मल्कावाङमा ४२ किलोवाट विद्युत् निर्माण सम्पन्न

  • १० पुष २०७३, आईतवार
  • 629 पटक पढिएको

म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिए ।

laghu-jalabidhyut

सहसचिव छन्त्यालका अनुसार जनश्रमदान  ५९ लाख ५५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको  ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको ४९ लाख, जिविस म्याग्दीको दुई लाख, मल्कावाङ गाविसको तीन लाख २० हजार, स्थानीय जनजागरण आमासमूह र सन्लाइट युवा क्लबको २८ लाख रूपैयाँ गरी जम्मा  दुई करोड २३ लाख ६५ हजार रूपैयाँको लागतमा सो आयोजना निर्माण भएको हो ।

निर्माण सम्पन्न भई बुधबारदेखि मल्कावाङ गाविसको वडा नं २ देखि ६ सम्मका २१२ घरमा बिजुली बलेको जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालले बताए ।

“बिजुली बलेपछि हामी अत्यन्त खुसी छौँ, यस्तो दुर्गम गाउँमा पनि बिजुली बाल्न पाउँला भनेर सोचेकै थिएनौँ” स्थानीय तिलकुमारी छन्त्यालले भनिन्। बिजुली बलेपछि मल्कावाङका बासिन्दाले बुधबार भोजभतेर र नाचगान गरेर खुसियाली साटासाट गरेका थिए ।