म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा

  • २८ असार २०८३, आईतवार
  • 3 पटक पढिएको

twitter sharing button

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले रोजगारी, अध्ययन, पेसा तथा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गरिरहेका म्याग्दीवासीलाई उनीहरूकै बसोबासस्थलमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । “जिल्लाबाहिर पहिलो पटक घुम्ती शिविर सञ्चालन गरेर सेवा दिएका छौँ”, उनले भने, “स्थानीय तहसँग समन्वय गरी वडा तहसम्म पुगेर राष्ट्रिय परिचयपत्र, राहदानी वितरण र मतदाता नामावली दर्तालगायतका सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछौँ ।”

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहका पञ्जीकरण शाखाका कर्मचारीको टोलीले सेवा प्रदान गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन तथा पूर्वअध्यक्ष डमबहादुर पुनले घुम्ती शिविरले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई सेवा लिन जिल्ला सदरमुकाम बेनीसम्म आउनुपर्ने बाध्यता हटाउँदै समय र खर्च दुवै बचत भएको बताए ।
शिविरमा विसं २०७७ कात्तिक २४ गतेदेखि २०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइ हालसम्म परिचयपत्र नलिएका तथा म्याग्दी स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिएको थियो ।जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराए पनि हालसम्म लिन नआएका १० हजारभन्दा बढी परिचयपत्र वितरणलाई तीव्रता दिन तथा प्रशासनिक सेवा नागरिकको पहुँचमै पुर्याउने उद्देश्यले यस्ता घुम्ती शिविर सञ्चालन गर्न थालिएको हो ।