शहरको कोरोना त्रासले नछोएको भेडीगोठको दैनिकी (फिचर)

  • १७ भाद्र २०७७, बुधबार
  • कमल खत्री
  • 2356 पटक पढिएको

कमल खत्री
म्याग्दी १७ भदौ । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइको छ । गोठबाट धवलागिरि हिमाल आँखै अगाडी उभ्यिए जस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे छ । बिगत दुई बर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यसै गोठलाई सम्हालेर बसेका छन् । यो दृष्य धवलागिरि आधार शिविर नजीकै पर्ने रुवाचौर फाँटको हो ।


करिब दुई दशक लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएका छन्त्यालले शहरको सुखसयललाई त्यागेर आफ्नो पुर्खाहरुले पसिना बगाएको थलोमा फर्किएका थिए । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा जन्मिएका छन्त्यालको परिवारको बसोबास पोखरामा रहेपनि वैदेशिक रोजगारि त्यागेर फर्किएका उनले आफ्नो पुर्खाहरुले जिवन विताएको जंगल र भिर पाखाहरुको परम्परागत गोठलाई पछ्याएका हुन् ।


धवलागिरि गाउँपालिका ५ र रघुगंगा गाउँपालिका–८ को सिमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा भेडीगोठ राखेका छन्त्याललाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाबले छोएको छैन् । शहरी क्षेत्रमा कोरोना नियन्त्रणको लागि लकडाउन र निषेधाज्ञाको कारण घरबाट बाहिर निस्कन समेत हम्मे–हम्मे पर्ने गरेपनि बस्तीदेखि घण्टौँ टाढाको दुरीमा गोठ राखेका उनको दैनिकीमा भने कुनै प्रभाब छैन् ।


विहान उठेपछि भेडाबाख्राको संख्या बुझ्ने, दुध दुहुने, खाना पकाएर खाने र चरण क्षेत्रमा भेडाबाख्रा लैजाने उनको नियमित दैनिकी हो । लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराईसकेपछि पुन ः गोठमै फर्कने बाहेक अन्य कुनैपनि कुरा उनको दैनिकिमा आउँदैन् । विकासको तिब्र गतिमा अघि बढेको सिंगापुर र मलेसियामा करिब दुई दशक लामो समय विताएका ४० बर्षिय छन्त्यालले अहिले दुर्गम र अति विकट क्षेत्रमा गोठको दैनिकीमा आफुलाई घुलमिल गराएका छन् ।


न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । अनकन्टार घनघोर जंगल र पहाडहरुमा उनले कठिन तर आफ्नै रहरको दैनिकी विताइरहेका छन् । ‘ बर्षात, हिमपात, केहि भन्न पाइदैन, गोठालो दैनिकी चलिरहेकै छ, कठिन त अबश्य छ, तर यहाँको प्राकृतिक भू–बनोट, सुन्दर प्रकृति र भेडाबाख्रासंगको दैनिकीले सबै दुख बिर्साइदिने रहेछ’– छन्त्यालले अनुभव सुनाए ।


एक÷दुई महिनामा गोठको खर्च लिन गाउँ झरेपछि मात्रै उनले विश्वको गतिविधि बुझ्छन र फेरी आफ्नै दुनियामा फर्कन्छन् । यो क्रम विगत दुई बर्षदेखि उनको जिवनमा चलिरहेकै छ । विदेशमा आर्जन गरेको रकम सहित ऋण समेत गरेर दुई बर्ष अघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेका छन्त्यालको गोठमा अहिले झण्डै ५ सय बढी भेडाबाख्रा रहेका छन् । आफु बाहेक दुई जना हेरालु राखेका छन्त्यालले आफ्नो पुर्खाहरुले अंगालेको तर पछिल्लो पुस्ताले विर्सदै गएको भेडापालनलाई आफुले अंगाल्न पाउनुलाई अवसर र चुनौतिको रुपमा लिएको बताउँछन् ।

‘‘ हिजो हाम्रा पुर्खाले यहिँ पसिना बगाए, कतिको यिनै गोठहरुमै जिवन वित्यो, तर आज यो पेशा नै संकटमा पर्दै गएको छ, यसलाई नयाँ पुस्ताले अँगाल्न नसक्ने हो भने हाम्रो भेडापालन पेशा नै हराएर जान्छ’’–उनले भने । धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफुले पनि यस पेशालाई अंगालेको छन्त्याल बताउँछन् । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठहरु विस्तारै घट्दै गएको, युवाहरुको आकर्षण नबढेको र पुराना गोठहरु पनि विक्रि गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाई छ ।


यस क्षेत्रमा अहिले करिब ८ वटा भेडीगोठ रहेका छन । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, ऋरु, चौराबन, नयाँवन, रिखार, ताङ्गे, भाङ्गे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन् । धवलागिरिको मुदी र गुर्जामा समेत व्यवसायिक भेडापालन हुदै आएको छ । बेसीदेखि धवलागिरिको आधार शिविर सम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । तर यस पटक भने केहि गोठहरु आधार शिविर पुगेपछि बिच बाटोमा बिषण पहिरो खसेकाले केहि गोठहरु आधार शिविरदेखि तल नै रोकिएको भेडीगोठका हेरालु कालु विकले बताए ।
                                                   भेडीगोठका सारथी कुकुर
हरेक गोठमा कम्तीमा दुई वटा कुकुर छन् । भेडीगोठका हेरालुको लागि कुकुर नै सारथी हुन् । जंगल र पाखा पखेरमा गोठ रहने भएकाले जंगली जनावरबाट भेडाबाख्रा र गोठको समेत सुरक्षाको प्रमुख जिम्मेवारी कुकुरकै रहने गर्छ । भेडीगोठमा ‘भोटे’ जातको कुकुरलाई बिशेष महत्व दिएर पाल्ने गरिन्छ ।

