घुम्ती गोठको पशुपालन व्यावसायिकता नहुँदा ‘गोठ राख्ने’ परम्परामै सिमित
- ७ बैशाख २०८२, आईतवार
- कमल खत्री
- 1 पटक पढिएको
म्याग्दी , ५ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका – ३ मुनाका ७१ बर्षका खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रुपमा गाई पालन गर्दै आउनुभएका पुनको गोठमा १९ वटा गाई छन् । हिउँदमा बेशीँ र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रुपमा गर्दै आएको पशुपालन गर्ने पेसालाई पुनले निरन्तरता दिनुभएको छ ।
परिवारको गुजारा खेतीकिसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको पुनले बताउनुभयो । ‘‘ गोठमा गाइभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैप¥र्यो, पशुचौपाया विक्रि गरेर हुने आम्दानी नगन्य हुन्छ, ३÷४ बर्ष पालेपछि मात्रै बर गोरु विक्रि हुन्छन्’’– पुनले भन्नुभयो । भैँसी र बाख्रापालन गर्ने कृषकहरुले भने गाइपालन गर्नेहरुको तुलनामा बढी नगद आम्दानी गर्छन् ।
लेकाली क्षेत्रमा पालन गरिने भैँसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैँसी र खसीबोकाको माग धेरै छ । यहाँका किसानले कोदो, मकै, जौ, गुहँु लगायतका खाद्यबालीको खेती गर्ने भएकाले खेतवारीलाई मलिलो बनाउनका लागी पशुपालन अनिबार्य जस्तै हुने गरेको छ । पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वन जङ्गल, लेक–बेशीँको उकाली ओरालीको दुःख र बर्षा, हिमपात, हावाहुरीसंगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ ।
मुनाकै ८० बर्षिय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ । आफ्नो बाबा आमाले गर्दै आएको भेडाबाख्रा पालन गर्ने कामलाई निरन्तरता दिनुभएका उहाँले आफ्नो ६ छोरी र ४ छोरा सहितको परिवारको हुकाई बढाइको जोहो गोठबाटै गरेको बताउनुभयो । ‘‘म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्रै पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेशीँमा भने गोठमै दिन कटाउँछु’’– उहाँले भन्नुभयो ।
पहिले हरेक जसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहल पहल हुने भएपनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरुको संख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसान जस्तै हुने गरेको उहाँले अनुभूति सुनाउनुभयो । पशुचौपायाको सख्ंया घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन् । मुनामा अहिले पनि करिब १ सय घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।
दुई दशक अघिसम्म गाउँका सबै घरधुरी घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रा पालन गर्ने पेसामा आबद्ध थिए । परम्परागत पशुपालन व्यवसायिक बन्न नसकेपछि युवाहरुको विदेश पालन हुन थालेको छ भने घुम्ती गोठको परम्परालाई गाउँका बुढापाकाहरुले मात्रै धानेका छन् । हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन् । पौढ र बृद्धबृद्धा अवस्थाका पाका पुस्ता मात्रै घुम्ती गोठमा भेटिन्छन् ।
खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक कृषक हर्कबहादुर रोकाले बताउनुभयो । घुम्ती गोठमा गरिने पशुपालन व्यवसायिक नबनेपनि खेतीको लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि पनि गोठ राख्ने चलनले निरन्तरता पाएको उहाँको भनाई छ ।
‘‘पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बिचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरी आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अंगालेको छु’’– रोकाले भन्नुभयो । पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ । स्थानीयले गाई भैँसी र बाख्रा पालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन् ।
हिउँदयाममा बेशीँको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ । जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेशीँतर्फ झार्ने गरिन्छ । हिउँदेबाली जौ, गहुँ लगायतको बाली भित्र्याएपछि वैशाखको सुरुवातदेखि घुम्तीगोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ। यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पु¥याउने गर्छन् ।
यस क्षेत्रमा पशुपालन गर्नेको संख्या घटेपनि घुम्तीगोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडा अध्यक्ष देबेन्द्र रोकाले बताउनुभयो । ‘‘ युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रमहरु ल्याउन सुरुवात गरेका छौँ, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो’’– वडा अध्यक्ष रोकाले भन्नुभयो ।
चालु आर्थिक बर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि कृषकहरुबाट माग संकलन गरिरहेको छ । म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ । यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l