जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न (भिडियाे सहित)

  • २२ फाल्गुन २०७७, शनिबार
  • 1243 पटक पढिएको

 

म्याग्दी २२ फागुन । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ ।

उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम हुन सफल हिरा किसान र पुरुषतर्फबाट उत्कृष्ट हुन सफल बलबहादुर परियारलाई प्रदेश स्तरीय दोहोरीगीत प्रतियोगितामा सहभागीताको लागि समेत छनौट गरिएको प्रतिष्ठानका जिल्ला सचिब पदम विश्वकर्माले जानकारी दिनुभयो । प्रतियोगितामा चार समूहमा ८ जनाले सहभागीता जनाएका थिए ।


प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले लुकेर रहेका प्रतिभाहरुको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले म्याग्दी लोक संगीतको खानी भएको बताउँदै यहाँका मौलिक लोक भाकाहरुको संरक्षणतर्फ कलाकारहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व गण्डकी प्रदेश संयोजक तारापती सुवेदी, पूर्व प्रदेश कमिटी सदस्य अमित विश्वकर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । प्रथम उपाध्यक्ष ध्रुव जिसीको स्वागत र सचिब पदम विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण करिब एक बर्षको अन्तरालमा बेनीमा खुला रुपमा साँस्कृतिक कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा अन्य कलाकारहरुले समेत आफ्नो साँगेतिक प्रस्तुती राखेका थिए ।