नेपाली कांग्रेस म्याग्दीद्धारा जिल्लालाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग

  • ९ आश्विन २०७७, शुक्रबार
  • 1005 पटक पढिएको

बेनी १० असोज । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै आपत्ती जनाइएको छ ।


असार २५ र २६ गतेदेखी यता बाढीपहिरोले म्याग्दीमा ठुलो धनजनको क्षती पुु¥याएपनि संघिय सरकारले म्याग्दीलाई बेवास्ता गरेको कांग्रेसको आरोप छ । सिन्धुपाल्चोक, बागलुङ संगै म्याग्दी पनि बाढीपहिरोबाट उच्च प्रभावित जिल्ला भएपनि सरकारले विपद् संकटग्रस्त क्षेत्रमा नसमेटीनु दुखद भएको र तत्काल समेट्न माग गरिएको उपसभापति रेग्मीले बताउनुभयो । उहाँले बाढीपहिरो प्रभावित क्षेत्रमा कांग्रेस म्याग्दीले राहत सहयोग गरेको बताउनुभयो । कांग्रेस म्याग्दीले मालिका ,धवलागिरी ,अन्नपुर्ण ,मंगला रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण गएको बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको थियो ।

सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने सरकारले जनाएको छ । म्याग्दीमा असार यता बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ भने अझै ६ जना वेपत्ता रहेका छन् । बाढी पहिरोबाट म्याग्दीका मराङ, बिम, ताकम, धारापानी, काफलडाडा, देविस्थान, निस्कोट, अर्मन ,फगाम,काभ्रे ,तितर ,महभिर ,पात्लेखेत, कुइनेमंगलेको दुवाडी धार,खरिबोट ,छरी ,पात्लेखर्क लगायत क्षेत्रमा एक सय ७० बढी घर भत्किएका छन् भने सयौं परिवार विस्थापित भएका छन् । विस्थापित परिवार स्थानीय तह ,विभिन्न संघसंस्थाको सहयोग तथा आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् । यसअघि राहत वितरणमा ढिलाई गरेको भन्दै पीडित परिवारले समेत गुनासो गरेका थिए । यसैगरी बाढीपहिरोको उच्च जोखिममा रहेको र ठुलो धनजनको क्षति व्यहोरेको म्याग्दीलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणामा नसमेटेपछि जिल्लामा सरकारको चौतर्फी आलोचना भएको छ ।