आवाज ठुलो हुने, जंगली जनावरसंग समेत नडराउने भएकाले भेडीगोठको लागि भोटे कुुकुर पहिलो रोजाईमा पर्छ । गोठमा कुकुरलाई स्याहार सुसार र आहारमा समेत बढी ध्यान दिनुपर्ने गोठालाहरुलाई थप जिम्मेवारी हुन आउँछ । गोठदेखि चरण क्षेत्रसम्म कुकुरले नै भेडाबाख्राहरुलाई पछयाएर जाने गर्छन भने बेलुकी आफ्नै गोठमा फर्किएर सुरक्षा दिने कुकुरहरुमा थप रोचक बिशेषता रहेको हुन्छ ।

                                                     गोठमै पुग्छन व्यापारी
परम्परागत रुपमा भेडाबाख्रा पालन गर्दै आएका गोठहरुमा हिजोआज व्यापारीहरु खरिदको लागि गोठमै पुग्ने गर्छन् । चाडपर्वको समयमा ठुलो संख्यामा भेडाबाख्रा विक्रि हुने भएपनि अन्य सिजनमा समेत व्यापारीहरु गोठमै आउने भएकाले उत्पादन भएका भेडाबाख्राको बजारीकरणमा समस्या नरहेको भेडापालन गरेका युवा छन्त्यालको भनाई छ । बार्षिक रुपमा २ सयको हाराहारीमा भेडाबाख्रा विक्रि हुने उनको भनाई छ । भेडीगोठको अत्यासलाग्दो दैनिकीलाई सम्हालेका छन्त्यालले भेडीगोठमै व्यापारीहरु आउने भएकाले यस पेशाप्रति थप हौँसला थपिएको बताउछन् ।
                                       जंगली जनावर र बिषाक्त घाँसको जोखिम
भेडाबाख्रा पालन गरेका कृषकहरुको लागि हिंसक जंगली जनावरको आक्रमण र जंगलको चरण क्षेत्रमा हुने विषाक्त घाँस प्रमुख समस्याको रुपमा रहेको छ । गोठ र चरण क्षेत्रमा हेरालु र कुकुरको नजर छेक्दै चितुवा, स्याल लगायतका जंगली जनावरले हरेक बर्ष भेडाबाख्रा मारेर दुख दिने गर्छ । त्यतिमा मात्रै भेडाबाख्राको जोखिम सिमित छैन् ।

बर्षेनी पर्ने चट्याङ र चरण क्षेत्रमा हुने बिषाक्त घाँस अर्को समस्याको रुपमा रहेको छन्त्याल बताउँछन् । उनका अनुसार, जंगली जनावरको आक्रमण, चट्याङ लागेर र बिषक्त घाँस खाएर बर्षेनी दर्जनौ भेडाबाख्राको नोक्सानी व्यहोर्नु परेको छ । बस्तीदेखि टाढा र उपचारको पहुँच नहुने भएकाले भेडाबाख्रालाई रोग लागेको समयमा उपचारमा समेत समस्या हुने गरेको छ ।

                                           भेडाबाख्रा पालनलाई प्रोत्साहन गर्न माग
म्याग्दीको धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा व्यवसायिक भेडापालन हुँदै आएको छ । परम्परागत रुपमा घुम्ती गोठ राखेर हुँदै आएको भेडापालनलाई थप व्यवसायिक र निरन्तरता दिनको लागि स्थानीय, प्रदेश र संघिय सरकार मातहतबाट प्रोत्साहन गर्नुपर्ने कृषकहरुको माग छ । पुराना गोठ सञ्चान गरेका कृषकहरुले यस पेशाबाट हात झिक्दै गएका छन् । विकास र सञ्चारको कारण पछिल्लो समय ग्रामीण बस्तीहरुमा समेत सुविधा भित्रिरहँदा गाउँसम्मै शहरी जिवनशैलिको मोह बढेको, युवाहरुको आकर्षण नभएकाले भेडापालन व्यवसाय संकटमा पर्दै गएको पुराना भेडापालक कृषक धवलागिरि गाउँपालिका–४ खिबाङका खिमदल पुन बताउँछन् ।

म्याग्दीमा स्थानीय तहहरुले भेलापालनलाई नै प्रवद्र्धन गर्ने बिशेष कार्यक्रम कार्यान्वयनमा ल्याउन सकेका छैनन् । जिल्लामा अहिले करिब ५० जनाले व्यवसायिकरुपमा भेडापालन गर्दै आएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुुसुमका अनुसार, जिल्लामा करिब २० हजारको सख्ंयामा भेडापालन भएको छ । भेडापालनलाई प्रवद्र्धन गर्न कार्यालयले घुम्ती गोठ सुधार कार्यक्रम, पशु विमा, मोडल फार्म अनुदान लगायतका कार्यक्रमलाई कार्यान्वयन गर्न लागिएको केन्द्र प्रमुख कुसुमले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l