संरक्षकहरुका लागि आयआर्जनमा सहयोग
- २६ चैत्र २०८०, सोमबार
- 789 पटक पढिएको
मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन आयआर्जन मुलक सामाग्री तथा बाख्रा सहयोग गरिएको छ । लिड्स नेपालले भिसेन्टे फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन बाख्रा, अदुवाको बिउ, टनेल, खानेपानी ट्याङ्की र पाईप वितरण गरेको हो । बेनी नगरपालिका ४ डाँडाखेत र वडा नम्बर ६ छापमा रहेका २५ जना संरक्षकहरुको परिवारलाई प्रतिघर पाठी सहितको माउ बाख्रा सहयोग गरिएको छ । साथै, डांडाखेतमा २० महिला र ३ पुरूष संरक्षकहरूको लागि २ दिने ब्यबसायिक तालिम सम्पन्न गरेको छ। तालिम मोदि गांउपालिकाकी कृषि अधिकृत मनिषा गौतमले प्रदान गर्नु भएको थियो। संरक्षकहरूको दीगो आर्थिक श्रोतको प्रबन्ध र सहयोगबाट उनिहरूलाई गरिबिको चपेटाबाट मूक्त गर्ने उद्देष्य रहेको लिड्स नेपालका जिल्ला कार्यक्रम संयोजक निशा महतले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३० घरपरिवारलाई प्रतिघर १० किलोका दरले अदुवाको बिउ र १९ घरलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको छ । त्यसैगरि एक घरलाई २ हजार लिटरको खानेपानीको ट्याङ्की र छापमा ६०० मिटर लामो खानेपानीको पाईप समेत वितरण गरिएको जिल्ला संयोजक महतले बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, लिड्स नेपालका कार्यकारी निर्देशक डा. पदमराज श्रेष्ठ लगायतले उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । लिड्सले म्याग्दी कार्यक्षेत्र बनाएर मानसिक रोगका विरामीको उपचार तथा उनका संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । लिड्सले यस अघि म्याग्दीमा प्राकृतिक प्रकोपका कारण घर भत्किएकाहरुको आवास पुननिर्माण, संरक्षकहरुको आयआर्जन सुधारमा कुखुराका चल्ला वितरण, सिपमुलक तालिम प्रदान लगायतका काम गर्दै आएको छ ।