमा प्रश्न गर्ने हिम्मत गरे ति स्वतः दुश्मन भए । यसरी विस्तारै पार्टीमा ध्रुविकरण हुदै गयो । दुई खाले प्रवृति हुने कम्युनिष्ट आन्दोलनमा विचार र दृष्टिकोण हैन शत्ता र शक्ति विरुद्व व्यवस्था र संगठन को कडा संघर्षको पर्दापण भयो । एउटा परम्परागत तानशाहलाई ठुलो संघर्ष वाट हटाउदै गर्दा कसरी आन्दोलन भित्रै अर्को रुपमा जनतावाटै चुनिएको नेता तानाशाह वन्ने रहेछ भन्ने उदाहरण हामीले ओलीको उपस्थितीमा छर्लङ्गै पाउन सक्छौ ।

सरकारमै भएको पार्टीले व्यवस्था वचाउन आन्दोलन गर्नुपर्ने अवस्था सायदै मुलुकमा भए होलान । खैर संविधान वच्यो, यो संगै लोकतान्त्रिक गणतन्त्र र यस भित्रका तमाम उपलव्धिहरु एकसाथ पुनर्जिवन पाए । यो सवै दृष्टान्तले करिव ओलीको वैचारिक–राजनैतिक धरातलको समुल अन्त्य गर्दै थियो । एक्कासी भनिदै आएको कथित सेटिङ्गले काम गर्यौ । २ वर्ष निदाएको आयोगले रातारात ऋषी कट्टेल लाई नेकपा नामको मान्यता दिने नाममा कमरेड ओली लाई ठुलो उपहार दियो भने ऐतिहासिक कम्युनिष्ट एकता लाई ठुलो धोका । रिट निवेदकले नमागेको फैसला गरेरै भएपनि ओलीको थोरै उद्वार गर्दै सेटिङ्गको मतियार वनेको दरिलो प्रमाण दियो तर यस्को तटस्थता र अस्तित्वमाथी ठुलो प्रश्न खडा गरायो ।

तरपनि सर्वोचचको फैसला मान्नुको विकल्प त छैन । अहिले फेरी राजनैतिक कोर्ष विन्न ढंगले अगाडी वढ्दै छ । हिजो एकता हुदाँ खुशी हुदै दिपावली गरेको पंति नै एकता भंगहुदा पनी दिपापली नै गर्दैछन । यो सव घटना नियालीरहँदा सवै स्टेपमा ओलीले नै वढी हारेको देख्न गारो छ र ? अदालतले पुरानै घरमा फर्काउदा पनी दिपावली त गरियो केही हदमा ‘बा’को पनी ठुलो खड्को मत्थर भयो तर उनलाई चैन थिएन÷छैन । किनकी
–पार्टी एमाले वन्ने भो जुन उनैले एक्लै विघटन गरेका थिए ।
–जनताको जनवाद व्युतिने भो,जो संग सत्ता सम्झौताको नाममा मेटिएको थियो ।
–संगठन २०७७ जेठ २ मा पुग्ने भो,जहा ओलीले आफुलाई सुरक्षित नदेखेरै यो ४ वर्ष गोलचक्करमा सवैलाई गुमराहमा पार्दै थिय ।
–संसद पुनस्र्थापना भयो, जुन उनले म नै राज्य भन्दै संविधान लाई नै नजरअन्दाज गर्दै विघटन गरेका थिय ।
–नैतिकता हुदो हो त आफैले जलाएको संसदमा फेरी विश्वासको भिख माग्नुपर्ने अवस्था आउँदैनथ्यो होला
यो ४ वर्षमा कम्युनिष्ट आन्दोलन विरोधी, अग्रगमन विरोधी, प्रतिक्रान्तिकारी, अहंकार, तानशाह, स्वच्छाचारी, अनैतिक, दम्भ, अलोकतान्त्रीक, व्यवस्था विरोधी प्रवृतिले हारेको छ । अग्रगमन संग प्रतिगमनको अनवरत लडाई नौलो हैन, सामान्यतया सामाजिक–राजनैतिक जिवनका यि प्रतिनिधी प्रतिविम्व हुन, तर सवै प्रकारान्तरले त्यहाँ कमरेड खडग ओली लाई देखाउछ, यो विडम्वना हो । के अझै पनी पार्टी हैन ओली कम्पनी, जनवाद हैन ओलीवाद, अग्रगमन हैन प्रतिगमन, विचार हैन आदेश लाई ताली वजाईदिनु पर्ने र आफैलाई मृतको घोषणा गर्नुपर्ने ? मुठी कसेर सत्य र न्यायको पक्षमा लाग्ने संकल्प सहित यो पार्टीमा जिवनको उर्वर समय लगाएका छौ, तसर्थ ओली प्रवृतिको समुल अन्त्य संगै कम्युनिष्ट आन्दोलन भित्र अर्को ओली नजन्मिने ग्यारेण्टि नहुदा सम्म संघर्ष जारी रहन्छ, आउनुस सवैले एक पटक विधी, पद्वती, सिद्धान्त र मुलतः न्याय र सत्य जिन्दावाद को नारा वुलन्द्व पारौ ।
                     लेखक विश्वकर्मा युवासंघका केन्द्रीय सदस्य एवम् एमाले म्याग्दीका युवा नेता हुन् ।