ओलि पक्षद्धारा बेनीमा युवा भेला, जनतालाई सहि सूचना दिन साइबर सेना जरुरी : नेता बस्नेत

  • २१ पुष २०७७, मंगलवार
  • 2357 पटक पढिएको

 

म्याग्दी २१ पुस । सरकारद्धारा प्रतिनिधि सभा विघटन गरेपछि विघटनको अबस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह शक्ति प्रदर्शनमा पुगेका छन् । प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीको संसद विघटनको विरोधमा विरोध सभा सम्पन्न गरेको छ भने ओली समूहले प्रधानमन्त्रीको कदमको स्वागतमा जिल्ला स्तरीय युवा भेला सहितको शक्ति प्रदर्शन गरेका छन् ।

मंगलवार बेनीमा ओलि पक्षको राष्ट्रिय युवा संघ म्याग्दीको आयोजनमा बेनीमा जिल्ला स्तरीय युवा भेला सम्पन्न गरेको हो । बजारमा शक्ति पदर्शन पछि आयोजित युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवम पूर्वमन्त्री महेश बस्नेतले पार्टीभित्रैबाट सरकारलाई सहि तरिकाले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संविधानमै भएको व्यवस्थालाई उपयोग गरि संसद विघटन गरि ताजा जनादेशमा जाने निर्णय गर्नुपरेको बताउनुभयो ।

‘‘ देश र जनताको पक्षमा काम गर्दा पार्टीभित्रैका अराजक समूहबाट निरन्तर अवरोध भयो, त्यसैले प्रधानमन्त्रीले लोकतान्त्रिक प्रद्धतीलाई नै अबलम्बन गरि निर्वाचनमा जान संसद विघटन गरि निर्वाचन घोषणा गर्नुभएको हो, देशभर प्रचण्ड–नेपाल समूहको लज्जासपद हार हुने भएकाले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिएको छ’’–बस्नेतले भन्नुभयो । प्रधानमन्त्रीको कदमको चौतर्फि भएको विरोध र आलोचनालाई संकेत गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता बस्नेतले संसद विघटनको मुद्धा सर्वोच्चमा गएकाले यसको विवादको निरुपण न्यायलयले नै गर्ने बताउनुभयो ।

‘‘ अहिले मिडियाले संसद पुर्नस्थापना हुन्छ भनेर ठोकुवा गरिरहेका छन्, कथित वकिल र संविधानविद्लाई विघटीत संसद पुर्नस्थापना हुन्छ भनेर बोल्न लगाईएको छ, यो सम्भव नै छैन, समाजमा भ्रम छर्ने काम मात्रै हो’’–बस्नेतले भन्नुभयो । पार्टीको प्रथम अध्यक्ष नै ओली भएकाले पार्टी र सूर्य चिन्ह आफ्नो समुहकै हुने दावि गर्दै नेता बस्नेतले प्रचण्डप्रति सूर्यचिन्हको मायाँ नक्कली भएको दावि समेत गर्नुभयो ।

अहिले समाजमा सबैभन्दा ठुलो समस्या गलत सन्देश र सूचना प्रवाह गर्नुपरेको बताउँदै उहाँले प्रविधि, मिडिया र सोसल मिडियाको माध्ययमबाट साम्राज्यबाद र पुँजिवाद भित्रिरहेको जिकिर गर्दै हिजोका दिनमा जनसेना र युथफोर्सले जसरी गाउँ गाउँमा साइबर सेना बनाएर जनतालाई सहि सूचना दिईनुपर्ने अबस्था आएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा, नवराज शर्मा, माधव बाँस्तोला, हरिकृष्ण श्रेष्ठ र सन्तोष रावलले केपी ओली नेतृत्वको सरकारलाई पार्टीबाट घेराबन्दि गरेपछि संसद विघटन बाध्यताबस गर्नुपरेको बताउँदै जनताले निर्वाचनबाट ओली नेतृत्वलाई पुन अनुमोदन गर्नेमा जोड दिनुभयो ।

भेलालाई युवासंघका केन्द्रिय सदस्य दिनेश केसी, भोजबहादुर थापा, नेकपा रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष दिपक कार्की, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल, सावित्री केसी, युवासंघका जिल्ला सदस्य विजय घर्तिले मन्तव्य राख्नुभएको थियो । संघका जिल्ला अध्यक्ष प्रवीण शाहीको अध्यक्षता, लक्ष्मण कटुवालको स्वागत, बाबुराम चोखालको धन्यबाद मन्तव्य र शिशिर शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाको अवसरमा प्रधानमन्त्री ओलीको कदमको समर्थनमा बेनीमा शक्ति प्रदर्शन सहित ¥याली निकालिएको थियो ।