कृषिको बजेट परिचालन न्युन
- ३१ असार २०७६, मंगलवार
- 2359 पटक पढिएको
सन्तोष गौतम
बेनी ३१ असार । आर्थिक वर्ष २०७५/७६ मा कृषि ज्ञान केन्द्र म्याग्दीलाई प्राप्त भएको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा दुई तिहाई बजेट फिर्ता भएको छ ।संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको हो । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच करोड २३ लाख ७९ हजार रुपैयाँ आएकोमा एक करोड ७२ लाख ४१ हजार खर्च भएको छ ।प्रदेशबाट चार करोड १३ लाख १३ हजार रुपैयाँ आएकोमा एक करोड १५ लाख ३१ हजार रुपैयाँ खर्च भएको मंगलबार बेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालय प्रमुख गोविन्दराज कोइरालाले जानकारी गराउनुभएको थियो ।
संघीय सरकारले पठाएका सात वटा मध्य बागबानि विकास, आलु तरकारी तथा मसला विकास, रैथाने बालि विकास र राष्ट्रिय आलु तरकारी तथा मसला विकास कार्यक्रमको एक रुपैयाँ पनि खर्च भएको छैन् । प्रदेश सरकारको कृषि वन प्रणाली प्रवर्धन, ब्यवसायिक करार खेती प्रोत्साहन, विभिन्न बालीको पकेट क्षेत्र प्रर्वद्धन सहयोग र कृषि यान्त्रीकरण ग्रिन हाउस निर्माण सहयोग कार्यक्रम कार्यान्वयन नहुँदा बजेट फिर्ता भएको कोइरालाले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले भने संघीय सरकारका कार्यक्रमको ८२.२२ र प्रदेश सरकारका कार्यक्रमको ९२.८ प्रतिशत वित्तिय प्रगति भएको जनाएको छ । दुई करोड बाईस लाख ४७ हजार रुपैयाँ बजेट आएकोमा एक करोड ९८ लाख ७१ हजार रुपैयाँ खर्च भएको केन्द्रका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्यले बताउनुभयो ।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत म्याग्दी र मुस्ताङ जिल्ला कार्यक्षेत्र भएका दुई वटै कार्यालयले मंगलबार संयुक्त सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर प्रगति विवरण सार्वजनिक गरेका हुन् । दरबन्दि अनुसारका कर्मचारीको अभाव, कर्मचारी समायोजन, कार्यक्रम सञ्चालन सम्बन्धी कार्यबिधी आउन ढिलाई र स्थानीय तहसंग समन्वयको अभावका कारण योजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख कोइरालाले बताउनुभयो ।
कृषकहरुले भने कार्यालय प्रमुखको बेवास्ता र गैरजिम्मेवार तथा पूर्वाग्रही ब्यवहारका कारण कृषि क्षेत्रको विकास तथा कृषकहरुको सुबिधाका लागि आएको बजेट फिर्ता भएको गुनासो गरेका थिए । २८ वटा साना सिचाई आयोजना निर्माण भएको, ५ वटा साना मोडेल फार्म स्थापना भएको, मुस्ताङमा सत्र हजार १५० स्याउका बिरुवा वितरण गरेर ५७ हेक्टरमा खेती विस्तार गरेको, वडा कार्यालयसंगको समन्वयमा भकिम्लीको ५९ हेक्टरमा ८०० किबिका बिरुवा रोपिएको र पचास प्रतिशत अनुदानमा तीन हजार ७५० सुन्तला, ५० बोट कागतीका बिरुवा वितरण गरिएको र १२ हेक्टर क्षेत्रफलमा प्राङ्गगारिक तरकारी खेती भएको ज्ञान केन्द्रको मुख्य उपलब्धी भएको विवरण प्रस्तुत गरिएको थियो ।
भेटेरीनरी अस्पतालले हालै मुस्ताङका हिमपात पिडित कृषकहरुलाई पचास लाख रुपैयाँ भन्दा बढी राहत वितरण गरेको जानकारी गराइएको थियो । पशु बिमा कार्यक्रम प्रभावकारी बन्न नसकेको, दूध ढुवानीमा समस्या भएको, कृषिमा बजेट र कार्यक्रम आएपनि सुबिधा नपाएको, कृषि ज्ञान केन्द्रमा ढिलासुस्ती भएको, पशुपंक्षिको ल्याबको आवश्यकता भएका गुनासो गरेका कृषकहरुले सिचाई सुबिधा विस्तारमा जोड दिनुपर्ने बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले ढिलासुस्ती हटाएर सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन सुझाव दिदै कृषकहरु जागरुक बन्नुपर्ने बताउनुभयो ।
नेकपाका प्रदेश सदस्य तथा संबिधानसभा सदस्य नवराज शर्मा र नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले खेतीमा बिषादीको प्रयोग न्युनीकरण र सहुलियत ब्याजको कृषि कर्जा सुबिधा कार्यान्वयनमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कृषि अनुदान टाठाबाठाको मात्र पहुँचमा रहेको गुनासो हटाएर कृषकहरु उद्यमशिल र व्यवसायिक बन्न सुझाव दिनुभयो । सो अवसरमा गाईभैसीमा कृति गर्भाधान सेवा प्रभावकारी बनाउन योगदान गर्ने पशु सेवा प्राबिधिक सुभाष रेग्मी, पशु स्वास्थ्य प्राबिधिक गणेश रिजाल र नायव पशु सेवा प्राबिधिक प्रदिप गाैतम लाई नगद सहित सम्मान गरिएको थियो ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाको अध्यक्षता र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यको स्वागतमा सम्पन्न कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका प्रतिनिधि सन्तोष गौतमले सहजिकरण गर्नुभएको थियो ।