विकास योजनाहरुको स्थलगत अनुगमन

  • १५ बैशाख २०७५, शनिबार
  • 1837 पटक पढिएको

म्याग्दी, १५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडा सिङ्गाको विभिन्न स्थानमा शनिबार विकासे योजनाहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ मा बेनी नगरपालिका र वडा कार्यालयबाट सञ्चालित योजनाहरुको अनुगमन तथा निरीक्षण गरिएको हो ।


अनुगमन टोलीले बेनपा–४ को डाँडाखेतमा निर्माणाधीन बालमन्दिर आधारभूत विद्यालयको भवनको अनुगमन गरेको जनाएको छ । यसैगरी बेनपा–४, सिङ्गा तातोपानीमा रहेको तातोपानी खेलमैदान निर्माण योजना, तातोपानी बजारको ढल व्यवस्थापन नाली, साँघुरा सडक फराकिलो बनाउने लगायतका निर्माणाधीन योजनाको अनुगमन गरिएको थियो ।

बालमन्दिर आधारभूत विद्यालयमा वडा कार्यालयमार्फत चालु वर्षमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने तातोपानी खेलमैदान निर्माणका लागि पाँचलाख रुपैयाँ बजेट रहेको छ । विद्यालय परिसरमा १० कोठे भवन निर्माण थालिएको छ भने बजेटका लागि अन्य विकल्प समेत अघि सारिएको छ । तातोपानीको खेलमैदानका लागि स्थानीयले २० मिटरको पक्की वाल निर्माण गरेका छन् । थप बजेटको पनि आवश्यकता रहेको बताइएको छ ।

बेनी नगरपालिका उपप्रमुख सन्जु बरुवालको नेतृत्वमा गरिएको अनुगमनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत युक्तप्रसाद शर्मा, नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेल, बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराईली र प्राविधिक हरि आचार्यको सहभागिता रहेको थियो । वडास्तरमा नगरपालिका एवं वडा कार्यालयबाट सञ्चालित योजनाको निर्माणाधीन अवस्थाको पहिचान गर्न अनुगमन गरिएको बताउँदै उपप्रमुख बरुवालले आवश्यकता अनुसार योजनाहरुमा बजेट व्यवस्थापन गरिने बताइन् ।