आवास बिहिन आरबाङका रोका परिवारको लागि घर निर्माण

  • २२ असार २०७७, सोमबार
  • 2836 पटक पढिएको

 

म्याग्दी २२ असार । धवलागिरी गाउपालिका–६ मराङको आरबाङमा आवास बिहिन एक परिवारको लागि घर निर्माण गरिएको छ । धवलागिरी गाउपालिकाको आवास बिहिन जनतासँग वडा अध्यक्ष कार्यक्रम मार्फत तुलबहादुर रोकालाई चर्पी र दुई कोठे घर बनाएर हस्तान्तरण गरिएको हो । गाउपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट भूकम्प प्रतिरोधी क्षमताको घर बनाएर रोका परिवारलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

घर बनाउन स्थानीयबासीहरुले श्रमदान गरेका थिए । सात जना सदस्य रहेको रोकाका परिवार यसअघि पालले छाएको छाप्रोमा कष्टकर रुपमा बस्दै आएका थिए । सुरक्षित घर पाएपछि रोका परिवार खुसी भएका छन् ।चिसो भुईमा खाना पकाउने देखि सुत्ने सजिलो ठाउँ थिएन् । संघीय र प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नसमेट्ने दलित जाति बाहेकका विपन्न आवास बिहीनको लागि धवलागिरी गाउपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

कार्यक्रम मार्फत ताकम र मुदीमा २÷२, मल्कवाङ, मुना, मराङ र लुलाङमा एक एक वटा घर निर्माण भएको छ । चालीस लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।