विदेशी सवारीलाई करको दायरामा ल्याउनुपर्ने मागसहित ज्ञापनपत्र

  • २८ बैशाख २०७५, शुक्रबार
  • 1670 पटक पढिएको

म्याग्दी, २८ वैशाख । विदेशी सवारीसाधनलाई स्थानीय करको दायरामा ल्याउनुपर्ने मागसहित शुक्रबार म्याग्दीमा ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले विदेशी नम्बर प्लेटका गाडीहरु विना रोकतोक गुडिरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।


नेपालको विभिन्न नाकाबाट विशेष गरी भारतीय नम्बर प्लेटका सवारीसाधनहरु सामान्य भन्सार शुल्क मात्रै तिरेर नेपालको कुना कुनासम्म पनि निर्बाध रुपमा गुड्ने गरेको हुँदा यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको जनाएको छ । नेपालको फितलो नीतिका कारण विदेशी सवारीहरु धमाधम भित्रिने र देशका विभिन्न ठाउँमा पुगेकोमा यसलाई रोक्नुपर्ने अनेरास्ववियुले माग गरेको छ।


देश नयाँ संरचनामा प्रवेश गरेको अवस्थामा अब स्थानीय तहले आ–आफ्नो क्षेत्रमा प्रवेश गर्ने विदेशी सवारीलाई कर तिराउनुपर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले बताएका छन् । उनले सीमा क्षेत्रका भन्सार कार्यालयमा चारसय रुपैयाँ मात्रै प्रवेश शुल्क तिरेर नेपालको विभिन्न क्षेत्रमा पुग्ने सवारीलाई स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताउँदै यस्तो नगरेमा अनेरास्ववियुले विदेशी सवारीसाधन प्रवेशमा अवरोध खडा गर्ने चेतावनी दिए ।


अनेरास्ववियुका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले देशको आन्तरिक मामिलामा विभिन्न माध्यमहरुको प्रयोग गर्दै बाह्य हस्तक्षेप बढिरहेको भन्दै त्यसको खरो ढङ्गले मुकाबिला गर्ने बताए । अनेरास्ववियुका केन्द्रीय सदस्य पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीको ज्ञापनपत्र बुझ्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नेपाल भित्रिने विदेशी गाडीको राज्यले उचित किसिमले व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

उनले ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित ठाउँमा पु¥याउने प्रतिबद्धता समेत जनाएका थिए । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बुझाइएको ज्ञापनपत्र प्रदेश नम्बर ४, पोखरा र म्याग्दी जिल्लाका ६ ओटै स्थानीय तहहरुलाई बोधार्थ दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएपश्चात् मुस्ताङ भित्रिने भारतीय गाडीको सङ्ख्यामा वृद्धि भएको छ ।