बेनी अस्पतालमै शल्यक्रिया गर्नेको संख्या बढ्यो

  • ३० आश्विन २०७४, सोमबार
  • 2071 पटक पढिएको

म्याग्दी, २९ असोज । अझैपनि देशका अधिकाँश जिल्ला अस्पताल ‘रिफर अस्पताल’ जस्तै छन् । प्रविधि र जनशक्तिको अभावमा जिल्ला अस्पतालहरुमा शल्यक्रिया सेवा सपना जस्तै लाग्छ । तर, म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको पछिल्लो तीनबर्ष यताको तथ्यांकलाई हेर्ने हो भने यसमा क्रान्ति नै भएको छ ।

प्रविधि, जनशक्ति र कुशल नेतृत्वले यो संभव भएको हो । शल्यक्रियासँगै अस्पतालले अन्य सुविधामा प्रभावकारी र निर्णायक काम गरेको भन्दै २५ शैथ्याको अस्पताललाई ५० शैथ्यामा स्तरबृद्धि गरिएको छ । सेवा प्रवाह, सेवाग्राहीको सँख्या र चुस्त व्यवस्थापनकै कारण गत बेनी अस्पताल देशकै उत्कृष्ट जिल्ला अस्पताल बनिसकेको छ । तीनबर्षभित्र अस्पतालले १ सय ७४ जनाको सफल अप्रेसन गरिएको अस्पतालका क्लिीनिकल कोअर्डिनेटर डा. धिरेन्द्रकुमार मल्लले बताए ।

उनका अनुसार, हर्निया ६५ एपेन्डीसाईटिसको ३५, हाईड्रोसिल ६२, र पाठेघरभन्दा बाहिर बच्चा बसेको ६ वटाको सफलतापूर्वक शल्यक्रिया भएको छ । अहिले पनि मासिक रुपमा ६० देखि ७० ओटासम्म हाडजोर्नीसम्बन्धी अपे्रशन गर्ने गरिएको छ भने हजारौंको सामान्य शल्यक्रिया हुने गरेको छ । ५० शैथ्याका लागि अहिले दीर्घकालीन गुरुयोजना अन्र्तगत सरकारकै लगानीमा सुविधासम्पन्न भवन निर्माण हुने क्रम जारी छ । पुरानो संरचना भत्किने भएपछि अस्थायी टहरा र माथिल्लो चौरमा सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरिएको छ ।

‘केहि समयलाई सेवाग्राहीलाई समस्या भएको हो । यसको जतिसके छिटो पूर्णता दिनेछौँ’, अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मीले भने, ‘सेवाप्रवाहलाई कुनै पनि हालतमा प्रभाव पर्दैन, यसमा हामी पूर्ण सचेत छौँ ।’ अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. रोशन न्यौपानेले गत आर्थिक वर्षमा नयाँ हेल्थपोष्ट निर्माणका लागि ७ ओटा भवन उपलब्ध भएको बताए ।

उनले पुलाचौर, मल्कबाङ, घार, हिस्तान, ओखरबोट, कुहुँ र चिमखोलामा भवन परेको जानकारी दिए । यसैगरी राम्चे, पिप्ले, विम, बराङ्जा, देवीस्थान, भगवतीलगायत गरी विभिन्न ८ ओटा स्वास्थ्यचौकीको निर्माणकार्य ८० प्रतिशत काम सम्पन्न भैसकेको उनले बताए । अन्य ठाउँमा पनि भवन निर्माणका लागि तयारी गरिएको छ भने नयाँ भवन पार्नलाई पहल जारी राखिएको डा. न्यौपाने बताउँछन् ।

त्यस्तै म्याग्दी जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको र सरकारले दिएको एक वर्षमा ५ प्रतिशत पु¥याउनुपर्ने लक्ष्य म्याग्दीमा पुरा भएको उनले बताए । त्यसैगरी अबदेखि हात्तीपाईले रोगविरुद्धको आम औषधी खानुनपर्ने भएको डा. न्यौपानेको भनाई छ ।

प्रि ट्रान्समिसन एसेसमेन्ट सर्भे (टिएस)मार्फत हात्तीपाईलेका बिरामी नभेटिएको र सबैले कार्यक्रममार्फत औषधी सेवन गरेको हुँदा अब टासमार्फत अर्को चरणको सर्भे गरी वर्षवर्षमा रगत परीक्षण गरिने बताइएको छ ।  बेनी अस्पतालले स्थानीय आवश्यकताको आधारमा हाईड्रोसिल, परिवार नियोजनलगायत विभिन्न हेल्थ क्याम्पहरु सञ्चालन गर्दै आइरहेको छ । नियमित रुपमा सेवा प्रवाह गरिरहेको अस्पतालले आगामी योजनाका रुपमा डेन्टलको एक्सरे मेशिन ल्याउने भएको छ ।