धवलागिरी गाउँपालिकामा सतुवाको व्यावसायिक खेती विस्तार

  • २९ श्रावण २०७६, बुधबार
  • 3827 पटक पढिएको

बेनी, २९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाले बहुउपयोगी जडिबुटी सतुवाको व्यवसायिक खेती विस्तार गरेको छ । सतुवा खेतीको सम्भावनायुक्त गुर्जा, मल्कबाङ, मुदी, लुलाङ, ताकम, मुनामा व्यवसायिक रुपमा जडिबुटी खेती विस्तार गरिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा सतुवा खेती विस्तारमा रु १७ लाख बजेट परिचालन गरेको छ । स्थानीयले व्यक्तिगत लगानीमा समेत सतुता खेती सुरु गरेका छन् । ६ वटै वडामा सतुवाको गाना वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार मुदीमा ३० हजार, मल्कबाङमा २५ हजार, मुनामा ११ हजार , गुर्जामा ८ हजार , लुलाङ र ताकममा ५/५ हजार सतुवाको विउ (गाना) वितरण गरिएको छ ।

सतुवा लगायतका बहुउपयोगी जडिबुटीको सम्भावनायुक्त क्षेत्रको पहिचान गरि गाउँपालिकाले गरिब तथा विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउनको लागि कृषि तथा जडिबुटी समुह गठन गरि सामुहिक रुपमा सतुवा खेतीलाई परिक्षणको रुपमा अघि बढाएको हो । उच्च पहाडी क्षेत्रको बन जंगलमा हुने सतुवाको उत्खनन् व्यवस्थित नहुँदा पछिल्लो समय सतुवा नै हराएर जाने समस्या बढ्न थालेको छ ।

प्राकृतिक जडिबुटी लोप हुने अबस्था आउने खतरा बढेको समयमा जडिबुटीलाई व्यवसायिक खेती थालिएपछि संरक्षण र आर्थिक विकासमा समेत सहयोग पुग्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । ‘‘यस गाउँपालिकाको बलियो आयस्रोत जडिबुटी हो, जंगलमा पाईने जडिबुटीको अव्यवस्थित उत्खनन्लाई व्यवस्थित बनाउनुपर्छ, खेतीकै रुपमा गर्न सकिने जटिबुटीलाई अभियानकै रुपमा विस्तार गर्नतर्फ जोड दिएका छौँ’’–छन्त्यालले भन्नुभयो ।

संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको व्यवसायिक खेतीले यसको संरक्षणमा स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै उनीहरुको आयआर्जनमा समेत टेवा पु¥याउने लक्ष्य राखिएको छ । समुद्री सतहदेखि एक हजार ४०० मिटर भन्दा माथिको उचाइमा सतुवाको खेती गर्न सकिन्छ। रोग प्रतिरोधात्मक बहुउपयोगी औषधीय जडिबुटी सतुवाको उचित प्रयोगले विभिन्न प्रकारका रोगसमेत निको पार्ने भएकाले य सको उच्च माग रहेको छ ।