सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

  • २ माघ २०७३, आईतवार
  • 1353 पटक पढिएको

काठमाडौं- बैंकिङ प्रणालीमा चर्को अभाव भएर व्यवस्थापन समस्या आएपछि  राष्ट्र बैंकले सिंगापुरबाट करिब एक करोड अमेरिकी डलर ल्याउने तयारी गरेको छ। चिनियाँ व्यापारीले बैंकिङ प्रणालीको साटो सोझै बजारबाट अमेरिकी डलर उठाएको र नेपाल आउने पर्यटकले नगद ल्याउन छाडेपछि डलरको नगद अभाव हुँदै आएको छ।
‘बैंकिङ प्रणालीमा नगद अभावका कारण व्यवस्थापनमा समस्या भएपछि सिंगापुरबाट करिब करोड अमेरिकी डलर ल्याउने निर्णय भएको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने, ‘डलरको दर (एक, दुई, पाँच, दस, बीस, पचास र सय) अनुसार यो रकममा केही तलमाथि हुनसक्छ।’ उनले यसरी डलर ल्याइएपछि केही समयका लागि व्यवस्थापन गर्न सहयोग पुग्ने बताए।’
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले डलर ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। उनका अनुसार पहिले नोटका दर, ल्याउने विधिलगायत विषयमा एउटा सम्झौतापत्र बनाउनुपर्ने र सोहीअनुसार सिंगापुरको बैंकसँग सम्झौता गर्नुपर्नेछ।

us-dollar

‘अहिले सम्झौतापत्र बनाउने काम भइरहेको छ,’ उनले भने,

‘कुन दरका नोट कति ल्याउने भन्ने निर्णय भएको छैन,’ सम्झौताले डलर ल्याउने माध्यम र तरिकाबारे पनि खुलाउने उनले जनाए।

सम्झौतापत्र तयार भएपछि राष्ट्र बैंकको खाता रहेको सिंगापुरको बैंकसँग सम्झौता गरेपछि मात्र अमेरिकी डलर ल्याउन पाइनेछ।

बैंकिङ प्रणालीमा डलर अभाव भएपछि केही दिनअघि निजी क्षेत्रका चार वाणिज्य बैंकले पनि डलर ल्याउने व्यवस्था गर्न राष्ट्र बैंकसमक्ष अनुरोध गरेका थिए।

विदेशी विनिमय व्यवस्थापन जिम्मेवारी सम्हालेका विभागीय प्रमुख भीष्मराज ढुंगानाले भने सिंगापुरबाट अमेरिकी डलर ल्याउन लागेकोमा अनभिज्ञता प्रकट गरे। उनले राष्ट्र बैंकमा जम्मा भएको अमेरिकी डलर सिंगापुरको बैंकमा राख्ने र आवश्यक पर्दा झिक्ने प्रक्रिया पुरानै भएको पनि प्रस्ट पारे।

ढुंगानाले भदौ पहिलो साता नागरिकसँग नेपालमा पछिल्लो समय नगदमा अमेरिकी डलर अभाव भएकाले करिब ९ महिनायता सिंगापुरमा राख्न नलगेको बताएका थिए।

विगतमा राष्ट्र बैंकले विदेश जाने प्रत्येक नेपालीलाई २ हजार ५ सयसम्म अमेरिकी डलर दिनेे व्यवस्था लागू गरे पनि अहिले नगद अभाव भएपछि ५ सयभन्दा बढी डलर नदिन बैंकलाई निर्देशन दिनुपरेको छ।

राष्ट्र बैंकका उच्च अधिकारीका अनुसार मुख्य रुपमा चिनियाँ व्यापारीले बजारबाट सोझै डलर उठाएर लैजाने, अवैध रुपमा आएको सुनको भुक्तानी डलरमा हुने र विदेशी पर्यटकले नगद ल्याउन छाडेकाले बैंकिङ प्रणालीमा डलर अभाव भएको हो।

ती अधिकारीका अनुसार पछिल्लो समय चिनियाँ व्यापारीले नेपाली बजारबाट अमेरिकी डलर उठाएर सडक मार्ग हुँदै चीन पुर्‍याउने गरेका छन्। विगतमा  पनि चिनियाँ व्यापारीले यस्तो काम गर्दै आएका थिए।

पछिल्लो समय अवैध रुपबाट आएको सुनको भुक्तानी डलरबाट हुने क्रम ह्वात्तै बढेकाले समस्या परेको हो।

ढुंगानाका अनुसार चिनियाँ व्यापारीले सामानको भुक्तानी अमेरिकी डलरमा नगदै लिन रुचाउँछन्। उनका अनुसार चिनियाँ व्यापारीले अमेरिकी डलरसँगै चिनियाँ मुद्रा युआन पनि लैजाने गरेका छन्। खासगरी चीनबाट अवैध रुपमा आउने सुनको भुक्तानी नगद डलरमा दिने गरिएको हो।

राष्ट्र बैंकका अर्का अधिकारीका अनुसार चिनियाँ व्यापारीले केही पर्यटन व्यवसायी र विशेष गरी मनिचेन्जरलाई मिलाएर अमेरिकी डलर संकलन गरी रसुवा–केरुङ सडक मार्ग हुँदै लैजाने गरेका छन्। केही व्यवसायीले सेटिङ मिलाएर हवाई मार्गबाट पनि डलर र युआन लैजाने गरेको ती अधिकारीले बताए। यो सबै अवैध रुपमा आएको सुनको भुक्तानी हो।

अमेरिकी डलरको अवैध कारोबारमा मनिचेन्जरहरुको संलग्नता देखिएपछि राष्ट्र बैंकको अनुरोधमा राजस्व अनुसन्धान विभागले केही दिनअघि ठमेल र न्युरोड क्षेत्रका मनिचेन्जरमा छापा मारेको थियो। त्यस क्रममा केही व्यवसायीको कारोबार शंकास्पद देखिएको थियो।

विभाग प्रमुख निर्मलहरि अधिकारीका अनुसार केही मनिचेन्जरले ठूलो रकमको डलर कारोबार कार्यालय बाहिरबाट गर्ने गरेको बताए। ‘साना कारोबार कार्यालयबाटै गर्ने तर ठूलो रकम आयो भने बाहिरबाट गर्ने देखिएको छ,’ उनले भने।

ढुंगानाका अनुसार बैंकिङ प्रणालीमा अमेरिकी डलर अभाव हुनुमा भूकम्पका कारण पर्यटक आगमन घट्नु पनि अर्को प्रमुख कारण रहेको जानकारी दिए। नेपालमा नगद डलर आउनु पर्यटकले बोकेर ल्याएको डलर नै हो। भूकम्प पछि नेपाल आउने पर्यटक करिव डेढ लाखले घटेका छन्। आएका पर्यटकले पनि डलर बोकेरभन्दा त्रे्कडिट कार्ड लिएर आउने प्रचलन बढेको छ।

ढुंगानाले बैंकिङ प्रणालीमा अमेरिकी डलर नगद अभाव भए पछि वाणिज्य बैंकहरुलाई मुलुक बाहिर जाने नेपालीलाई सकेसम्म ५ सय भन्दा बढी नगद नदिन निर्देशन दिइएको बताए। उनले सर्वसाधारण नेपालीलाई नगद डलरभन्दा कार्डलगायत अन्य वैकल्पिक साधन अपनाउने वातावरण बनाउन बैंकहरुलाई भनिएको जानकारी दिए। नेपालीको प्राथमिकता भने कार्डभन्दा नगद बोकेर जानेमा छ।

साभार:nagariknews