घारका टिकाबहादुर खड्का –जसले मुक्तिमार्ग माविको भनव बनाउन लाखौ सहयोग गरे
- २५ पुष २०७४, मंगलवार
- सन्तोष गौतम
- 1599 पटक पढिएको
म्याग्दी, २५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारका एक परिवारले सामुदायीक विद्यालयको पूर्वाधार निर्माणमा लाखौ सहयोग गर्नुभएको छ ।
मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टिकाबहादुर खड्का र उहाँका छोरा देबबहादुर खड्काको परिवारले तिस लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र भवन निर्माणमा पन्ध्र लाख नौ हजार रुपैया सहयोग गरिसक्नु भएका खड्का परिवारको सहयोगमा थप दुई कोठे कक्षा कोठा निर्माण गर्न लागिएको वडा सदस्य रामबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँहरुले भवन निर्माणका लागि ११ लाख २४ हजार रुपैयामा तिन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा भवन बनाउन घडेरी सम्माउन एक लाख ३५ हजार रुपैया सहयोग गरेका खड्का परिवारले सरकारी अनुदान अपुग भएपछि तिन लाख पचास हजार रुपैया उपलब्ध गराउनुभएको छ ।
टिकाबहादुर भारतीय सैनीकका सेवानिवृत भुपु हुनुहुन्छ भने देबबहादुर पर्यटन ब्यवसाय गर्नुहुन्छ । जिल्ला शिक्षा कार्यालय, स्थानीयबासी, विभिन्न संघ संस्थाको एक करोड १५ लाख रुपैयामा निर्माण भएको दुई तले आठ कोठे भवन माथी खड्का परिवारको सहयोगमा थप दुई कोठे ट्रस कोठा निर्माण गर्न लागिएको हो । ग्रामिण क्षेत्रका बालबालीकाको शिक्षामा पहुँच वृद्धी र गुणस्तर सुधारका लागि सहयोग पुगोस भनेर सहयोग गरेको खड्काले बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालयले आठ कोठे भवन निर्माणका लागि साठी लाख रुपैया उपलब्ध गराएको थियो । जग्गा खरिद सहित भवन निर्माणका लागि एक करोड १५ लाख रुपैया खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष गोकुलप्रसाद बरुवालले बताउनुभयो ।विद्यालयका पूर्व विद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले १६ लाख ७७ हजार ५५० रुपैया सहयोग गरेको छ । साविक घार गाविसले पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट चार लाख र मोना बेल्जीयमबाट ७५ हजार रुपैया सहयोग गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको ४५ हजार रुपैया स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहनुभएका दधीलाल खड्काले ५१ हजार र बेल्जीयममा रहेका नारायण खड्काले ४५ हजार रुपैया सहयोग गर्नुभएको छ ।
वि.स २०७२ बैशाख १२ र २९ गतेको भुकम्पका कारण विद्यालयको पुरानो भवन जिर्ण बनेको थियो । भुकम्प प्रतिरोधात्मक क्षमत्ताको नयाँ भवन अपाङ्ग मैत्री छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
नयाँ र सुबिधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । सरकारी निकायको अनुदान पर्याप्त नभएको अवस्थामा स्थानीय स्तरबाट थप आर्थिक स्रोत जुटाई कक्षा कोठा निर्माण गर्न उदाहरणीय काम भएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।