लोकसेवा र रघुगंगाको दिर्घकालिन गुणात्मक विकास

  • २२ जेष्ठ २०७६, बुधबार
  • 2445 पटक पढिएको

सागर भण्डारी –––

देशमा ७० बर्ष देखि राजनीतिक परिवर्तनका लागी विभिन्न चरण बद्ध आन्दोलनहरु भए । २००७ सालमा राणाहरुको विरुद्ध, २०४६ सालमा निर्दलिए पञ्चायतका विरुद्ध र २०५२ सालदेखि २०६२/६३ राजाविरुद्ध गणतन्त्रको लागि जनयुद्ध÷जनआन्दोलन भयो । देशको राजनितीक संरचना त पटक–पटक परिवर्तत भयो तर दिगो सरकार मानिने कर्मचारीको संरचना कहिल्यै फेरिएन । राणाहरुका कर्मचारी ००७ सालपछि सोझै राजाका भए, ०१७ पछि पञ्चायतका, ०४६ पछि बहुदलका र ०६२/६३ पछि गणतन्त्रका कर्मचारी भए । केन्द्रिय संरचनामा विकासका पाईला धिमाहुनुमा कर्मचारी तन्त्रको ठुलो भुमिका छ भनेर त्यहि संरचनाका पदाधिकारीहरुले पटक–पटक विभिन्न प्रतिबेदन मार्फत उल्लेख गरिरहेका छन् ।

लामो राजनीति अन्योल चिर्दै २०७६ जेठ १५ गते नेपाल सरकार लोक सेवा आयोगले संघिय संस्थाको स्थानीय तहहरुका लागि भनेर ९१६१ विविध रिक्त पदका लागी निजामती कर्मचारी भर्नाको लागी विज्ञापन खोल्यो । यति ठुलो सङ्ख्यामा एकै पटकमा न अझसम्म लोकसेवाले विज्ञापन खोलेको थियो, न अब लामो समयसम्म खुल्नेछ । लोकसेवाले स्थानीयतहमा रिक्त पदमा स्थानीयसंरचनाका अधारमा विज्ञापन खुलाउदा अबका कर्मचारी गणतन्त्रका कर्मचारी हुनेछन् । केन्द्रिय संरचनामा कार्यरत कर्मचारीमा लाग्दै आएको लेपन यि कर्मचारीमा लाग्ने छैन् ।

२०७६ जेठ १५ गतेको लोकसेवा आयोगले खुलाएको विज्ञापनमा रघुगंगा गाउँपालिकाको लागी १७ रिक्त पदमा कर्मचारी भर्नाको विज्ञापन खुलेको छ । यो विज्ञापनले एक अवसरको ढोका खोल्दिएको छ । ढोका खुलेसङ्गै घरभित्रको भ्वाङ्ग पनि छर्लङ्ग देखाईदिएको छ । छिमेकि बेनी नगरपालिकाको लागि मात्र ९ वटा रिक्त पदमा भर्ना खुलेको छ । यसले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको शैक्षिक अवस्थालाई उजागर गर्छ । केन्द्रिकृत शिक्षा नीतिले गर्दा जिल्ला सदरमुकाममा शैक्षिक विकासलाई गुणातमक महत्व दिईयो भने सदरमुकाम भन्दा डेढ घन्टाको दुरीमा रहेको स्थानमा शैक्षिक अवस्था भने अत्यन्तै विकारल रह्यो ।  यदि साविकको रघुगंगा गाउँपालिका रहेका वडाहरुको शैक्षिक अवस्था सुधारमा केहि प्रयास हुन्थ्यो भने सरकारले कर्मचारी समायोजन पछि यति धेरै पदमा नयाँ विज्ञापन गराउनु पर्ने थिएन ।

स्थानीय कर्मचारी समायोजन प्रकृयाबाट रघुगंगा गाउँ कार्यपालिका भित्र स्थानीयकर्मचारी कार्यरत हुने थिए । जसका कारण गाउँपालिकाको दिगो विकासको रोडम्याप तयार भैसक्ने थियो । आज रघुगंगा गाउँपालिकाको विकासले गति लिन नसक्नुको मुख्य कारण स्थानीयप्रतिनिधीको दुरदृष्टि नहुनुका साथसाथै स्थानीय प्रशासकिय कर्मचारीको प्रतीनिधित्व नगन्य हुनु पनि हो । गाउँपालिका भन्दा बाहिरका कर्मचारीहरुमा प्रहिलो कुरा भुगोल, त्यस स्थानको बस्तुअवस्था र आवश्यकताको पहिचानमा मुस्किल पर्छ । दोस्रो गाउँपालिका सगँ आफ्नो कुनै भावनात्मक सम्बन्ध नजोडिएको कर्मचारी भयो भने उसलाई विकासका लागी दृढ अठोट गर्न मुस्किल पर्छ ।

रघुगंगाको शैक्षिक गुणस्तरका कारण केहि चुनौती भएपनि रघुगंगा गाउँपालिकाको दिगो र गुणात्मक विकासका लागी एक मौका आएको छ । एकैसाथ १७ जना नयाँ आधुनिक प्रविधिसगँ हातेमालो गरेका कर्मचारी नियुक्ति हुदा विकासमा एक तरङ्ग अवश्य ल्याउने छ । र त्यहिमा गाउँपालिका भित्रबाटै बहुसङ्ख्यक छनोट हुन सक्ने हो भने विकास र समृद्धीका लागी हाम्रो युवा पुस्ताले देखेको सपनाको सकरात्मक तरङ्ग पैदा अवश्य हुने छ । कर्मचारीमा नयाँ चहिकलो अनुहार र राजनितीमा पुस्ता क्रमभङ्गता हुने हो भनेै २१ औ शताव्दीका कर्मचारी र २१ औ शताव्दीको आवश्यकता बुझ्ने राजनितीक नेत्तृवले रघुगंगा गाउँपालिकालाई एक समावेसी समृद्ध हासील गर्नका लागी मेरुडन्ड सावित हुने पक्का छ ।

यहि आवश्यकतालाई बुझेर रघुगंगा गाउँपालिकाले लोक सेवा तयारीका लागी प्रशिक्षण कक्षाको सञ्चालन गर्ने निर्णय गरेको छ । यसमा भरपुर सहभागिताको आह्रवान गर्न चाहान्छु । यस मानव संसाधन निर्माणको सकरात्मक कदमलाई हार्दिक नमनका साथै लोक सेवाको परिक्षाका लागी तयारीमा जुट्नु भएका सबैमा सफलताको शुभकामना । अव समावेसी समृद्ध रघुगंगा गाउँपालिकाको निमार्ण तपाईहरुको झोलीमा छ ।
धन्यबाद ।।