कपडा तथा फेन्सी व्यवसायी समितिद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई पोशाक वितरण

  • ४ माघ २०७७, आईतवार
  • 1731 पटक पढिएको

म्याग्दी ४ माघ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । स्रोत कक्षामा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई स्विटर, टोपी र जुता वितरण गरिएको हो । सो अवसरमा विद्यालयमा अध्ययनरत साधारणतर्फका १० जना विपन्न तथा गरिब परिवारका विद्यार्थीहरुलाई समेत झोला वितरण गरिएको समितिका सचिब दामोदर शर्माले जानकारी दिनुभयो ।


समितिका अध्यक्ष रवीप्रसाद शर्मा, सचिब शर्मा, सहसचिब देवीप्रसाद शर्मा, सदस्य रमेश चापागाई लगायतले विद्यार्थीहरुलाई पोशाक र झोला वितरण गर्नुभएको थियो । समितिका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक पर्शुराम गौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माले विद्यार्थीहरुलाई कपडा र झोला लगायतका सामाग्री सहयोग गरेकोमा समितिलाई आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

समितिले विद्यार्थीहरुलाई करिब २५ हजार बराबरको सहयोग गरेको जनाएको छ । जिल्लामा रहेका कपडा तथा फेन्सी व्यवसायिहरु आबद्ध सो समितिले यस अघि धौलागिरि गाउँपालिकाका पहिरो पीडितहरुलाई रु ४ लाख ५० हजार बराबरको लत्ताकपडा सहयोग गरेका थिए भने विभिन्न समयमा गरिब तथा विपन्न विद्यार्थी र परिवारलाई समेत लत्ताकपडा सहयोग गर्ने लगायतका सामाजीक कार्यहरु गर्दै आएको छ ।