नौ मन्त्री बनाउन नेकपाका तीन नेताबीच भागबन्डा

  • ५ मंसिर २०७६, बिहीबार
  • 2084 पटक पढिएको

म्याग्दी, ५ मंसिर ।  नौ मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्दा थपेका नयाँ मन्त्री ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेताहरूबीच भागबण्डा भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको मुख्य भागबन्डा भएको छ भने केही अरू नेतानिकटले पनि भाग पाएका छन्।सबैभन्दा धेरै ओली निकट नेताहरू नयाँ मन्त्री भएर आएका छन्। प्रधानमन्त्री ओलीले आफूनिकट ३ लाई क्याबिनेट र २ जनालाई राज्यमन्त्री गरी ५ जनालाई मन्त्री बनाएका छन्।रघुवीर महासेठलाई हटाएर भौतिक योजना मन्त्री बनाएका बसन्त नेम्वाङ ओली र अर्का नेता सुवास नेम्वाङनिकट मानिन्छन्। उनलाई प्रधानमन्त्री ओलीले सुरूमै मन्त्री बनाउँछन् भन्ने चर्चा थियो।

महिला तथा बालबालिका मन्त्री थममाया थापालाई हटाएर नयाँ मन्त्री भएका पार्वत गुरूङ पनि ओली निकट हुन्। दोलखाबाट चुनाव जितेका उनी आफ्नो क्षेत्रमा निकै पकड बनाएका नेता हुन्। २०७४ को प्रतिनिधि सभा चुनावमा उनी केपी शर्मा ओलीपछि प्रतिष्पर्धीलाई धेरै मतान्तरले हराउने उम्मेदवार हुन्।  ५५ हजार मत पाएका गुरूङका प्रतिष्पर्धीले २५ हजारमात्र भोट पाएका थिए।  दोस्रो संविधानसभामा पनि उद्योग राज्यमन्त्री मोती दुगड पूर्वएमाले छिरेको पाँच वर्ष भयो। एमाले छिरेपछि केपी ओलीसँग नजिक भएका उनी समानुपातिक सांसद हुन्। तत्कालीन एमालेले पुरूषका लागि ४ जना समानुपातिक सांसद पाएको थियो। धेरै एमाले कार्यकर्तालाई उछिनेर मधेसी कोटाको पुरूष समानुपातिकमा मौका पाउने उनी भाग्यमानी हुन्।

स्वास्थ्य राज्यमन्त्री बनाइएका नवराज रावत पनि ओली निकट पूराना नेता मानिन्छन्। उनले सुर्खेत क्षेत्र नम्बर दुईमा पहिलो पटक चुनाव जितेका हुन्।  उनी पहिलो पटक सांसद बनेका हुन्।संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनाइएका हृदयेश त्रिपाठीको नेकपाको राजनीतिमा कुनै इतिहास छैन। उनी  तराई मधेस लोकतान्त्रिक पार्टीबाट पछिल्लो चुनावमा तत्कालीन एमालेको चिन्ह सूर्य लिएर उठेका थिए। जितेपछि उनी एमाले प्रवेश गरे। मधेसी नेताका रूपमा सधैँ चर्चा हुने उनलाई नेकपामा कुनै भूमिका दिइएको छैन। पार्टीमा भूमिका नभएका उनलाई प्रधानमन्त्री ओलीले आफ्नै पहलमा मन्त्री नियुक्त गरेका हुन्।

नयाँ मन्त्रीमध्ये प्रचण्डनिकट २ जना छन्। अघिल्लो मन्त्रिपरिषदबाट मातृका यादव र चक्रपाणि खनाललाई हटाएर प्रधानमन्त्री ओलीले प्रचण्डनिकट लेखराज भट्ट र रामेश्वर रायलाई मन्त्री बनाएका छन्।लेखराज भट्ट यसअघि पनि उद्योग मन्त्री थिए। सुदुरपश्चिमका प्रभावशाली माओवादी नेता मानिन्छन्। उनी संविधानसभा सदस्य पनि थिए। २ वर्षअघिमात्रै विजय गच्छदारको तत्कालीन पार्टी लोकतान्त्रिक फोरमबाट तत्कालीन माओवादीमा छिरेका रामेश्वर राय प्रचण्डनिकट भएकाले मन्त्री हुन सफल भएका हुन्।

ओलीले पाँच र प्रचण्डले  दुई जना मन्त्री बनाउँदा बरिष्ठ नेता माधवकुमार नेपालनिकट एकजना मात्रै मन्त्री बनेका छन्। कृषि मन्त्री बनेका घनश्याम भूषाल नेकपाका स्थायी समिति सदस्य हुन्। उनी पूर्वएमाले हुँदादेखि नै नेपाल समूहमा छन्।उनी बौद्धिक र आलोचनात्मक चेत भएका नेताका रूपमा चिनिन्छन्।मन्त्रिपरिषद पुनर्गठनमा वामदेव गौतमले पनि सानो भाग पाएका छन्। काठमाडौं-७ का सांसद रामवीर मानन्धरलाई उनको तर्फबाट सहरी विकास राज्यमन्त्री बनाइएको बालुवाटार स्रोतको दाबी छ। वर्ष दिनअघि नेता गौतमलाई सांसद बनाउन राजीनामा दिएर मानन्धर चर्चामा आएका थिए।

गौतमलाई सांसद बनाउन भन्दै अध्यक्ष प्रचण्डलाई उनले राजीनामा बुझाएका थिए। त्यतिबेला तीनै जनाको आलोचना भएपछि उनको राजीनामा स्वीकृत भएको थिएन। यसअघि नै मन्त्री बनेकाहरूमध्ये प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटा, युवराज खतिवडा, पद्मा अर्याल, जगतबहादुर विश्वकर्मा ओली समूहका हुन्।पूर्वमाओवादीबाट रामबहादुर थापा, बीना मगर, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल मन्त्री छन्। यीमध्ये पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट हुन् भने बाँकी सबै प्रचण्डनिकट हुन्। पछिल्लो समय थापा, पुन र बस्नेत धेरै तटस्थ रहँदै आएका छन्।

नेता नेपाल पक्षबाट भने यसअघि मन्त्री बनेका योगेश भट्टराईले मात्र निरन्तरता पाएका छन्। नेपालनिकट मन्त्रीहरू लालबाबु पण्डित र गोकर्ण बिष्ट जिम्मेवारीमुक्त भएका छन्।

सेताेपाटी अनलाइनबाट साभार गरिएकाे छ ।