जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना (भिडियो सहित)

  • १ माघ २०७७, बिहीबार
  • 1651 पटक पढिएको

 

म्याग्दी १ माघ । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यालयले उक्त दुई कक्ष स्थापना गरेको हो । कार्यालय परिसरमा निर्मित सुविधासम्पन्न सहायता कक्ष र स्तनपान कक्षका लागि रघुगंगा गाउँपालिकाले रु २ लाख ५० हजार र गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले रु ६१ हजार ६९५ रकम सहयोग गर्नुभएको छ ।

सहायता कक्षको भवन सहितको पूर्वाधार र स्तनपान कक्षको स्तरोन्नतीमा कुल रु ३ लाख ११ हजार ६९५ बजेट खर्च भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहजीकरण गर्ने र सेवा प्रवाहलाई सरल र प्रभाबकारी बनाउनका लागि आधुनिक सहायता कक्ष स्थापना गरिएको प्रनाउ कुँवरले बताउनुभयो । भवन सहितको सहायता कक्षमा सेवाग्राहीलाई सम्पर्क गर्ने, सम्बन्धित काम लिएर आएका नागरिकलाई उक्त शाखामा सम्पर्क गरिदिने, सेवाग्राहीको गुनासा र सुझाब संकलन समेत गरिने जनाईएको छ ।

जिल्लाभरबाट सेवा लिन आउने सेवाग्राहीहरुको लागि उपयुक्त सहायता कक्षको अभाब रहेको जानकारी पाएपछि गाउँपालिका मार्फत बजेट विनियोजन गरिएको र उक्त बजेटमा अपुग भएको रकम व्यक्तिगत रुपमै थप गरि सहायता कक्षलाई निर्माण र स्तनपान कक्षलाई स्तरोन्नती गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिनुभयो । नागरिक सहायता कक्ष नजिकै बालबालिकासंगै सेवा लिन आउने महिला र कार्यालयमै कार्यरत बालबच्चा जन्माएका महिला प्रहरीलाई लक्षित गरि स्तनपान कक्ष समेत तयार गरिएको छ ।

दुबै कक्षको विहिवार प्रमुख जिल्ला अधिकारी उमकान्त अधिकारीले सुभारम्भ गर्नुभएको छ । उहाँले स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा निर्मित पूर्वाधारले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहजता प्रदान गर्ने बताउनुभयो । ‘‘ शान्ति सुरक्षाको बिषय प्रहरी प्रशासनको मात्रै होइन, आम नागरिकको चासोको बिषय हो, यहाँका कार्यालयबाट प्रवाह हुने सेवालाई स्तरीय बनाउन सक्यो भने नागरिकमैत्री सेवा प्रवाह गर्न सकिन्छ, रघुगंगा गाउँपालिकाले रचनात्मक कार्यमा सहकार्य गरि उदाहरण प्रस्तुत भएको छ’’–प्रजिअ अधिकारीले भन्नुभयो ।

जिप्रकामा यस अघि अन्य शाखाहरुसंगै सहायता कक्ष सञ्चालनमा रहँदा प्रभाबकारी बन्न सकेको थिएन् । उक्त अवसरमा कार्यालयले निर्माण गरेको प्रशिक्षण हलको समेत उद्घाटन गरिएको थियो । सोही अवसरमा म्याग्दीबाट सरुवा भएर जान लाग्नुभएका प्रनाउ कुँवर र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मायाँ कुँवरलाई रघुगंगा गाउँपालिकाको तर्फबाट विदाई समेत गरिएको थियो ।