निर्माण व्यवसायी महासंघका अध्यक्षले ठेक्का लिएकाे बेनी अस्पतालको भवन योजनामा ढिलासुस्ती

  • ७ मंसिर २०७७, आईतवार
  • 1660 पटक पढिएको

म्याग्दी ६ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा निर्माणधिन बेनी अस्पतालको भवन निर्माण योजनामा चरम ढिलासुस्ती भएको छ । २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको बेनी अस्पतालको ५० सैयाको अस्पताल भवन योजना निर्माण व्यवसायिको ढिलासुस्तीले अल्पत्र बन्न थालेको होे । निर्माण सम्पन्न गर्ने समय सकिएको १ बर्ष भैसक्दा समेत अल्पत्र बनेको यस योजनाको ठेक्का निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले लिएका थिए ।

१५ शैयाबाट स्तरबृद्धि गरी ५० शैयाको अस्पताल बनाउन सुरु गरिएपनि भवनको पूर्वाधार निर्माण कार्य सुस्त भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘‘ म्याद थप भएको अवधीबाट पनि थप ६ महिना गुज्रीसकेको छ, काम भने ३० प्रतिशतको हाराहारीमा मात्रै सकिएको छ, दैनिक ८÷१० जना कामदार काममा खटिएका छन्, यस्तो गतिले बर्षौसम्म पनि योजना सम्पन्न नहुने निश्चित छ’’–अध्यक्ष कटुवालले भने ।

निर्माण कम्पनीले काम नरोकेको भएपनि गति दिने गरि जनशक्ति पनि खटाएको छैन् । भवनको दुई तला ढलानको समेत सबै काम सकिएको छैन् । निर्माण व्यवसायि महासंघका केन्द्रिय अध्यक्षले नै ठेक्का लिएको योजना अल्पत्र पर्नुले विकास निर्माणमा निर्माण व्यवसायिहरुको बास्तविक चरित्र उजागर भएको छ । निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि कार्यक्षेत्रमा समेत आउन छाडेपछि भवनको निर्माण कार्य औपचारिकताका लागि मात्रै जारी राखेर अन्य काम अघि बढ्न सकेको छैन् ।

तत्कालिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसंग २०७३ पुस २१ मा महासंघका केन्द्रिय अध्यक्ष सिंह समेतको महादेव खिम्ती, गल्वा रफिना जेभीले रु १८ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अनुसार कार्यक्षेत्रमा परिचालन भएको सो कम्पनीले साढे १ बर्ष समय भवनको जग बसाल्नमै खर्चिएको थियो ।

भवन पूर्वाधार योजना अल्पत्र परेपछि चौतर्फि चासो र चिन्ता बढेको छ । हिमाली जिल्लामै शल्यक्रिया सहितको स्वास्थ्य सेवा प्रवाहमा अब्बल मानिएको बेनी अस्पतालमा अहिले सुविधासम्पन्न भवन निर्माण योजना अल्पत्र पर्दा अस्थायी टहराबाट सेवा प्रवाह भैरहेको छ ।

                                    प्रधानमन्त्रीका विकास सल्लाहकारबाट ठेकेदारको ध्यानकर्षण
अल्पत्र बनेको भवनको शनिवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले स्थलगत निरिक्षण गरेका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक र मध्यपहाडी लोकमार्गको अनुगमनको सिलसिलामा म्याग्दी आइपुगेका उपाध्यक्ष कँडेल र सल्लाहकार थपलियाले बेनी अस्पताल परिसरमा निर्माणधिन अबस्थामै अल्पत्र बनेको अस्पताल भवनको अनुगमन निरिक्षण गरेका थिए ।

सो क्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवाल सहित प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समेत ढिलासुस्ती हटाउन गरिएको ताकेता र निर्माण कम्नीका तर्फबाट भएको अटेरीपनको बारेमा जानकारी गराएका थिए । सो क्रममा सल्लाहकार थपलियाले ठेक्का लिएका निर्माण व्यवसायि महासंघका अध्यक्ष रवि सिंहलाई मोवाईल फोन मार्फत योजनाको बारेमा ध्यानकर्षण गराएका थिए ।

‘‘हामी तपाईको जिम्मामा रहेको बेनी अस्पतालको भवन परिसरमा छौँ, समय थप गर्दा पनि काम अल्पत्र रहेछ, कामदार पनि न्युन रहेछन, यसलाई जतिसक्दो चाँडो सम्पन्न गर्ततर्फ ध्यान दिनुहोला’’–थपलियाले सिंहलाई फोन मार्फत भने । उनले कुनै पनि बाहना बनाएर योजनालाई अल्पत्र छाड्ने काम नगर्न ध्यानकर्षण गराउँदै तत्काल कार्यक्षेत्रमा जनशक्ति र स्रोत साधन बढाएर कार्य तालिका सहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका थिए । सो क्रममा सिंहले अहिले निर्माण कम्पनीहरुको तर्फबाट रविन जोसीले कार्यक्षेत्रमा निर्माण कार्यको काम गरेपनि उचित तवरले काम अघि नबढेपछि आफुले समेत थप चासो देखाएर निर्माण कार्यलाई अघि बढाउन लागेको जानकारी दिएका थिए ।

                                                                                    यस्तो छ भवनको डिजाईन
अत्याधुनिक भवनमा एक तला अन्डरग्राउन्ड सहित तिनतले भवन निर्माण हुनेछ । पहिलो तलामा ओपीडी, दोस्रोमा इन्डोर र तेस्रोमा प्रशासनिक कार्यालय रहने गरि डिजाइन गरिएको छ । जिल्लाकै ठुलो बेनी अस्पतालको स्तरोन्नती सहित सुविधासम्पन्न पूर्वाधार बन्ने योजना कार्यान्वनयपछि उत्साहित बनेका जिल्लाबासी यतिबेला भवन निर्माण योजनाको गति सुस्त भएपछि भने चिन्तीत बनेको जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

उनले अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रमा भवन निर्माणमा ढिलाई हुनु निकै दुखद भएको बताउँदै सम्बन्धित निकायहरु मार्फत योजनाको सम्बन्धमा थप दबाब र ध्यानकर्षण गराईने समेत बताए । नयाँ भवन निर्माण गर्दा बहिरंग, प्रशासनिक, प्रसुती, डेण्टल लगायतका सेवा प्रवाह हुँदै आएका पुराना भवन भत्काइएको छ । पुराना संरचना भत्काइएको र नयाँ भवनको पूर्वाधार अल्पत्र पर्दा सर्वसाधारणलाई लामो समयसम्म अस्थायी पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता बढ्दै गएको छ । कतिपय सेवाहरु अस्पतालको अस्थायी संरचनाले नथेगेपछि स्वास्थ्य कार्यालयको भवनलाई समेत प्रयोग गरि सेवा दिदै आईएको छ ।