तातोपानी कुण्डले होटल व्यवसाय फस्टायो

  • ११ बैशाख २०७५, मंगलवार
  • कमल खत्री
  • 2831 पटक पढिएको

म्याग्दी, ११ वैशाख । बेनी नगरपालिका– ४ तातोपानीका अधिकाँश घर भरिभराउ छन् । प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको कारण यहाँका सबै जसो घरमा सञ्चालित होमस्टे भरिभराउ हुने गरेका हुन् ।यहाँको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको लागि करिब १५० घरधुरीमा होमस्टे र १० वटा ठुला होटल सञ्चालनमा रहेका छन् । हरेक बर्ष जसो कुण्डमा स्नान गर्न आउनेहरुको संख्या बढेसंगै यहाँको होटल र होमस्टेमा व्यवसाय समेत फस्टाउँदै गएको छ ।

 

कुण्डकै कारण होमस्टेलाई व्यवस्थित र होटलको क्षमता विस्तार गर्ने क्रम बढी रहेको तातोपानी होटल व्यवस्थापन समितिका सचिब कुमार केसीले बताउनुभयो । ‘‘ यहाँको कुण्डले विरामीहरुको रोक मात्रै निको बनाएको छैन्, यहाँको सामाजिक विकास र आर्थिक कारोबारमा समेत उल्लेख्य रुपमा सहयोग पु¥याएको छ,’’–केसीले भन्नुभयो ।हिमालयन गेष्ट हाउसका सञ्चालक समेत रहेका केसीले तातोपानीमा स्नान गर्न र रोक निको पार्न डुब्न आउनेहरुको लागि म्याग्दी खोलाको माछा बिशेष रोजाईमा पर्ने गरेको बताउनुभयो । तातोपानीमा रहेका सबै जसो घरमा कुण्डमा डुब्न आउनेहरुको लागि होमस्टेको सुविधा छ ।

होटमस्टेमा आफै खाना पकाएर खान मिल्ने गरि कोठाहरुको व्यवस्थापन गरिएको छ । परम्परागत रुपमा चल्दै आएका होमस्टेहरुलाई समेत व्यवस्थित गर्ने क्रम बढ्दै गएको छ । कतियले होमस्टेको क्षमता विस्तार गरि होटल नै सञ्चालन गर्न थालेका छन् ।
तातोपानीमा आएर स्नान गर्नेहरुलाई लक्षित गरि केही महिनादेखि १८ वटा कोठाको क्षमता रहेको होटल सञ्चालन गरेका होटल होलिडे होमका सञ्चालक सिता घले मगरले बताउनुभयो ।

यहाँको प्राकृतिक तातोपानी कुण्डमा जमिनभित्रबाट निस्कने ४५ देखी ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने पानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाउने र नियमित नुहाउनाले ग्याष्ट्रीक, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनीने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने विश्वासले देशका विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन् ।

कुण्डमा आएर स्नान र डुबेर उपचार गराउनेहरुबाट लिईने शुल्कले समग्र तातोपानीको विकासमा कोशेढुंगा सावित हुँदै आएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयाे । अस्पतालमा पुगेर ठूलो खर्च गर्दा समेत निको नभएको शारीरिक रोगहरु कुण्डमा रहेको प्राकृतिक तातोपानीमा स्नान गरेमा निको हुन थालेपछि यसले सर्वसाधारणको मन जित्दै अध्यक्षा शाक्यकाे भनाइ छ ।विशेष गरी तातोपानी कुण्डमा डुबेपछि कम्बल वा बाक्लो कपडा ओढेर न्यानो ठाउँमा पसिना निकाल्ने गरि आराम गर्ने र कुण्डको छेउमै रहेको तातोपानीमा नुहाउने गरिन्छ । यस कुण्डमा स्नान गर्नका लागि उच्च तहका व्यक्तिहरुदेखि विदेशी पर्यटकहरु समेत आउने गरेका छन् ।

यस कुण्डमा ११ दिन डुबेको रु २ सय शुल्क लिने गरिएको छ । कुण्डमा आउनेबाट लिईने शुल्क र रोग निको भएर फर्कनेहरुले स्वच्छीक रुपमा दिने सहयोग रकमलाई स्थानीय सरस्वती मावि सञ्चालनार्थ सहयोग गर्दै आईएको छ । प्रावि दरबन्दि रहेको यस विद्यालयका १२ जना शिक्षकको तलब यसै कुण्डबाट उपलब्ध गराईदै आईएको छ भने कुण्डले स्थानीय शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत विविध रचनात्मक सहयोग गर्दै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l