रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित

  • १६ श्रावण २०८३, शनिबार
  • 3 पटक पढिएको

बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित भएका छन् । रास्वपाको प्रथम जिल्ला अधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा रायमाझी ९३ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्थी पुनम शर्माले ८२ मत पाएका थिए ।

२ सय २७ जिल्ला प्रतिनिधिमध्ये शनिबारको मतदानमा १ सय ८० जनाले मत खसेका थिए । चार वर्षअघि गठन भएको तदर्थ समितिको उपसभापति माझी र हालै पार्टीमा प्रवेश गरेका शर्माबीच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो । उपसभापतिमा खिमानन्द पौडेल विजयी भए । पौडेलले १ सय र प्रतिस्पर्धी देवु बुढाथोकी ७५ मत पाए । सचिव पदमा लिलबहादुर खत्री १ सय १२ मत ल्याएर विजयी भए भने प्रत्यासी प्रकाश रिजालले ६५ मत पाए ।

सहसचिवमा हेमलाल उपाध्याय ८८ मत ल्याएर विजयी भए भने कमलप्रसाद खरेलले ८५ मत मात्र पाएका थिए । क्षेत्र नं १ संयोजकमा रामप्रसाद अधिकारी १ सय ९ मत पाएर विजयी भएका छन् । क्षेत्र नं २ को संयोजकमा हिमाल खत्रीले ९७ मत ल्याएर विजयी भए । सदस्यहरु भने यसअघि नै छनोट भैसकेका थिए । गत जेठमा गलकोटमा भएको अधिवेशनमा पुनम शर्माको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी घोषणा गरिएको थियो । सहमतिको नाउँमा घोषणा गरिएको भनिए पनि त्यसविरुद्ध केन्द्रमा उजुरी परेपछि पुनः अधिवेशन घोषणा भएअनुसार शनिवार पदाधिकारीका लागि मतदान भएको हो ।