खबरामा मामा घर आएका नातीले गरे हजुरआमाको हत्या

  • २२ भाद्र २०८३, सोमबार
  • 3 पटक पढिएको

 

म्याग्दी, २२ भदौ ।
म्याग्दीको बेनी नगरपालिका–२ खबरा दारिमबोटमा ७४ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा स्थानीय मनकुमारी घिमिरे रहेकी छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी छोरीका छोरा अर्थात् नाती अन्नपूर्ण गाउँपालिका–६ घाराका २६ वर्षीय आशिष भनिने प्रशिद्ध बरुवाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बरुवालले सोमबार हजुरआमा घिमिरेमाथि धारिलो हतियार प्रहार गरेका थिए ।

हतियार प्रहारबाट घिमिरेको घटनास्थलम मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली खबरा दारिमबोट पुगेको थियो । घटना लगत्तै बरुवाल त्यहाँबाट भागेका थिए । प्रहरीले उनको खोजी गर्ने क्रममा बेनी बजार नजिकै हाँडेभिरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटना घटाएर भागेका बरुवाललाई प्रहरीले एक घण्टाभित्रमै नियन्त्रणमा लिएको थियो ।
घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार हजुरआमामाथि धारिलो हतियार प्रहार गरी भाग्दै गरेका बरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका बरुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो । मृतक घिमिरेको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । शव परीक्षणको रिपोर्ट तथा घटनाको थप अनुसन्धानपछि मृत्युको प्रकृति र घटनासम्बन्धी थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरुवाल केही समयअघि अमेरिका गएर फर्किएका थिए । उनी अमेरिकामा रहँदा आफैले काम गर्ने रेष्टुरेन्टमा आगजनी गरेको कसुरमा तीन बर्ष कैद सजाय भुक्तान गरेर डिपोर्ट भएको भेटिएको प्रहरीले जनाएको छ । उनी जनैपूर्णिमाका दिन खबरास्थित मामाघर आएका थिए । मामाघरमा रहेका बेला सामान्य घरायसी विवादमा बरुवालले हजुरआमामाथि नै धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसंधानमा खुलेका प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिनुभयो । प्रहरीले घटनामा प्रयोग भएको भनिएको धारिलो हतियारलगायतका विषयमा समेत अनुसन्धान अघि बढाएको छ ।
घटनापछि खबरा क्षेत्रमा त्रास र शोकको वातावरण बनेको छ । वृद्धा घिमिरेको हत्या आफ्नै नातीबाट भएको आरोप लागेपछि स्थानीयवासीसमेत स्तब्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका बरुवाललाई सार्वजनिक गरेको छ ।