ह्विलचियरबाट संसद छिर्ने सपना

  • १८ मंसिर २०७४, सोमबार
  • सन्तोष गौतम
  • 1337 पटक पढिएको

 

पर्वत,१८ मंसिर । पर्वतको पैयुँ गाउँपालीका १ टकलाकका एक अपाङ्ग ह्विलचियरबाट प्रदेशसभाको संसद छिर्ने सपना बोकेर चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)बाट ४ नम्बर प्रदेशको समानुपातीक तर्फका उमेद्वार पर्वतको टकलाकका ४८ वर्षिय न्यौपाने कम्मरमुनीको भाग नचल्ने भएकाले ह्विलचियरमा बसेर चुनाव प्रचार गरिरहनुभएको छ ।

पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै न्यौपाने ह्विलचियरकै भरमा हिडडुल गर्दै आउनुभएको छ । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिनुहुन्छ ।

न्यौपानेलाई आगामी बुधबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी हुनुहुन्छ ।

सहयोगीको साथमा ह्विलचियरमा बसेर पर्वतका सहरी क्षेत्र र गाउँबस्तीका साथै म्याग्दीको बेनीमा समेत चुनाव प्रचारका लागि आउनुभएका न्यौपाने वि.स २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट पर्वतको जिविस सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सदरमुकाम कुश्मादेखि १६ कोस टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका न्यौपाने हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिनुहुन्छ । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उहाँ ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थाल्नुभएको हो ।

प्रदेश संसदमा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने न्यौपानेको अठोट छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भन्नुभयो, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दुख लागेको बताउनुहुन्छ । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ,’ न्यौपानेले भन्नुभयो ।

 

 

सन्तोष गौतम