धौलागिरि आइसफल पदमार्गः अध्ययन भएको आठ बर्षसम्म पनि सञ्चालनमा आएन (फोटो फिचर)

  • ९ पुष २०७६, बुधबार
  • कमल खत्री
  • 2969 पटक पढिएको

कमल खत्री
बेनी, ९ पुस । नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्ग पहिचान भएको एक दशक पुग्न लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको रुईसे डाँडादेखि धवलागिरि आइसफल सम्मको पदमार्गको नक्सांकन र पूर्वाधार निर्माण हुन नसक्दा पदमार्ग सञ्चालनमा आउन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ बैकल्पिक पदमार्गको रुपमा हेरिएको रुइसे हुँदै आइसफलपदमार्गलाई रघुगंगा गाउँपालिकाले समेत पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको छ ।


स्थानीय हुँदे संघिय सरकारले समेत पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेपनि औपचारिक रुपमा यो पदमार्ग सञ्चालनमा आउन सकेको छैन् । यस पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुईसे, भेडिओढार क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेपनि त्यहाँदेखि अघिको आइसफल पदमार्गमा पर्यटक भित्रिन सकेका छैनन् । पदमार्गको सबै क्षेत्रमा पूर्वाधार निर्माण हुन नसकेको र नक्साङ्कन समेत तयार नभएकाले पदमार्ग सञ्चालनमा आउन नसकेको पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष धु्रवकुमार पाईजाले जानकारी दिनुभयो ।


‘टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर’ टान, तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । पदमार्गको सम्भाव्यता अध्ययन भएको दशक पुग्न लाग्दा समेत यस पदमार्गलाई सञ्चालनमा ल्याउन नसक्दा स्थानीय निराश बनेका छन् । पदमार्गको सम्भाव्यत्ता अध्ययन भए लगत्तै पदमार्ग लगायतका पूर्वाधार निर्माण सुरु गरिएपनि न्युन बजेटको कारण पदमार्ग निर्माणले अझै पूर्णता पाउन सकेको छैन् ।

?

पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरा लगायतबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण भएको छ । उच्च हिमाली क्षेत्र र बस्तीदेखि टाढा रहेकाले जंगलमै बास बसेर पदमार्ग लगायतका पूर्वाधार बनाउनुपर्ने बाध्यता रहको र प्रयाप्त बजेट विनियोजन नहुँदा पदमार्ग निर्माण कार्यले पूर्णता पाउन नसकेको स्थानीयको भनाई छ । यस पदमभार्ग हुँदै कुईनेमंगले र चिमखोलातर्फको भूभागमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुग्नको लागि निर्माण गरिएको पदमार्ग गत बर्ष रघुगंगा नदीमा आएको भिषण बाढीले बगाएको छ ।

यस बर्ष आइसफल पदमार्गमा पूर्वाधार बनाउन गाउँपालिका र संघिय सरकारबाट समेत विनियोजन भएको बजेटबाट पदमार्ग बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, संघिय सरकारबाट प्राप्त २५ लाख बजेटबाट चिमखोला र कुईनेमंगले क्षेत्रमा र गाउँपालिकाबाट विनियोजन भएको रु १० लाख बजेटबाट रुइसे हुँदै मुटुकाटे क्षेत्रमा पदमार्ग निर्माण गर्ने तयारी गरिएको छ ।


धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षणको रुपमा रहेका छन् । यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको विकास गर्न सकेमा म्याग्दी र मुस्ताङको अर्थतन्त्रमा ठुलो फाइदा पुग्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ ।
                                             म्याग्दी हुँदै मुस्ताङ जोड्ने बैकल्पिक रुट

