लुलाङमा चट्याङ्गले लघुजलविद्युतको उपकरणमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध
- ३२ असार २०८३, बिहीबार
- 1 पटक पढिएको
म्याग्दी, ३२ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा चट्याङ्गले क्षति पु¥याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब ४ सय घर विद्युत सुविधाबाट वञ्चित भएका छन् ।

चट्याङ्गले विद्युतगृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाईएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दाले विद्युत सुविधा उपभोग गर्दैै आएका थिए ।
५० किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनामा प्राकृतिक प्रकोप र चट्याङ्गको कारण स्थानीयले हरेक बर्ष सास्ती व्यहोर्दै आएका छन् । विद्युत अभावमा रातको समयमा सिंगो वडा अन्धकार बनेको छ भने विद्यार्थीहरूलाई पठनपाठन, घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ ।
मोवाइल लगायतका विद्युतिय सामाग्रीको चार्ज गर्ने प्रवन्ध नहुँदा यहाँ सञ्चार सेवा समेत प्रभावित बनेको छ । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रसारण लाइनको विद्युत सुविधा पुगको भएपनि स्थानीयबासीको घरमा मिटरबक्स जडान र वायरीङ नहुँदा अहिलेसम्म केन्द्रिय विद्युतिकरण प्रयोगमा आएको छैन् ।