चिमखोलामा भूमे पूजाको रौनक (तस्बिर/भिडियो)
- ७ चैत्र २०८०, बुधबार
- 2421 पटक पढिएको
जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । तर यो मोसो कुनै कारबाही र दण्ड नभएर उत्सवमा दलिएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा मंगलवार स्थानीयले सयौँ बर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रुपमा भूमे पूजा गरेका छन् । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पुजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ । चिमखोलाको शिरमा रहेको मण्डली पुजासंगै सेवाङमा रहेको भूमेथानमा स्थानीयबासी, देश विदेशबाट आएका चिमखोलाबासीसंगै छिमेकी गाउँ–ठाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन् । चैत महिनाको उजेली मंगलवारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरेपनि चिमखोलाको भूमे पूजाको संस्कार र र संस्कृति अन्य ठाउँको भन्दा पृथक रहेको छ । यहाँको भूमे थानमा पूजा गरेपछि मोसो दलेर नाचगान गर्दै खुसीयाली मनाउने चलन रहेको चिमखोलाका स्थानीय गम पुनले बताउनुभयो । वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस भन्ने कामनाले भुमे पूजा गर्ने प्रचलन रहेको छ । भूमे थानमा पुन मगर पूजारीको रुपमा रहने गर्छन ।पुजारीहरुले भूमे पूजाको तीन दिन अघि नै सागरे छहरा थानमा पूजा गर्ने र सोही दिन बनाउने छ्याङलाई भूमे पूजामा मुख्य प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।
गाउँसभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको चिमखोलाकी स्थानीय चिनिमायाँ पुनले बताउनुभयो । छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथानमा विधिपूर्वक चढाएर खाने तथा भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गारसमेत एकअर्कालाई दलेर नाचगान गर्ने गरिएको उहाँको भनाई छ ।
‘‘ छेमाहरुलाई हरेक टोलका घरधुरीबाट कोदो, चामल र नगद समेत दिने गछौँ, हरेक टोलका छेमाहरुको टोलीले भूमे थान परिसरमा छुट्टाछुट्टै भान्सा चलाएर जाँडको छ्याङ छानेर खुवाउने गरिन्छ, बाजागाजा बजाएर नाचगान गरेर भूमे देवताको नाममा खुसीयाली मनाउने गरिन्छ’’–उहाँले भन्नुभयो ।
भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुलाहरु फन्को मारेर चुला उठाउने गरिन्छ भने भूमेथानबाट गाउँ फर्कने क्रममा भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ । यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक , समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मान सहित गाउँमा पु¥याउँने गर्छन् ।
भूमे पूजाको भोलिपल्ट गाउँमा साँस्कृतिक उत्सव हुने गर्छ । यस दिनमा छेमाहरुले टोपा नाच पदर्शन गर्छन भने सरमाजाले, जुरेचल्ला, दुलहा दुलहीको कलस जुधाउनेनाच संगै पुख्र्यौली र थाली नाच लगायतका मौलिक कला र संस्कृति देखाउने चलन रहेको चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाइजाले बताउनुभयो । ‘‘भूमे पूजालाई चिमखोलाको साँस्कृतिक चिनारीका रुपमा लिने गरिन्छ, पुर्खाले सुरु गरेको संस्कृतिलाई पुस्तान्तरणमा हामीले चासो दिँदै आएका छाँै, सयौँ बर्ष पुरानो संस्कृतिले जीवन्त राख्नुले पनि यसको महत्वलाई थप उजागर गर्छ’’–वडा अध्यक्ष पाइजाले भन्नुभयो ।
भूमेपुजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमा समेत विशेष पुजा गरिएको छ । भाकल र मनोकाँक्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल लगेर जाने भक्तजनहरु बढ्दै गएका छन् । यस बर्ष मण्डली थानमा करिब तीन सय र ताप्केभेरामा १० वटा पाठी चढाइएको छ । ‘‘अप्ठेरो र सफलतामा मण्डली र भुमे देवतलाई सम्झने गरिन्र्छँ, मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल दिएर पूजा गर्ने चलन छ,’ वडा अध्यक्ष पाइजाले भन्नुभयो । तस्बिर सुरेन गुरुङ, रिम पाईजा,सुमन मगर । भिडियाे स्यानु पाइजा