धवलागिरिमा जनशक्ति र पूर्वाधारको अभाबः गाउँपालिका अध्यक्ष पुन
- २६ श्रावण २०७६, आईतवार
- 4919 पटक पढिएको
म्याग्दीको सबैभन्दा दुर्गम बस्तीहरुलाई समेटेर बनेको धवलागिरि गाउँपालिकाको विकासमा जनशक्ति र पूर्वाधारको अभाब प्रमुख चुनौतिको रुपमा रहेको छ । शिक्षण पेशाबाट बाहिरिएर राजनीतिमा होमिएकी पुन म्याग्दीका स्थानीय तहहरुमा एक्ली महिला प्रमुख हुन् । स्थानीय तहमा महिलाको नेतृत्व कति सफल ? नमुना कार्य के भए ? चुनौतिका चाङ के–कस्ता छन ? सडक, विद्युत, सञ्चार लगायतको सहज पहुँच नपुगेको धवलागिरि गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह लगायतको अबस्थाबारे गाउँपालिका अध्यक्ष थमसरा पुनसंग गरिएको कुराकानी
१) निर्वाचित भएको दुई वर्षमा आइपुग्दा कस्ता–कस्ता काम गर्नुभयो ?
भौगोलिक विकटता रहेको धवलागिरि गाउँपालिकामा प्रशासनिक सुगमताको लागि हाम्रो पहिलो प्राथमिकता हो । स्थानीय तह निर्वाचनबाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएपछि लामो समयसम्म गाउँपालिकाको केन्द्रबाटै सेवा प्रवाहको लागि लागेँ । तत्कालिन संयन्त्रले केन्द्रको टुंगो नलगाएको कारण निर्वाचित जनप्रतिनिधिले विवादीत केन्द्रको बारेमा टुंगो लगाउने जिम्मेवारी आयो । गाउँपालिका केन्द्रको टुंगो लगाएपनि सञ्चार, बैँकीङ्ग सुविधा लगायतको पहुँच नहुँदा करिब साढे १ बर्षसम्म जिल्ला सदरमुकाम बेनीबाटै सेवा प्रवाह गर्नुपर्ने बाध्यता रह््यो । हामीले यस बिचमा बेनीबाट प्रवाह हुँदै आएको सेवालाई गाउँपालिकाको केन्द्रमै फर्काउन सफल भएका छाँै । गाउँपालिकाको अधिकाँश क्षेत्र सञ्चारको पहुँच बाहिर थियो, अहिले विस्तारै गाउँबस्तीमा मोवाईल टावरको पहुँच बढाउने काम भैरहेको छ । कुनैपनि वडामा केन्द्रिय विद्यूतिकरणको पहुँच नपुगेको अबस्थामा अहिले स्थानीय सरकारले प्रदेश र संघिय सरकारसंगको समन्वयमा वडा नम्बर ७ को धारापानीमा विद्युतीकरण भैसकेको छ भने ताकम, मुना, मुदी, मराङ लगायतका क्षेत्रमा विद्युतिकरणको काम भैरहेको छ । लुलाङमा लघुजलविद्यूतको पुननिर्माण संगै केन्द्रिय विद्युतिकरणको लागि आबश्यक पूर्वाधार तयार गर्ने काम भएको छ । गाउँपालिकाको जम्मा दुई वटा वडा मात्रै सडक सञ्जालले जोडिएको अबस्थामा अहिले सबै वडामा सडक सञ्जालको पहुँच पु¥याउने योजनालाई प्राथमिकतामा राखेका छाँै । यो बिचमा वडा नम्बर ६ मराङ सडक सञ्जालले जोडिएको छ भने वडा नम्बर ४ मुदी, ५ मल्कबाङ र २ लुलाङमा सडक पु¥याउने कामको थालनी भएको छ । वडा स्तरमा पूर्वाधार निर्माणको बजेट भित्रने क्रम बढ्दा सडक, पदमार्ग, ढल निकास, झोलुङ्गे पुल लगायतका पूर्वाधार योजनाले सुविधा र रोजगारि भित्रिएको छ । गाउँपालिकाभित्र रहेको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्ने कामको थालनी गरेका छाँै ।
२. विशेषगरी महिलाकै लागि भनेर केही काम गर्नुभएको छ की ?
