केन्यामाथि नेपालको शानदार जित, शरदले छक्का हान्दै गरे ‘फिनिस’
- ३० फाल्गुन २०७३, सोमबार
- 2491 पटक पढिएको
३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले माथ दियो ।एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेले । उनले ९३ बलमा १ छक्का र चौकासहित ६४ रन बनाए । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । आफ्नो दोस्रो म्याचमै महत्वपूर्ण अर्धशतक हानेका दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाएका थिए ।
सुरुवाती दुई विकेट सस्तैमा खसेपछि नेपाल दवावमा आएको थियो । ओपनर सुनील धमला र तेस्रो नम्बरमा आएका सागर पुन क्रमशः १ र ५ रनमा आउट भए । तर त्यसपछि ज्ञानेन्द्र र दिपेन्द्रले नेपालको इनिङ सम्हाले । दिपेन्द्र आउट हुँदा नेपाललाई जितका लागि केवल ३१ रनको आवश्यकता थियो ।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकरले केवल ११ बलमा २४ रन बनाए । उनले ३० अाेभरकाे पिहलाे बलमा चाैका र दोस्रोमा छक्का हान्दै नेपाललाई जिताएका थिए । अन्तिम ओभरहरुमा नेपालले चौका र छक्काको वषर्ा गरेको थियो । ‘गेम फिनिसर’का रूपमा परिचित शरदले अाज पनि त्यही भूमिका निभाए ।
केन्याका बलहरुमा ओटिनोले दुई विकेट लिए भने ओबुवाले एक विकेट लिए । अन्य बलरहरु विकेटविहिन रहे ।यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्टटाइम स्पिनर शरद भेषावकरले चार विकेट लिएर केन्याको इनिङ धराशयी बनाए । उनले ७.१ ओभरमा २८ रन दिएका थिए ।
मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए । उनको बलिङमा केन्याका ब्याट्सम्यानले केवल ११ रन बटुल्न सफल भएका थिए । यसैगरी स्पिनर बसन्त रेग्मीले पनि दुई विकेट लिन सफल भए भने सागर पुन र सन्दिप लामिछानेको खातामा एक-एक विकेट रह्यो ।
यो जितसँगै नेपालले च्याम्पियनसीपको शिर्ष चार स्थानमा पुग्ने सम्भावनालाई गणितीयरुपमा जिवित राखेको छ । अब नेपालले हङकङ र यूएइसँग खेल्न बाँकी छ । नेपालले घरेलु मैदानमा खेल्ने यो अन्तिम म्याच थियो ।
source; onlinekhaber