म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुभारम्भ

  • २५ फाल्गुन २०७४, शुक्रबार
  • 1995 पटक पढिएको

म्याग्दी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु भएकोे छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाइ सुरु गरिएको हो ।


प्रवेश परिक्षा (सिम्याट) मा उर्तिण भएका विद्यार्थीहरुको लागि शुक्रवारदेखि नियमित पठनपाठन सुरु गरिएको हो । स्नातकोत्तर तहको औपचारिक पठनपाठनको शुभारम्भ गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले क्याम्पसमा स्नातकोत्तर तहको पढाई सुरु भएसंगै जिल्लाको शैक्षिक ईतिहाँसमा नयाँ आयाम थपिएको बताउनुभयो ।

उहाँले व्यवस्थापन संकायमा अबदेखि स्नातकोत्तर तह अध्ययन गर्नकै लागि भनेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको समेत बताउनुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बालकृष्ण सुवेदी र स्वतन्त्र विद्यार्थी युनियका सभापति सावित्रा खत्रीले स्नातकोत्तर तहको पठनपाठन सुरु संगै क्याम्पस सञ्चालक समितिको काँधमा जिम्मेवारी बढेको बताउँदै शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार निर्माण संगै उपयुक्त शैक्षिक वातावरण निर्माणको लागि सबै सरोकारवालाले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

स्नातकोत्तर तहमा पठनपाठनको लागि लिईएको प्रवेश परिक्षा (सिम्याट) मा नाम निकालेका मध्ये २६ जना भर्ना भैसकेका छन् । क्याम्पस प्रमुख टिकाराम सापकोटाले अहिले सञ्चालनमा आएको व्यवस्थापन संकायको स्तातकोत्तर तहलाई व्यवस्थित गर्दै आर्थिक स्रोत र विद्यार्थीहरुको चाप अनुसार स्नातकोत्तर तहको क्षमतालाई विस्तार गर्न सकिने जनाईएको छ ।स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने उदेश्यले २०७३ कात्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म धार्मिक तथा शैक्षिक महोत्सव सञ्चालन गरिएको थियो ।

उक्त महोत्सवबाट खर्च कटाएर बचत हुन आउने रु २ करोड बढी दान रकमलाई उपयोग गरि तत्काललाई स्नातकोत्तर तहको खर्च व्यवस्थापन गरिने र क्रमिक रुपमा अन्य स्रोतहरुको समेत खोजी गरिने क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।  २०४८ सालमा मानविकी तथा सामाजिक शास्त अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट उच्च शिक्षाको इतिहास सुरु गरेको क्याम्पसमा अहिले कक्षा ११ देखि स्नातक तहसम्म शिक्षा, व्यवस्थापन र मानविकी तथा समाजशास्त तहका कक्षाहरु सञ्चालनमा रहेका थिए ।