धौलागिरि आईसफल पदमार्गका मनमोहक तालहरु ओझेलमा (फोटो फिचर)
- २९ मंसिर २०७६, आईतवार
- 2967 पटक पढिएको
कमल खत्री
म्याग्दी २९ मङ्सिर । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक पदमार्गको रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्ग क्षेत्रका आधा दर्जनबढी सम्भावनायुक्त तालहरु ओझेलमा परेका छन् । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न पाउनु पस पदमार्गको प्रमुख बिशेषता रहेपनि यस पदमार्ग अन्र्तगत रहेका तालहरु पनि पर्यटकको थप आकर्षणको रुपमा रहेका छन् ।
यस पदमार्गले समेटीएको चिमखोला क्षेत्रमा पर्ने कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल पर्यटकीय सम्भानायुक्त रहेका छन् । उच्च हिमाली भेगमा रहेका यि तालहरुको रंग समेत फरक–फरक रहेका छन् । यहाँ रहेका तालमा पुग्न चिमखोलाबाट दुई दिनको पदयात्रा गर्नुपर्छ । पदमार्ग अन्र्तग्त सोवाङधुरी, लोस, गौराखर्क हुँदै लाटी वराह ताल पुग्न सकिन्छ भने चिमखोलाबाट छरी, फेदी हुँदै समेत यस तालमा पुग्न सकिन्छ । यस तालमा धौलागिरी र अन्नपूर्ण हिमालको छायाँ समेत देख्न सकिन्छ ।
पहाडको टुप्पोमा रहेको यस ताल र त्यहाँबाट देखि दृष्यले जो कसैको मन फुरुङ्ग हुने चिमखोलाका स्थानीय युवा प्रदिप पाईजाले बताउनुभयो । ‘‘यात्राको थकान प्राकृतिक सुन्दरताले मेटाईदिन्छ, यहाँ आईपुगेपछि ताल, हिमाल र अनौठो हिमाली भुगोललाई छाडेर कसैलाई फर्कन मन लाग्दैन’’–उनले भने । त्यस तालको छेउमा साना मन्दिर समेत निर्माण गरिएको छ र यसको छुट्टै बिशेषता र महत्व पनि छ । कसैका सन्तान बोल्न ढिला गरेमा उक्त मन्दिरमा पुजा गरेपछि उक्त समस्या टरेर जानेगरेको किम्बदन्ती रहेको छ ।
यस पदमार्ग अन्र्तगत धौलागिरि आइसफल नजिकै कालिबराह ताल रहेको छ । हिमालको फेदीमा रहेको यो तालकै नजिकै फरक फरक रंग भएका निली बराह, सेती बराह र पहेँलीबराह ताल समेत रहेका छन् । हरेक तालैपिच्छे देखिने फरक रंगले यहाँ पुगने पर्यटकहरुलाई आश्चर्यमा पार्ने गरेको छ । कालिबराह तालमा साउन महिनामा पर्ने ऋषितर्पणी पूर्णिमाको दिनमा बिशेष पुजा समेत हुँदै आएको छ ।
टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर’ टान, तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।
तस्बिर प्रदिप पाईजा/बिरन पुन