म्याग्दीमा पुरुषभन्दा महिला मतदाता बढी

  • २६ चैत्र २०७३, शनिबार
  • 3387 पटक पढिएको

म्याग्दी, २६ चैत । म्याग्दीमा पूरुषभन्दा महिला मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि अध्याबधिक भएको कुल ७१ हजार ४६३ मतदाता मध्ये ३७ हजार ६७२ जना महिला रहेका छन् । जिल्लामा ३३ हजार ७९० जना पुरुष र एक जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

प्रेस युनीयन म्याग्दीले आज बेनीमा आयोजना गरेको युनियनसंग साक्षतकार कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन अधिकारी पौडेलले जिल्लाबाट ७१ हजार ९१२ जनाको फोटो सहितको मतदाता अध्यावधिक गरि निर्वाचन आयोगमा पठाईएपनि आयोगले त्रुटि सच्याएर मतदाताको अन्तीम टुंगो लगाएको बताउनुभयो  । जिल्लामा २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा ६५ हजार ५५३ जना मतदाता रहेका थिए ।

निर्वाचनको लागि ७२ वटा मतदान केन्द्र निर्धारण गरी आयोगमा सिफारिस गरिसकिएको र आयोगले केही दिनमै मतदानस्थलको टुंगो लगाउने उहाँले बताउनुभयो । निर्वाचनलाई सफल बनाउन आबश्यक गृहकार्य थालेको जिल्ला निर्वाचन कार्यालयले  जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीति सम्बन्धि अन्तरक्रिया र मतदाता शिक्षालाई तीब्र बनाउन थालेको निर्वाचन अधिकारी पौेडेलले बताउनुभयो ।

उहाँका अनुसार, निर्वाचन सम्बन्धि जनतालाई जानकारी गराउन खटिन लागेको स्वयमसेवकहरुलाई आबश्यक तालिम दिईएको छ । एक मतदान स्थलमा कम्तीमा एक जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिनेछ । जिल्लामा १ सय बढी मतदान स्थल हुनसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका मध्ये केन्द्र विवादले स्थानीय आन्दोलित बनेपछि कार्यान्वयनमा आउन नसकेको रघुगंगा गाउँपालिका बाहेक अन्य सबै क्षेत्रमा राजनीतिक दलहरुले चुनाबी कार्यक्रमहरुलाई समेत तिब्रता दिएका छन् । निर्वाचनको लागि जिल्लामा विभिन्न १२ वटा राजनीतिक पार्टीहरुले दल दर्ता गराएका छन् ।