जहाँ लगडाउनको असर छैन

  • २२ बैशाख २०७७, सोमबार
  • धिरन खत्री
  • 2120 पटक पढिएको

धिरन खत्री, म्याग्दी, २२ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास गाँउसहर सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण बजारदेखि गाउँसम्म मानिसहरु घरबाहीर निस्केका छैनन् । सुनसान छ । तर म्याग्दीका जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा र गाईभैसी पाल्ने कृषकलाई लकडाउनले छोएको छैन् । उनीहरुलाई बजारमा जस्तै कोरनाको त्रास छैन् । गोठालाहरुको दैनिकी यथावत छ । ५३ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउपालिका–२ भगवतिका जगतबहादुर भण्डारीले लकडाउन र कोरोनाको त्रासले नियमित काममा प्रभाव नपरेको बताउँछन् । जगतका छोरा गोपाल भण्डारी पनि भेडा गोठमै बस्छन् । उनिहरुको गोठ अहिले रघुगंगा गाउपालिकाको रुइसे भेडिओडारमा छ ।

‘हामीलाई कोरोनाको त्रास र लकडाउनको चिन्ता छैन,’ गोपालले भने ‘गाउँका मान्छेसंग सम्पर्क नहुने भएकाले ढुक्क छौ । जंगलमा दैनिक रुपमा भेडाबाख्रा चराउन जान्छौ ।’ कोरोनाको भन्दा पनि चितुवा, भालु, स्यालको डर भएको उनले बताए । भेडाबाख्रालाई जंगली जनावरबाट जोगाउन उनले दुई वटा कुकुर पालेका छन् । उनिहरुसंग ३५० भन्दा बढी भेडाबाख्रा छन् । घाँस भएको जंगल र भिरपाखामा भेडाबाख्राको चरन क्षेत्र हुन् । हिउँदमा बेशीका फाँट र बर्खामा हिमालको काँखका बुकीमा भेडा चराउन पुग्छन् । चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि उनिहरु भेडाबाख्राको साथमा हुन्छन् ।


रुइसे, भेडिओढार, दग्नाम, भुजेलगडी, वाखेत, देउराली, भकुण्डे, फलामेडाडा, हम्पाल, धौलागिरि हिमालको फेदीका बुकी हुदै मुस्ताङको लेतेको सिमानामा पर्ने कालीदह सम्म भेडाबाख्रा चराउन लैजान्छन् । वरपरका जंगलमा घास सकिएपछि गोठ सार्छन् । भकारी र त्रिपालले छाएको गोठमा बस्नेका लागि घरबाट आफन्तले खाद्यान्न पु¥याइदिन्छन् । भगवतिकै ६३ वर्षीय नन्दबहादुर भण्डारीका परिवारले चार पुस्तादेखि भेडापालन गर्दै आएका छन् । बाजे महाबिर भण्डारीले सुरु गरेको भेडापालनलाई नन्दबहादुरका छोरा रामकृष्णले निरन्तरता दिएका छन् ।

उनिहरुको गोठमा तीन सय भन्दा बढी भेडाबाख्रा छन् । दूख भएपनि आम्दानी राम्रो हुने भएकाले भेडापालनलाई निरन्तरता दिएको नन्दबहादुरले बताए । कालीगण्डकी भेडापालन स्रोत केन्द्रका अध्यक्ष समेत रहेका उनले चरन क्षेत्रमा घाँसको कमी र वन्यजन्तुको आतंक चुनौति रहेको बताए । ‘भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट जोगाउन सुरक्षाका लागि चार वटा भोटे जातका कुकुर पालेको छु,’ उनले भने ‘दुई वटाले गोठ कुर्छन र दुई वटा जंगलमा भेडासंगै जान्छन् ।’ बलीया र अग्ला हुने भोटे कुकुर भेडा गोठालाका सुरक्षा सहयोगी हुन् । जंगली जनावर भेडाबाख्रा वरपर आएपछि कुकुरले भुकेर संकेत गर्छन् । भोटे कुकुरले चितुवा, स्याल र भालुलाई भगाउन सहयोग गर्न गोठाला धनबहादुर विश्वकर्माले बताए ।

म्याग्दीमा २ सय भन्दा बढी भेडाबाख्रा गोठ रहेका छन् । शहरभन्दा गाउँमा खेतीपाती लगाउने र थन्काउने चटारोले लगडाउनको असर देखिदैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l