म्याग्दीमा भारतबाट आएकाहरुको कोरोना परिक्षणको लागि स्वाब संकलन सुरु

  • १४ जेष्ठ २०७७, बुधबार
  • 1172 पटक पढिएको

म्याग्दी १४ जेठ । भारतबाट म्याग्दीमा आएकाहरुको कोरोना भाइरसको संक्रमणबारे परिक्षणका लागि बुधबारदेखि बेनीमा स्वाब संकलन सुरु गरिएको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिन (एकान्तबास)मा बसेका १४ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


कार्यालयका प्रमुख एकनारायण लम्सालले संकलित स्वाब परिक्षणका लागि पोखरा स्थित क्षेत्रीय स्वास्थ्य प्रयोगशालामा पठाइने जानकारी दिनुभयो । यसअघि कोरोना विरुद्धको अभियानमा अग्रभागमा रहेर काम गरेका १५ जना सुरक्षाकर्मी सहित ५२ जनाको स्वाब परिक्षण गरिएको थियो । सबैको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । बेनीको म्याग्दी बहुमुखी क्याम्पस र वेष्ट पोइन्टको क्वारेन्टिनमा भारतबाट आएका ७० जना छन् । जिल्लामा आएको ५ दिनपछि कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतीय नाकामा आएकाहरुलाई सिमाका प्रशासन र जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरी उद्धार गरेर ल्याउने क्रम जारी छ । बुधबार मात्र १५ जना भारतीय नाकाबाट उद्धार गरेर ल्याउदै गरिएको म्याग्दीका सिडिओ ज्ञाननाथ ढकालले बताउनुभयो । जेठ ९ गते आएका १४ जना, १० गते आएका २९, ११ गते आएका १८, १२ गते ९ जना आएका थिए । भारतमा अलपत्र परेकाहरु आउने क्रम बढेसँगै बेनीमा क्वारेन्टिनको क्षमता बढाएर २०० जना क्षमताको बनाउन लागिएको ढकालले बताउनुभयो ।

बेनीको वेष्ट पोइन्टमा ३० र म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन बनाइएको छ । यसैगरी शैक्षिक तालिम केन्द्रको भवनमा १५ शैयाको आइसोलेशन बनाइएको छ । क्वारेन्टिनमा बस्नेहरुलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजाको व्यवस्था गरेका छन् । छिमेकी जिल्ला बागलुङको बडीगाड र तमानखोला गाउपालिकामा ६ जना कोरोना संक्रमित भेटिएसँगै म्याग्दी र बागलुङका सबै सिमानामा आवत जावतमा कडाई गरिएको छ । तमानखोला गाउपालिकाको सिमानामा रहेको मालिकाको सोले डाडामा शसस्त्र प्रहरी सहितको चेक पोष्ट राखिएको छ ।