गाउँपालिकाको केन्द्र विवाद समाधान संगै समृद्धिको खाका सहित आएको छुः प्रमुखका उम्मेदवार शाही

  • २६ बैशाख २०७४, मंगलवार
  • 4093 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिमा वैशाख ३१ गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रसंगको तालमेलबाट गाउँपालिका प्रमुखको उम्मेदवारमा एमालेका नेता खिमबहादुर शाही चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । गाउँपालिकाको केन्द्र विवाद समाधान र गाउँपालिकाको समृद्धिको बिषयमा हामीले उहाँसंग कुराकानी गरेका छौँ प्रस्तुत छ गाउँपालिका प्रमुख शाहीसंग गरिएको कुराकानीको सम्पादीत अंश


१ ) रघुगंगा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिनुभएको छ । यहाँलाई सर्वप्रथम बधाई तथा सफलताको शुभकामना । कस्तो लागिरहेको छ गाउँपालिका प्रमुखको उम्मेदवार बन्दा ?

–सर्वप्रथम तपाईलाई धेरै धेरै धन्यबाद । मलाई एकदमै खुसी लागेको छ । म विगत २० बर्ष अघि तत्कालित पिप्ले गाविसको अध्यक्ष भएर पनि काम गरेको हुँु । २०५४ सालको निर्वाचनमा म तत्कालिन गाविस अध्यक्ष भएर काम गरेको थिए । राजनीतिमा लागेपछि मैले कहिल्यै पदको दुरुपयोग गरेको छैन् । मैले राजनीतीलाई समाजसेवाको रुपमा लिएकै कारण अहिले म गाउँपालिका अध्यक्ष पदमा पार्टीबाट सर्वसम्मत रुपमा उम्मेदवार बनेको हुँु । स्थानीय तहलाई कसरी सञ्चालन गर्ने त्यो अनुभव मसंग छ । र मेरो प्रतिद्धन्द्धी स्थानीय तहबारे अनुभवी नभएको कारण जनताले निर्वाचनमा मलाई मतदान गर्नेमा म विश्वस्त छु ।
 

२ ) उम्मेदवारी दर्ता संगै जनतको घरदैलोमा पुग्नुभएको छ ।  के भन्छन जनता ?

–वास्तबमा जनता उत्साहित छन् । बिगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा जनप्रतिनिधि विहिन अबस्थामा जनताले धेरै दुख र सास्ती खेपेको कारण पनि निर्वाचनप्रति जनताको चासो बढेको छ । विगत २० बर्षदेखि सामाजिक विकासमा खटिएको एउटा युवा गाउँपालिकाको प्रमुखको उम्मेदवार बनेकोमा जनता झनै खुसी छन् । आठ वटै वडाका जनता उत्साहित छन् । मेरो गठबन्धनबाट म एमालेबाट प्रमुख र माओवादी केन्द्रबाट हरि भण्डारी उपप्रमुखमा रहेर हामीले निर्वाचनमा आफ्नो उम्मेदवारी दिएका छौँ । यो गाउँपालिकाको समृद्धिको लागि हामीले राजनितीक दलहरुबिचमा चुनाबी तालमेल गरि संयुक्त उम्मेदवारी दिएका हौँ । हाम्रो गठबन्धनले गाउँपालिकाको विकास र समृद्धिमा थप नयाँ आयाम थप्ने निश्चित छ ।

३) तपाई प्रमुखमा उम्मेदवार बन्नुभएको रघुगंगा गाउँपालिकामा केन्द्रको विवाद छ । कसरी मिलाउने योजना बनाउनुभएको छ ?

– हो बास्तवमा हाम्रो रघुगंगा गाउँपालिकामा भौगोलिक विकटताको कारण गाउँपालिकाको सिमाना र आयोगले तोकेको अस्थायी केन्द्र अबैज्ञानिक छ । वैज्ञानिक रुपमा पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलाका नागरिकलाई मौवाफाँट र झिँ, पाखापानी र कुईनेमंगलेका जनतालाई पाखापानीमा अर्को केन्द्र दिइनुपर्छ भनेर हामीले निरन्तर आन्दोलन पनि ग¥र्यौ तर सरकारी तवरबाट त्यो समस्या हल हुन सकेन् । अब हामीले निर्वाचनबाट चुनिने जनप्रतिनिधिले नै जनतालाई सुविधा पुग्ने गरि केन्द्र विवाद हल गर्ने योजना बनाएका छौँ ।

