माझफाँटमा विविध विषयमा महिलालाई तालिम सुरु
- २८ पुष २०७४, शुक्रबार
- सन्दीप शर्मा
- 1233 पटक पढिएको
म्याग्दी, २८ पुस । उत्तरी पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा बिहीबारदेखि विविध विषयहरुमा महिला लक्षित तालिमहरु सुरु भएको छ । श्री महिला चेतना केन्द्र पर्वतको आयोजना र साविक माझफाँट गाविसको सहयोगमा सेनेटरी प्याड तथा अगरबत्ती निर्माण र उद्घोषण कलासम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य पदम गिरीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपश्चात् देश नयाँ चरणको युगमा प्रवेश गरेको बताएका छन् । उनले राज्यका हरेक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको बताउँदै नेपालको महत्वपूर्ण निकायको प्रमुखमा महिला नै पुग्न संसारमै नमुनायोग्य भएको बताए । सांसद गिरीले आफू सबै क्षेत्र र सबैको साझा प्रतिनिधि भएको भन्दै पर्वत जिल्ला र आम जनताको उन्नति प्रगतिका लागि लागिपर्ने बताएका थिए । महिलाहरुको आयआर्जन, सिपमूलक र व्यवसायिक उन्नतिका लागि आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन् ।
सोही कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले गाउँपालिकाले महिलाहरुको क्षेत्रमा रहेर काम गर्ने बताएकी थिइन् । एमाले पर्वतका प्रचार विभाग प्रमुख लालबहादुर अधिकारीले देशमा चुनाव सम्पन्न भएको महिनौं बितिसक्दा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ सरकार गठन गर्ने मार्गप्रशस्त नगर्नु लोकतन्त्रमाथी नै प्रहार भएको आरोप लगाएका छन् ।
आगामी १२ दिनसम्म चल्ने तालिममा सेनेटरी प्याड तथा अगरबत्ती निर्माण र उद्घोषणकलाका विभिन्न विषयहरुमा सहजीकरण गरिने आयोजकले जनाएको छ । तालिममा जलजला गाउँपालिका २, ३ र ४ नम्बर वडाका १३५ जना महिलाहरुको सहभागिता रहने बताइएको छ । महिला चेतना केन्द्रका अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता, सचिव शान्ति जिसीको सञ्चालन र उपाध्यक्ष निर्मला केसीको स्वागतमा सम्पन्न कार्यक्रममा महिला सदस्य कोपिला बरुवाल, तारा पौडेल, दलित महिला सदस्य लक्ष्मी विक, सामाजिक परिचालक विन्दु पौडेल र स्थानीय चन्द्रबहादुर लामिछानेले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष तुलसी पौडेलले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।