महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण (तस्बिर/भिडियाे)

  • ७ माघ २०८१, सोमबार
  • 1 पटक पढिएको

 

 

म्याग्दीको मालिका गाउँपालिका– २ रुमकी ८५ बर्षिया कुमारी घर्तिले तानमा अल्लोको कपडा बुनेको हेर्न आउनेहरुको भिडभाड हुने गर्छ । बेनीको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सवमा मालिका गाउँपालिकाले राखेको स्टल परिसरमा बृद्ध अवस्थामा पुग्नुभएकी घर्तिले तानमा अल्लोको धागोबाट कपडा बुन्ने सीपलाई समेत प्रत्यक्ष रुपमा देखाइएको छ ।
‘‘म गाउँमा पनि नियमित रुपमा अल्लोको धागोबाट कपडा बुन्ने गर्छु, नयाँ पुस्ताले पुरानो र परम्परागत सीपबाट कपडा बुन्न छाडिसकेका छन, मेला हेर्न आउनेलाई तानबाट कपडा बुन्ने सीप देखाउँन म आएको हुँ’’– घर्तिले भन्नुभयो । मालिका गाउँपालिकाले आफ्नो पालिकामा उत्पादन भएका कोदो, फापरको पिठो, मकै, सुन्तलालगायतका कृषि उपज, रेन्बो ट्राउट माछा, लघुउद्यमीले तयार गरेका कपडा, हाते कागज लगायतलाई महोत्सव स्थलमा विक्रि तथा पदर्शनीका लागि राखेको छ ।
स्टल सञ्चालक उद्यमी दिपा कुमारी रोकाले गाउँमा आफुहरुले सञ्चालन गरेको लघुउद्यमबाट उत्पादन भएका सामाग्रीहरुको बजारीकरण र प्रचार प्रसारमा महोत्सवले सहयोग पुगेको बताउनुभयो ।‘‘ स्थानीय उत्पादनका सामाग्रीहरु अवलोकनका लागि आउनेको भिडभाड हुने गरेको छ, कतिपयले सामाग्री खरिद गरेर पनि लैजानुहुन्छ, महोत्सवले हाम्रो सीप र उत्पादनलाई ठूलो बजारसंग जोड्न सहयोग पुगेको अनूभुति गरेका छौँ’’– रोकाले भन्नुभयो ।
महोत्सवमा जिल्लाका ६ वटै स्थानीय तहहरुले आफ्नो पालिकामा उत्पादन हुने कृषि उपज तथा लघुउद्यमका सामाग्रीलाई प्रदर्शनी र विक्रि वितरणको लागि निशुल्क स्टल राखिएको छ । धवलागिरि गाउँपालिकाले आफ्नो पालिकाभित्रका ७ वटै वडाका उत्पादनहरुलाई प्रदर्शनी र विक्रिका लागि राखेको छ । स्थानीय उत्पादनका स्टलहरुमा जिल्लाभित्र उत्पादन हुने कृषि उपज र लघुउद्यमीहरुले तयार पारेका सामाग्रीहरु राखिएका छन् ।
धवलागिरीले मुदीबाट यार्सागुम्बा, गुर्जाबाट रातोच्याउ, भिरमह, लुलाङबाट स्लेट ढुंगा, मुनाबाट भांगो, मकैको आठो र पिठो, ताकमबाट चामल, सुन्तला, मराङबाट सिमि र मल्कबाङबाट दाल र धजरा लगायतका बस्तु तथा सामाग्रीलाई स्टलमा राखेको छ । धवलागिरी गाउँपालिकाबाट स्थानीय उत्पादन लिएर आउनुभएका अनिल भण्डारीले पहिले स्थानीय स्तरमा मात्रै खपत हुने उपजहरुलाई ठूलो बजारमा विक्रि गर्न र स्थानीय उत्पादनको महत्वबारे प्रचार प्रसार गर्न सघाउ पुगेको बताउनुभयो ।


‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित आठौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला आगामी माघ ८ गतेसम्म सञ्चालन हुने छ । विगतका बर्षहरुका महोत्सवमा बाहिरबाट आएका व्यवसायिहरुको सामाग्री खरिद विक्रि हुने प्रचलन रहेपनि यस पटकको महोत्सवले स्थानीय उत्पादनका सामाग्रीको विक्रि वितरणसंगै प्रचार प्रसारमा सहयोग पुगेको उद्यमीहरु बताउँछन् ।
अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि आफ्नो उत्पादनको विक्रि वितरण र पदर्शनीमा आफै जुट्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको स्थानीय उत्पादनको स्टलमा पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, कार्यपालिका सदस्य एवम लघुउद्यमी राममाया पुन आफै स्थानीय उत्पादनको बिक्री र व्यवस्थापनमा खटिनुभएको छ । स्टलमा चिज, सिमी, टिमुर, पिठो, मह, भटमास, सिस्नोको धुलो, सुकुटी, आचार, सतुवा, तितेपातीको सावुन, हातेकागजका डायरी, कपडालगायत राखिएको छ ।
महोत्सवमा आउने दर्शकहरुले स्टलहरुको अवलोकन गर्ने र आबश्यक सामाग्री खरिद गरेर समेत लैजाने गरेको उद्यमी राममाया पुनले जानकारी दिनुभयो । गाउँ गाउँमा उत्पादन भएका स्थानीय उत्पादनको बजारीकरण गर्न र प्रचार प्रसार गर्न महोत्सवले टेवा पु¥याएको उहाँको भनाई छ । बेनी नगरपालिकाले सञ्चालन गरेको स्टलमा १० वटै वडाका महिला लघुउद्यमीहरुले उत्पादन गरेका कृषि उपज, लत्ताकपडा, चप्पल, धुप, मल लगायतका बस्तु तथा सामाग्री राखिएको छ ।
स्टलहरुमा अवलोकनकर्ताको सख्ंया धेरै रहेको र कारोवार समेत सन्तोषजनक रहेको उद्यमी मिना राम्जालीले जानकारी दिनुभयो । महोत्सवमा जिल्लाको मंगला र रघुगंगा गाउँपालिकाले समेत महोत्सवमा आफ्नो उत्पादनको स्टल राखेका छन् । स्थानीय तहका साथै अन्य उद्यमी र संघ संस्थाहरुले समेत महोत्सवमा जिल्लाका उत्पादनलाई प्राथमिकताका साथ विक्रि वितरण र प्रदर्शनीमा राखेका छन् । मानसिक रोग भएका व्यक्तिहरुका संरक्षकहरुले सञ्चालन गरेको संरक्षक कोसेली घरले समेत महोत्सवमा जिल्लामा उत्पादित भाँगो, भट्ट, गुन्द्रुक, धजरा, सिमी, केराको पाउडर, लप्सीको अचार, अनदीको चामल लगायतका उपजहरुलाई विक्रि तथा प्रदर्शनीमा राखेका उद्यमी निसा महतले बताउनुभयो ।
यसपटकको महोत्सवमा सबै प्रकारको व्यापारमा स्थानीयलाई पहिलो प्राथमिकता दिइएको छ । महोत्सवमा म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी, लघु तथा घरेलु उद्योगका सामानहरु बिक्री, वितरण गर्नुका साथै प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । ‘‘ जिल्लामा रहेको उद्यमशिलतालाई महोत्सवमा उच्च प्राथमिकता दिएका छौँ, धेरै उद्यमीहरुले महोत्सवले सिर्जना गरेको अवसरलाई सदुपयोग गर्नुभएको छ, जिल्लामा उत्पादन हुने सामग्रीको विक्रि र प्रचारप्रसारमा उद्यमीलाई हौसला प्रदान गरेको पाएका छौँ’’– अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
महोत्सव स्थलमा राखिएका स्थानीय उत्पादनका सामाग्रीले जिल्लाको चिनारीलाई व्यापक गराएको छ । विगतका महोत्सवहरुमा लुकेर रहेका प्रतिभा, कला संस्कृतिको माध्ययमबाट पर्यटन प्रवद्र्धनको प्रयास हुँदै आएकोमा यस पटक कृषिजन्य उत्पादन र लघुउद्यमको माध्ययमबाट जिल्लाको पहिचान र चिनारी गराएको म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
जिल्लाको ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकलालगायत साना तथा मझौला उद्यमीहरुले निर्माण गरेका सामग्रीहरुको बिक्री तथा प्रदर्शनीका साथै उचित पुरस्कारको समेत व्यवस्था गरिएको संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा करिब दशकरोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।