बेनी–जोमसोम सडक सञ्चालन

  • ३० असार २०७६, सोमबार
  • 3385 पटक पढिएको

म्याग्दी ३० असार । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रे भिरमा कालीगण्डकी नदीले कटान गरेपछि अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । थासाङ गाउँपालिका–४ मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि शुक्रबार दिउँसो देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्र्पक बिच्छेद भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले एक्साभेटर र मजदुर परिचालन गरेर पहाड फुटाई सवारी सञ्चालनमा ल्याएको जनाएको छ । तीन दिन लगाएर सडक मर्मत गरेपछि सोमबार दिउँसोदेखि सडक सञ्चालनमा आएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।


अबरोध हटेपछि बेनीबाट जोमसोम र जोमसोमबाट बेनीतर्फ सिधा आवत जावत गर्न सकिने भएको छ । सडक अवरुद्ध हुँदा स्थानीयबासी, तिर्थयात्री र पर्यटकहरु सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्नु बाध्य थिए । ढुवानी समेत प्रभावित भएको थियो ।रोकिएका सवारी साधनहरु सडक खुलेपछि गन्तब्यतर्फ लागेका छन् । प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको पहलमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले एक्साभेटर परिचालन गरेर शनिबार दिसँसोदेखि सडक खुलाउन सुरु गरेको थियो ।

कटानका कारण जोखिममा परेको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज संरक्षण र मर्मत गरिएको छ । कटान नियन्त्रण गरेर पुलको संरक्षण तथा सहज र सुरक्षित रुपमा यातायातका साधन वारपार गर्ने व्यवस्था मिलाइएको छ । मनसुन सुरु भएसंगै पहिरो, नदी कटान र बाढीका कारण बेनी–जोमसोम सडकको यात्रा सकसपूर्ण बनेको छ । दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा पर्यटक, स्थानीयबासी र तिर्थयात्रीहरु समयमा गन्तब्यमा पुग्न नसक्नुका साथै सास्ती र दुख भएको छ । दुर्घटनाको जोखिम बढेको छ ।

गलेश्वर स्थित रघुगंगा नदीमाथिको बेलिब्रिज र बस्तीमा कटानको चपेटामा परेको छ । बेगखोला, घट्टेखोला लगायतका खोल्सामा आउने बाढीले सडक अवरुद्ध गराउन थालेको छ । स्तरोन्नतिको क्रममा रहेको सडकको धेरै ठाउँमा हिलो जमेर गाडी फस्ने समस्या छ । बैसरी, चमेरे, तितर, जलथले र काभ्रेभिरमा पहिरोले सताउन थालेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम समेत प्रभावित भएको छ । सामान्य अवस्थामा पाँच घण्टामा पार गर्न सकिने यो सडक पार गर्न अहिले पुरै दिन लाग्ने गरेको छ ।