कालिगण्डकी नदीको किनार हुँदै म्याग्दीको बेनी भएर मुस्ताङ जाने परम्परागत पदमार्ग सडक विस्तारसंगै मासिएपछि यो रुट हुँदै पदयात्रा गर्ने पर्यटकहरुले धुलो र हिलोको सास्ती खेप्नु परेको छ । सडकले पदमार्ग नै मासिएपछि अहिले अधिकाँश पर्यटकहरु सवारी साधनबाट ओहोरदोहोर गर्न बाध्य छन् । म्याग्दी र मुस्ताङलाई पदमार्ग बाटै जोड्नका लागि बैकल्पिक मार्गको रुपमा धौलागिरि आइसफल पदमार्गको पहिचान र अध्ययन गरिएको हो । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।


आइसफलबाट मुस्ताङको लेते जाने र अर्कोतर्फ म्याग्दीको फेदी, छरी हुँदै चिमखोला भएर फर्कन सकिने दुई विकल्प समेत रहेको छ । कुमारी पदमार्गको रुपमा रहेको यस पदमार्गलाई साहशी पदयात्राको लागि विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिचान गरि अध्ययन गरिएको यस पदमार्ग अग्ला डाँडा र घना जंगल क्षेत्रमा पर्ने, बस्तीदेखि टाढा रहेको, सडक सञ्जालले कहिल्यैपनि नछुने भएकाले यसले पर्यटन विकासमा दिर्घकालिन सकरात्मक प्रभाब पार्ने सम्भावना रहेको छ ।

?

                                                      मनमोहक तालहरु ओझेलमा
धौलागिरि आइसफल पदमार्गबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न पाउनु यहाँको प्रमुख बिशेषता रहेपनि यस पदमार्ग अन्र्तगत रहेका तालहरु पनि पर्यटकको थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले समेटीएको चिमखोला क्षेत्रमा पर्ने कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल पर्यटकीय सम्भानायुक्त रहेका छन् । उच्च हिमाली भेगमा रहेका यि तालहरुको रंग समेत फरक–फरक रहेका छन् । यहाँ रहेका तालमा पुग्न चिमखोलाबाट दुई दिनको पदयात्रा गर्नुपर्छ ।

पदमार्ग अन्र्तग्त सोवाङधुरी, लोस, गौराखर्क हुँदै लाटी वराह ताल पुग्न सकिन्छ भने चिमखोलाबाट छरी, फेदी हुँदै समेत यस तालमा पुग्न सकिन्छ । यस तालमा धौलागिरी र अन्नपूर्ण हिमालको छायाँ समेत देख्न सकिन्छ । पहाडको टुप्पोमा रहेको यस ताल र त्यहाँबाट देखि दृष्यले जो कसैको मन फुरुङ्ग हुने चिमखोलाका स्थानीय युवा प्रदिप पाईजाले बताउनुभयो । ‘‘यात्राको थकान प्राकृतिक सुन्दरताले मेटाईदिन्छ, यहाँ आईपुगेपछि ताल, हिमाल र अनौठो हिमाली भुगोललाई छाडेर कसैलाई फर्कन मन लाग्दैन’’–उनले भने ।

त्यस तालको छेउमा साना मन्दिर समेत निर्माण गरिएको छ र यसको छुट्टै बिशेषता र महत्व पनि छ । कसैका सन्तान बोल्न ढिला गरेमा उक्त मन्दिरमा पुजा गरेपछि उक्त समस्या टरेर जानेगरेको किम्बदन्ती रहेको छ । यस पदमार्ग अन्र्तगत धौलागिरि आइसफल नजिकै कालिबराह ताल रहेको छ । हिमालको फेदीमा रहेको यो तालकै नजिकै फरक फरक रंग भएका निली बराह, सेती बराह र पहेँलीबराह ताल समेत रहेका छन् । हरेक तालैपिच्छे देखिने फरक रंगले यहाँ पुगने पर्यटकहरुलाई आश्चर्यमा पार्ने गरेको छ । कालिबराह तालमा साउन महिनामा पर्ने ऋषितर्पणी पूर्णिमाको दिनमा बिशेष पुजा समेत हुँदै आएको छ ।

?

                                                       (तस्बिर प्रदिप पाईजा, विरन पुन, ध्रुवकुमार पाईजा)

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l