कक्षा ८ को परीक्षामा बेनी नगरपालिकाभित्रका दुई विद्यालयको नतिजा शुन्य

  • २९ चैत्र २०८१, शनिबार
  • कमल खत्री
  • 3016 पटक पढिएको

म्याग्दी, ३० चैत । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शुन्य भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक २४, संस्थागत ८ र उज्यालो बैकल्पिक विद्यालय समेत गरी ३३ वटा विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकोमध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उर्तिण हुन नसकेका हुन् ।
नतिजामा बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरको भानु माध्यमिक विद्यालय र वडा नम्बर ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको नगरपालिकाका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले बताउनुभयो । उहाँले नगरपालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गत बर्षको तुलनामा नजिता सुधार देखिएपनि दुई विद्यालयको नतिजा शुन्य भएको जानकारी दिनुभयो ।

भानु माविबाट ११ जना विद्यार्थीले परीक्षामा सहभागी भएकोमा १ जना मात्रै मौका परीक्षामा सहभागी हुनेछन भने १० जना अनुत्तीर्ण भएका छन् । त्यसैगरि बालप्रिय शारदा विद्यालयबाट सहभागी सात जनामध्ये चार जनाले मौका परीक्षामा सहभागी हुनेछन भने तीन जना अनुत्र्तीण भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका एउटै प्रश्नपत्र तयार गरिएको थियो भने फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तीका कोडिङ गरेर परीक्षण गरिएको थियो । परीक्षामा एक संस्थागत र नौ वटा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ ।

परीक्षामा सहभागी आठ सय ८४ विद्यार्थी मध्य ६ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तिर्ण भएको शिक्षा शाखाले जानकारी दिएको छ । शाखाका अनुसार बढीमा दुई बिषयमा अनुत्तीण भएका विद्यार्थीहरुका लागि सञ्चालन हुने ग्रेड वृद्धिको परीक्षामा एकसय ७३ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा गणितमा ३६१ जना, अँग्रेजीमा १६३ जना, नेपालीमा १३९ जना, विज्ञानमा २२४ जना र सामाजिकमा १६३ जना अनुत्र्तीण भएका छन् ।

गत बर्ष नगरपालीकाले कक्षा ८ को परीक्षामा अनुत्र्तीण भएका मध्ये पाँच विषयमा पाँच/पाँच अङ्क र दुई बिषयमा २/२ अङ्क ग्रेसमार्क दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस बर्ष नतिजा सुधार भएर ग्रेसमार्क नदिँदा समेत ७२.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा सुधार भएपनि शुन्य नतिजा र पचास प्रतिशत विद्यार्थी समेत उत्तीर्ण नहुने विद्यालयहरुको शैक्षिक अवस्थाले गम्भिर बनाएको नगरपालिकाको शिक्षा उपसचिब क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । उहाँले कमजोर शैक्षिक अवस्था भएका विद्यालयहरुको गुणस्तर सुधार गर्नका लागि नगरपालिकाको नेतृत्वसंगै स्थानीय सरोकारवाला र विद्यालयसंग सम्बन्धित पक्षबिचमा छलफल र अन्तक्रिया गरि शैक्षिक गुणस्तर सुधारको कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l