नारच्याङमा सार्वजनिक सुनवाईः रोजगारी सिर्जना गर्ने योजना बनाउन माग

  • १६ जेष्ठ २०७६, बिहीबार
  • 2085 पटक पढिएको

धिरन खत्री
म्याग्दी, १६ जेठ । रोजगारी सिर्जना गर्ने युवा लक्षित योजना बनाउन नारच्याङबासीले गाउँपालिका समक्ष माग गरेका छन् । आर्थिक बर्ष २०७५/२०७६ को गाउँपालिकाको विकास योजना तथा कार्यक्रम र सेवाप्रवाहबारे बस्तीस्तरको गुनासो सुन्न र सुझाव संकलन गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नारच्याङबासीले रोजगारी सिर्जना गर्ने युवा लक्षित कार्यक्रम ल्याउन माग गरेका हुन् । अन्नपुर्ण गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा वडा नम्वर ४ नारच्याङमा भएको कार्यक्रममा युवाहरुलाई रोजगारी सिर्जना गर्ने गौरवका योजना बनाउन गाउँपालिकाका जनप्रतिनीधि र कर्मचारीलाई आग्रह गरेका थिए ।

विगतमा संचालन भएका टुक्रे योजनाहरुले गुणस्तर काम हुन नसकेको बताउदै आगामी आर्थिक बर्षा गौरवका योजना संचालन गर्न उपस्थित उपभोक्ताको माग रहेको थियो । गाउँपालिकाबाट आर्थिक २०७५/०७६ मा संचालन गरिएका योजनाहरु सम्पन्न भएपनि भुक्तानी लिने प्रक्रियामा ढिलासूस्ती, कृषि विउविजन सम्वन्धि तालिमको अभाव, स्वास्थ्य केन्द्रमा औषधीको अभाव, सुरक्षा अवस्था कमजोर, हाईड्रो संचालन भएपनि युवाहरुलाइ रोजगारीको अभाव, महिलाको क्षमता वृद्धि तालिमको अभाव, होमस्टे कार्यक्रमको जानकारी नभएको, पर्यटन प्रवद्र्धनात्मक गुरु योजना नवनेको, जनस्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम बस्तीस्तरमा नभएको स्थानीयबासीले गुनासो गरेका थिए ।

स्थानीयबासीको गुनासोलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष डमबहादुर पुनले गाउँको विकास र रोजगारका लागि राजनीति दल र धर्मको पछाडी लागेर विकासमा अवरोध सिर्जना नगर्न स्थानीबासीले आग्रह गरेका थिए । उनले स्थानीय स्रोतसाधनलाई परिचालन गरेर दिगो रोजगार सिर्जना हुने योजना छनोट गर्न आग्रह गरेका थिए । गाउँपालिकाले आगामी आर्थिक बर्षमा युवा लक्षित रोजगारी सिर्जना गर्ने गौरवको योजना छनोटमा लागेको समेत जानकारी दिएका थिए । वडा र पालिकामा खटिएका कर्मचारीलाई विकास निर्माण र सेवाप्रवाहमा जनताको मनजित्ने गरि काम गर्न अनुरोध गरेका थिए । उनले पर्यटन, कृषि र जलस्रोत क्षेत्रको सम्भावनालाई प्रयोगमा ल्याउन प्रदेश र संघसंग बजेट र नीतिनिर्माणमा गाउँपालिकाले समन्वय गरेको समेत बताए ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत केदारनाथ शर्माले कर्मचारी समायोजनले गाउँपालिकामा कर्मचारीको अभावले सेवाप्रवाहमा ढिलासूस्ती भएको जानकारी दिए । शर्माले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर योजना निर्माण गर्ने बताए । सरकारले निशुल्क उपलब्ध गराउने औषधीको अभाव हुन नदिन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका थिए । वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले सेवाप्रवाहमा भएको कमीकमजोरीलाई सुधार गर्दै आगामी आर्थिक बर्षमा जनसंख्या र भूगोलको आधारमा योजना छनोट गर्ने बताए ।

योजना अधिकृत हरिकृष्ण आचार्यले विकास योजना कार्यान्वयनमा रहेका उपभोक्ता समितिले प्रचलित नियम कानुन अनुसारको कागजपत्र लिएर गाउँपालिकामा सेवा लिन आउन आग्रह गरेका थिए । शिक्षा शाखाका संयोजक भरत पुनले एक विद्यालयबाट अर्का विद्यालयमा विद्याथीलाई भर्ना गराउन अनिर्वाय रुपमा सटिफिकेट लिनुपर्ने ब्यवस्था लागु गराउन विद्यालयलाइ अनुरोध गरेका थिए । गाउँपालिकाको आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकारद्धय अमित विश्वकर्मा र धिरन खत्रीले गरेका थिए ।