बाँसखर्कमा सुन्तला महोत्सव, सडक स्तरोन्नति गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता ( तस्बिर/ भिडियाे)
- ११ माघ २०८१, शुक्रबार
- 213 पटक पढिएको
बाँसखर्क, ११ माघ । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । एक दिने महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो ।
बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं.–१ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो ।
महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । अतिथिहरुलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाई गरिएको थियो । आमा समूहले सुन्तला खेती सम्बन्धी भजन र गित प्रस्तुत गरेका थिए ।
पाखाभरी लटरम्म फलेका सुन्तला पाकेर पहेलपुर बनेको बाँसखर्कमा भएको सुन्तला महोत्सवले कृषि पर्यटन प्रर्वद्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
महोत्सवमा सहभागि हुन आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम बिष्ट र कृषि सचिव वासुदेव रेग्मीसँग सडक, सिचाई, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधीहरुले ध्यानाकर्षण गराउनुभयो ।
‘सिचाईको समस्याले सुन्तला खेती विस्तार, पहिरोका कारण सुन्तला फार्म सहित बस्ति जोखिममा परेको र कच्चि सडकबाट बाँसखर्कको सुन्तला ढुवानी गर्दा थिच्चिएर नष्ट हुने समस्याको बारेमा राज्यको माथिल्लो निकायमा रहेका पदाधीकारीहरुलाई प्रत्यक्ष ल्याएर देखाएका छौ,’ गाउँपालिकाका अध्यक्ष आचार्यले भन्नुभयो ‘विद्युतको समस्याले आठ वर्षअघि निर्माण भएको चिस्यानगृह सञ्चालन गर्न नसकिएको विषयमा पनि महोत्सवमा सहभागि हुन आएका अतिथिहरुको ध्यानाकर्षण गराएका छौ ।’
बेनी देखि बाँसखर्क जोड्ने छोटो दुरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागेपनि आठ वर्षसम्म काम नभएको र योजनानै हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । घरघरमा धारा निर्माण र मिटर जडान भएपनि खानेपानी वितरण हुन नसकेको समस्याका बारेमा जानकारी गराउनुभयो ।
मल्लाज सिचाई आयोजनामा नियमित पानी चलाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्नुपर्ने र बाँसखर्कको सुन्तला बगैचामा सिचाई गर्न पाइपलाईनको ब्यवस्था मिलाउन आग्रह गर्नुभयो । जलजलाका पुर्व अध्यक्ष यामबहादुर मल्लले बाँसखर्कमा सहज सडक यातायातको ब्यवस्था मिलाउन सकेमा सुन्तला खेतीबाट रोजगारी सिर्जना र बसाईसराई नयुनीकरण गर्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरुले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाई सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाउनुभयो । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरि सडक, सिचाई र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताउनुभयो ।
“सुन्तला ढुवानीका लागि तपाईहरुले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछौ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो “यो वर्षपनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले रु. ११ करोड बजेट बिनियोजन गरेको छ ।”
कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रर्वद्धनका लागि बाँसखर्क लगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकहरुलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताउनुभयो । पर्यटनमन्त्री बस्यालले बाँसखर्कलाई कृषि पर्यटनको गन्तब्य बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
समुन्द्रि सतहदेखि एक हजार एक सय देखि एक हजार नौ सय मिटर उचाईमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा कृषक समेत रहेका ज्योतीमण्डल माविका प्रअ मेखबहादुर खत्रीले जानकारी गराउनुभयो ।
उनका अनुसार एक जना कृषकले वार्षिक रु. चार लाख देखि ३५ लाख बराबरको सुन्तला बिक्री गर्छन् । बाँसखर्कका कृषिकले अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघ महिनादेखि सुन्तला टिप्न थालेका छन् । बाँसखर्कमा खेती हुने सुन्तलालाई रैथाने जात प्रमाणित गरिएको छ । जलजला गाउँपालिका वडा नं.–१ का पुर्व वडा सदस्य युवराज अर्मजाले महोत्सवको औपचारिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।