संस्कृतिको अन्तरपुस्ता हस्तान्तरण गर्न संगीत प्रशिक्षण (तस्बिर/भिडियाे )

  • ३१ बैशाख २०८१, सोमबार
  • 489 पटक पढिएको

म्याग्दी , ३१ वैशाख । म्याग्दीमा पुराना संस्कृतिको अन्तरपुस्ता हस्तान्तरणको लागि संगीत प्रशिक्षण गरिएको छ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको लागि सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाको सहयोगमा श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रले १० दिने संगीत प्रशिक्षण दिएको हो ।


नेपाली मौलिक बाध्यबाधनका सामाग्रीहरु बजाउने सिप हराएर जाने अवस्थामा पुगेपछि संगीत प्रशिक्षण दिएर नयाँ पुस्तालाई सिप हस्तान्तरण गरिएको श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । वैशाख २१ देखि ३० गतेसम्म सञ्चालन भएको संगीत तालिममा २० जना युवायुवती र १२ जना पौढहरुले सहभागीता जनाएका थिए ।
तालिममा सारङ्गी, मादल, हार्मोनियम, तबेला लगायतका बाध्यबाधन बजाउन व्यवहारिक अभ्यास सहितको प्रशिक्षण दिईएको केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । तालिम अवधिभर शक्ति छिनालले सारङ्गी, चन्द्रप्रसाद श्रेष्ठले तबला, प्रकाश कुमार श्रेष्ठले हार्मोनियम तथा बलराम शर्मा र पूर्णबहादुर जिसीले मादल बजाउने तालिम दिनुभएको थियो ।
तालिममा सहभागीहरुले सिकेका बाध्यबाधन बजाउने सिप सम्बन्धी आइतवार समूहगत प्रस्तुती राखेर प्रशिक्षणलाई समापन गरिएको छ । सो अवसरमा तालिममा सहभागी विभिन्न ४ समूहले बाध्यबाधन सहित भजनकिर्तन प्रस्तुती राखेका थिए ।

 

कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले परम्परागत लोक संगीत र संस्कृतिको जगेर्ना गर्नका लागि ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आबश्यक रहेको बताउनुभयो ।
‘‘ अहिलेका पुस्ता प्रविधिजंग जोडिएका छन्, उनीहरुलाई आफ्नो मौलिक कला, संस्कृतिबारे जानकारी नै नहुने समस्या बढी छ, कम्तीमा मौलिक संस्कृतिहरुको बारेमा जानकार हुने र कला सम्बन्धी क्षमता विकास गराउन सकियो भने नेपालीपनलाई जोगाइराख्न सकिन्छ’’– उहाँले भन्नुभयो । संगीत प्रशिक्षण सञ्चालन गर्न सामाजिक विकास कार्यालयले रु ६० हजार र बेनी नगरपालिकाले रु १० हजार सहयोग गरेको श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्दका सचिब पूर्णबहादुर जिसीले जानकारी दिनुभयो ।
प्रशिक्षण समापन समारोहमा सामाजिक विकास कार्यालय, म्याग्दीका प्रमुख रमेश थापाले ज्येष्ठ नागरिकमा रहेका संगीत सिप, ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै मौलिक संगीत र संस्कृतिको संरक्षणमा कार्यक्रमले रचनात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान, सिप हस्तान्तरण हुन नसके नेपाली मौलिक कला, संस्कृति र परम्परा हराएर जाने बताउँदै कार्यालयले विभिन्न क्षेत्र, समुदाय र जातजातिका कला, संस्कृति , भेषभुषा र परम्पराको जगेर्ना गर्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा चुड्का भजन समूहका अध्यक्ष नेत्रबहादुर महतले आनुनिकता र पश्चिमा संस्कृतिको प्रभाबको कारण बाध्यबाधन बजाउने व्यक्तिहरु पाउन मुस्किुल हुँदै गएको बताउँदै नेपाली मौलिक कला, संस्कृतिको संरक्षणमा संगीत प्रशिक्षणले सघाउने विश्वास व्यत्तः गर्नुभयो । उहाँले भजनकिर्तन लगायतका धार्मिक कार्यहरुमा मादल लगायतका बाध्यबाधन बजाउने मान्छे भेटिन नै मुस्किुल पर्ने गरेको बताउँदै नयाँ पुस्ताले नेपाली बाध्यबाधन बजाउन सिप सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।