वास्तवमा म महिला भएपनि गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित भएपछि महिला/पुरुष दुवै क्षेत्रको साझा व्यक्तिको रुपमा आफुलाई चिनाउनुपर्छ भनेर लागेको छु । खासगरि दुर्गम र भौगोलिक विकटता समेत रहेकाले यस गाउँपालिकामा महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक लगायतका लक्षित समुदायको अबस्था अत्यन्तै कमजोर छ । मैले समुदायमा पछाडी परेका बर्ग र समुदायको उत्थान र शसक्तिकरणको लागि क्षमता तथा शिप विकास र क्षमता पहिचानको कार्यक्रमलाई जोड दिएको छु । धवलागिरि गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुमा हुनसक्ते कुपोषणको अन्त्य गर्नको लागि अध्यक्षसंग सुनौला १ हजार दिनका महिला कार्यक्रम सञ्चालन गरेर पोषणयुक्त बस्तु, सामाग्री र शिप हस्तान्तरण, स्वच्छ महिनावारी व्यवस्थापनको लागि केही वडाका विद्यालय स्तरमा सेनेटरी प्याडको व्यवस्थापन गर्ने कामको थालनी भएको छ । गाउँपालिकाभित्र प्रमुख सामाजिक समस्याको रुपमा रहेको बालविवाह न्युनिकरणको लागि उपाध्यक्षसंग उमेर सान्दर्भिक विवाह कार्यक्रम मार्फत जनचेतना अभिवृद्धि र रणनीति तयार गर्ने काम गरेका छाँै ।
३. महिला प्रमुख भएकै कारण काम गर्न समस्या छ की छैन ?
स्थानीय सरकारमा महिला प्रमुखलाई समस्याको थाँती छन् । एक त समाज पुरुषबादी सोचबाट परिवर्तन हुँनै सकेको छ्रैन् । महिलाको नेतृत्व, महिलाको निर्णय र महिलाको स्वतन्त्रतालाई समाजले सहज रुपमा ग्रहण गर्न नसक्ने तितो यथार्त छ । काम गर्दै जाँदा प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा धेरै खालका मानसिक तनाब झेल्नुपर्ने बाध्यता छ । महिलाले पैसा खर्च नगर्ने भएकाले कर्मचारीलाई खटाउन सक्ने क्षमता हुँदैन भन्ने जस्ता अनेकन टिकाटिप्पणी हुने गर्छ । स्थानीय सरकारले गर्न नसक्ने खालका योजनाहरुको लागि विभिन्न निकायमा पहल गर्दा समेत महिला नेतृत्व भनेर हो कि किन हो ? बढी प्राथमिकतामा नपर्ने गरेको अनुभुति गरेको छु । तर मैले आफुलाई गाउँपालिकामा महिला अध्यक्षको रुपमा नभएर सिंगो गाउँपालिकाकै नागरिकहरुको अध्यक्षको रुपमा आफुलाई लिएको छु र सोही अनुसार लागिपरेको छु ।
४. महिला प्रमुख भएकैले कुनै चुनौति सामना गर्नुभएको छ की ?
धवलागिरि गाउँपालिकामा अहिले प्रमुख चुनौति भनेको दरबन्दी अनुसारको कर्मचारी र व्यवस्थित पूर्वाधारको अभाब हुन् । यि समस्या महिला प्रमुखको रुपमा भन्दा पनि दुर्गम , विकटता र प्रदेश तथा संघिय सरकारले स्थानीय सरकारलाई गर्ने व्यवहारसंग जोडिएको छ । महिला नेतृत्व भएको ठाउँमा बजेट खर्च हुन समस्या हुन्छ की ? भन्ने जस्तो साँघुरो दृष्टिकोणलाई सामाना गरि हामीले व्यवहारिक रुपमा नै बजेट खर्च गर्न सक्ने हाम्रो अबस्थालाई दर्साउने कोसीस गरेका छौँ तर यसमा हामीलाई दक्ष र बिषयविज्ञता भएको कर्मचारीको अभाब प्रमुख चुनौतिको रुमपा आएको छ ।
५. तपाईलाई पुरुष प्रमुख भएको स्थानीय तहमा भन्दा यो काम चाहि फरक गरेँ भन्ने केही लागेको छ ?
स्थानीय तहमा जनप्रतिनिधिको रुपमा चुनिएको यो दुई बर्षको अनुभबमा मैले पूरुषहरुले नेतृत्व गरेको स्थानीय तहहरुमा भन्दा फजुल र अनाबश्यक आर्थिक खर्चलाई कटौती गरेको जस्तो लाग्छ । पुरुषको तुलनामा महिलाको दैनिकि सामान्य नै हुने गर्छ र मेरो व्यक्तिगत स्वभाव पनि अनाबश्यक खर्च नगर्ने नै छ । म शिक्षकबाट राजनीतिमा होमिएको भएकाले पनि स–साना बालबालिकादेखि अभिभावक अर्थात आम नागरिक सबैको चासो र चिन्तनलाई सहजै रुपमा बुझ्न सक्छु र ग्रहण गर्छु । मसंग जनताले स्थानीय सरकार प्रमुखको रुपमा भन्दा पनि आफ्नो गुनासो सुन्ने निकायको रुपमा सहजै आफ्ना समस्या र गुनासा राख्छन् । पुरुष प्रमुखहरुको तुलनामा जनतासंग पनि म बढी नजिक छु जस्तो लाग्छु ।
समृद्ध साप्ताहिक खवर पत्रिका बर्ष ६ अंक २७ मा प्रकाशित अन्र्तवार्ता