नौलीबराह धार्मिक पर्यटकीय गन्तव्य बन्दै, एकैदिन २ हजार बढी भक्तजन पुगे ( फोटो फिचर)
- ३१ श्रावण २०७६, शुक्रबार
- कमल खत्री
- 2314 पटक पढिएको
कमल खत्री
म्याग्दी ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित नौलीबराह धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको पहुँच, आकर्षक पोखरी निर्माण, प्रचार प्रसार लगायतको कारण चौलीबराहमा पुग्ने भक्तजन र पर्यटकहरुको संख्या बढेको हो । यस बर्षको जनैपूर्णिमाको अबसरमा मात्रै २ हजार बढी भक्तजनहरुले एकैदिन नौलीबराहको दर्शन एबम् पुजा गरेका छन् । केहि बर्ष अघि सम्म न्युन मात्रामा भक्तजनहरु आउने नौलीबराहमा पछिल्लो समय उत्साहजनक रुपमा बढेको नौलीबराह पुजा व्यवस्थापन समितिका अध्यक्ष रेशबहादुर भण्डारीले बताए ।
पुस्तौदेखि मनोकांक्षा पुरा हुने महत्वपूर्ण शक्तिपिठको रुपमा रहेको नौलीबराहको थानमा पुजा र जलकुण्डमा स्नान गरेर भाकल गर्ने प्रचलन रहेको छ । यहाँ म्याग्दीको रघुगंगा गाउँपालिकाको अधिकाँश ठाउँका सर्वसाधारण संगै पर्वत र बागलुङ्गबाट समेत भक्तजनहरु पुजा गर्न आउने गरेका छन् । आफुले आँटेको पुरा हुने भएकाले पुजा गर्न आउने गरेको बेगखोलाकी चेतकुमारी फगामीले बताईन् । नौलीबराहमा भक्तजनहरुले सन्तान, सुख, सफलताको बर माग्ने गरेको पाईन्छ ।
अन्य समयमा भ्रमण र दर्शनको लागि पुग्ने गरेपनि जनैपूर्णिमाको दिन बिशेष पुजाको लागि यहाँ भक्तजनहरुको भिड लाग्ने गरेको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए । ‘‘ नौलीबराह धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको छ, यहाँको महत्वलाई थप उजागर गर्ने र नौलीबराहको विकास हाम्रो प्राथमिकतामा छ’’–वडा अध्यक्ष कटुवालले भने ।
चन्द्रमा आकारको पोखरीको आकर्षण
अन्नपूर्ण हिमशृङ्खलाको आधा दर्जन हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने नौलीबराहमा चन्द्रमा आकारको पोखरी थप आकर्षणको रुपमा रहेको छ । यहाँ स्थानीयबासीले पोखरीको जिर्णउद्धार र मैदान निर्माण गरेका छन् । नौलीबराह क्षेत्रमा पूर्वाधार निर्माणमा चन्दा संकलनबाटै अहिलेसम्म करिब रु १५ लाख बढी खर्च भैसकेको पुजा व्यवस्थापन समितिका अध्यक्ष भण्डारी बताउँछन् ।
उनका अनुसार, वडा र गाउँपालिकाको सहयोगमा सिद्धको थान निर्माण गरिएको छ भने संरक्षणको लागि घेराबार समेत गरिसकिएको छ । चन्द्रमा आकारको संरक्षित पोखरीको बिचमा कलस धारा निर्माण गरिएको छ । पोखरी परिसरमा बारुनीको मन्दिर निर्माण गर्ने योजना रहेको छ । पोखरीमा नियमित रुपमा पानी रहने भएकाले हिमालको मनमोहक छायाँले भक्तजन र पर्यटक लोभिने गरेका छन् । नौलीबराहको थान नजीकै खोचमा रहेको चट्टानको बिचमा रहेको खोपीमा कहिल्यैपनि पानी नसुक्ने अनौठो बिशेषता रहेको छ ।
धार्मिक पर्यटकीय पूर्वाधार बनाईने
नौलीबराहलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने भएको छ । पर्यटकीय स्थल रुइसे र भेडिओढारको नजीकै रहेकाले नौलीबराह क्षेत्रलाई समेत जोडेर चक्रिय पदमार्ग निर्माण गर्ने तयारी गरिएको छ ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले धवलागिरी आईसफल पदमार्गले समेटिएको यस क्षेत्रमा रहेका प्राकृतिक दृष्य अवलोकन गर्न सकिने क्षेत्र र धार्मिक स्थलहरुलाई समेटेर चक्रिय पदमार्ग निर्माण गर्ने योजना रहेको बताए ।
उनका अनुसार, गलेश्वर, भगवती मन्दिर हुँदै रुइसे पुगेका पर्यटकलाई भेडिओढार, नौलीबराह हुँदै नेपालकै लामो बेग–बाँदुकको पुल सम्म घुमफिर गर्ने गरि पदमार्ग लगायतका पूर्वाधार निर्माण गर्न लागिएको हो ।
सडकको रिङरोडले जोडियो
नौलीबराह पुग्नको लागि सडकको रिङरोड निर्माण भएको छ । भगवतीदेखि सिजलगाउँ–रुईसे हुँदै नौलीबराह, भगवतीदेखि–साझापानी–जाखुरपानी हुँदै नौलीबराह र बेगको सिम हुँदै नौलीबराह पुग्ने सडकको ट्याक निर्माण भएको छ ।
सडक निर्माणसंगै टाढा टाढाबाट समेत सवारी साधन हुँदै नौलीबराहको दर्शन र पुजा गर्नको लागि आउनेहरुको लागि सुविधा पुगेको वडा अध्यक्ष कटुवालले बताए । जिर्ण रहेको नौलीबराह थानलाई समेत आकर्षक रुवरुप दिएर पुननिर्माण गर्नको लागि पुजा व्यवस्थापन समितिसंग छलफल भैरहेको उनले जानकारी दिए ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l