४) के छ त्यस्तो योजना ? जस्ले रघुगंगाको केन्द्र विवाद सजिलै हल गर्न सम्भव छ ।

मेरो योजना के छ भनेपछि पाखापानी र मौवाफाँट दुबै तर्फ केन्द्र राखेर जनतालाई सुविधा दिन सकिन्छ । जनताले दुख पाउने होईन जनप्रतिनिधि नै दुबैतर्फ पुगेर जनतालाई सेवा दिने मेरो योजना हो । दुबै तर्फ केन्द्र राख्नुको उदेश्य भनेको रघुगंगा वारीका बहुसंख्यक नागकिरको लागि मौवाफाँटमा केन्द्र राख्ने र पारिका अल्पसंख्यक र जनजाती समुदायको बाहुल्यता रहेको क्षेत्रका नागरिकलाई पनि पाखापानीमा केन्द्र राख्न निरन्तर सघर्ष गर्ने र त्यो सम्भव नभएसम्म दुबै तर्फ जनप्रतिनिधि नै पुगेर सेवा दिनुपर्छ भन्ने हो ।

५) रघुगंगा गाउँपालिका भौगोलिक रुपमा विकट पनि छ । यो गाउँपालिकाको समृद्धिको लागि के कस्ता योजना बनाउनुभएको छ ?

–बास्तबमा अहिले नयाँ संरचनामा रहेका रघुगंगा गाउँपालिकामा सडक, सञ्चारको समस्या प्रमुख चुनौतीको रुपमा रहेको छ । मैले यो गाउँपालिकामा रिङरोडको अबधारण बनाएको छु । यदि निर्वाचनमा मलाई जनताले बिजयी गराएभने मैले दग्नामको बुक्लको फेदीबाट झिँको पुछारमा रहेको रघुगंगा नदीमा पक्कि मोटरेवल पुल निर्माण गर्ने र त्यहाँबाट झिँ नयाँ ट्याक विस्तार गरि पारिका जनतालाई वारी आउन र वारीका जनतालाई पारी जान सहज बनाउँछु । त्यसपछि दग्नामको भिरमा पुगेको सडकलाई दग्नाम, दरमिजा हुँदै चिमखोला जोड्ने र पाखापानी देखि सडक विस्तार गरि कुइनेमंगले जोड्ने योजनालाई प्राथमिकतामा राखेको छु ।

यति गर्न सकियो भने गाउँपालिका रिङरोडमा जोडिन्छ । जस्को कारण जनतालाई आवतजावतमा सहजता हुने मैले विश्वास लिएको छु । अर्को कुरा अहिले जसरी बेग र बाँदुक जोड्ने लामो झोलुङ्गे पुल निर्माण हुँदै छ त्यस्तै प्रकृतिको पुल दरमिजा र पाखापानीमा पनि हाल्ने योजना छ । साथै गाउँपालिकामा हाल सवारी साधन सञ्चालन हुँदै आएका सडकहरुको स्तरोन्नती संगै खानेपानी, विद्युत, सञ्चार लगायतका विकासका आयामहरुलाई प्राथमिकताको आधारमा अगाडी बढाउने योजना बनाएको छु । त्यस्तै मैले युवाहरुलाई स्वदेशमै रोक्नका लागि युवाबिशेष कार्यक्रमहरु पनि कार्यान्वयन गर्ने योजना बनाएको छु ।

६ ) बास्तवमा तत्कालै गाउँपालिकाको आम्दानीका स्रोतहरु केही पनि देखिँदैन् ? कसरी सम्भव छ रघुगंगा गाउँपालिकालाई समृद्ध बनाउन ?

–अहिले झट्ट हेर्दा आम्दानीका स्रोत नदेखिएको होला । मैलेत यो रघुगंगा गाउँपालिकालाई समृद्ध बनाउन प्रशस्त सम्भावना नै सम्भावना देखेको छु । हेर्नुहोस यो गाउँपालिकालाई पाँच बर्षभित्रमै केही परिवर्तन ल्याउन सकिन्छ र नमुना गाउँपालिकाको रुपमा अगाडी बढाउन सकिन्छ । किनकी हामीसंग जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानी लगायतको क्षेत्रमा प्रशस्त सम्भावना छ । यि क्षेत्रको उजागर गर्न निश्चित योजना सहित अगाडी बढ्न सकियो भने मात्रै हामी गाउँपालिकालाई समृद्धिको दिसातर्फ अगाडी डोहोर्‍याउन सक्छौँ ।

७) यहाँको महत्वपूर्ण समयको लागि धन्यबाद ।

–यहाँको लोकप्रिय म्याग्दीअनलाईन मार्फत मेरा धारणा राख्ने अबसर दिनुभएकोमा यहाँ र म्याग्दीअनलाईन परिवारलाई धेरैधेरै धन्यबाद ज्ञापन गर्दछु ।