विहिवार ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्ंया २६३४ पुग्यो

  • २२ जेष्ठ २०७७, बिहीबार
  • 1183 पटक पढिएको

काठमाण्डौँ २२ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सख्या बढ्दो देखिएको छ । बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको सख्ंया २६३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका
प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३ सय १९ जना पुरुष र १५ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ । यसैबीच कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रवक्ता देवकोटाले पाँच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुसको तानसेन स्थिति मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए । यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ ।